
काठमाडौं : नेपालमा भूमिगत पानीको दिगो व्यवस्थापनका लागि समन्वित, बहु-विषयगत तथा तथ्यांकमा आधारित अनुसन्धानलाई तीव्रता दिनुपर्ने अनुसन्धान समन्वय बैठकले निष्कर्ष निकालेको छ।
राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रको आयोजनामा खानेपानी मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीको अध्यक्षतामा ‘भूमिगत पानी सँग सम्बन्धित अनुसन्धान’ बारेमा गरिएको बैठकले भूमिगत पानीको व्यवस्थापनलाई छुट्टाछुट्टै अध्ययन भन्दा समग्र प्रणालीको रूपमा हेर्नुपर्नेमा समेत जोड दिएको छ ।
एउटै aquifer मा सीमित अध्ययन भन्दा बहु-aquifer प्रणालीको एकीकृत म्यापिङ, monitoring well स्थापना तथा निरन्तर अनुगमन प्रणाली विकास गर्न आवश्यक रहेको उल्लेख गरेको छ। साथै, surface discharge, recharge क्षेत्र र पानीको गुणस्तरसम्बन्धी अध्ययनलाई प्राथमिकतामा राख्दै data-driven निर्णय प्रणाली विकास गर्नुपर्ने राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्रका कार्यकारी निर्देशक ई.राम कुमार श्रेष्ठले बताउनुभयो।
अन्तर–संस्थागत सहकार्यलाई सुदृढ बनाउन खानेपानी मन्त्रालय (MoWS), वन तथा वातावरण मन्त्रालय (MoFE), स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (MoHP) तथा विश्वविद्यालयहरू बीच समन्वय विस्तार गर्नुपर्नेमा जोड दिइएको छ। G2G framework तथा MoU मार्फत सहकार्यलाई थप व्यवस्थित बनाउने विषय पनि बैठकमा उठाइएको छलफल भएको उहाँले बताउनुभयो।
त्यस्तै, अनुसन्धानलाई दीर्घकालीन रूपमा अघि बढाउन data bank स्थापना, विद्यमान तथ्यांकको अधिकतम उपयोग तथा नियमित monitoring प्रणाली विकास गर्नुपर्ने बैठकको निष्कर्ष छ। तराई क्षेत्रमा बढ्दो groundwater extraction लाई licensing प्रणाली मार्फत व्यवस्थापन गर्नुपर्ने र जोखिमयुक्त (hotspot) क्षेत्रहरूमा विशेष अध्ययन आवश्यक रहेको पनि निष्कर्ष निकालिएको छ।
बैठकमा जलवायु परिवर्तनका प्रभाव, भविष्यमा पानीको उपलब्धता र प्रयोग सम्बन्धी अध्ययन, isotope प्रविधिको प्रयोग तथा भारतसँग transboundary सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने विषय पनि जोडका साथ उठाइएको थियो। साथै, पानी पुनःप्रयोग (reuse) तथा recycling सम्बन्धी नीतिगत व्यवस्था आवश्यक रहेको र हाल यसको अभाव रहेको औंल्याइएको छ।
बैठकमा खानेपानी मन्त्रालयका सचिव, सहसचिव तथा उपसचिवहरु, राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धिका प्रमुख तथा अन्य कर्मचारीहरु, त्रिभुवन विश्वविद्यालय, तथा काठमाडौ विश्व विद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, नास्ट, त्रिचन्द्र कलेज लगायत संस्थाका प्राध्यापकहरु सहभागी हुनुहुन्थ्यो।
विशेष गरी अनुसन्धानका क्रममा प्राविधिक विशेषज्ञता उपलब्ध गराउने, फिल्ड अध्ययन सञ्चालन गर्ने, अनुसन्धान प्रतिवेदन तयार गर्ने, प्रयोगशाला परीक्षण गर्ने जस्ता कार्यमा शैक्षिक संस्थाहरूको भूमिका हुन्छ ।
राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रले सन् २०२५ को अन्त्यतिर आयोजना गरेको सरोकारवाला बैठकले WASH क्षेत्रमा प्रमाणमा आधारित अध्ययनका लागि स्रोतहरू एकीकृत गर्नुपर्ने आवश्यकता स्पष्ट गरेको थियो।
नेपालमा भूमिगत पानी Groundwater) अत्यन्त महत्वपूर्ण विषय हो, किनकि यसले देशभरि खानेपानी आपूर्तिको आधार प्रदान गर्दछ र हाल जोखिममा परेको छ। पहाडी तथा हिमाली क्षेत्रका धेरै समुदायहरू मुहान (springs) मा निर्भर छन्, जसले खानेपानी, सिंचाइ तथा पारिस्थितिकी प्रणालीमा महत्वपूर्ण भूमिका खेल्छन्।
हालका अध्ययनहरूले काठमाडौं उपत्यकामा अत्यधिक दोहनले जलभण्डार (aquifers) मा गम्भीर ह्रास आएको, परम्परागत मुहानहरू सुक्दै गएका, पहाडी क्षेत्रमा धेरै मुहानहरू सुकिसकेका वा हराइसकेका तथा तराई/मधेश क्षेत्रमा २०२५ को खडेरीका कारण ३०% भन्दा बढी धारा तथा इनारहरू सुकिसकेको तथ्य साबित गरेका छन्।


481 पटक हेरिएको 

