हम्पाल लेकमा पर्यटकका लागि आधुनिक शौचालय निर्माण

  वास खबर समाचारदाता  174 पटक हेरिएको

फोटो : AI द्वारा निर्मित

पर्वत : समुद्री सतहदेखि तीन हजार तीन सय मिटरको उचाइमा रहेको पर्वतको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल हम्पाल लेकमा आधुनिक शौचालय निर्माण गरिएको छ । हम्पाल क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि शौचालय निर्माण गरिएको हो ।

हम्पालमा अध्ययन, अवलोकन तथा अन्नपूर्ण चक्रीय पदमार्गको विकल्प प्रयोग गरी यात्रामा हिँड्ने पर्यटकलाई दिसा, पिसाब गर्न, नुहाउन तथा आराम गर्न असुविधा भएको अवस्थालाई मध्यनजर गर्दै शौचालय निर्माण गरिएको स्थानीय पर्यटन व्यावसायी टिका पुनले जानकारी दिए ।

उनका अनुसार मोदी गाउँपालिकाको आर्थिक सहयोगमा सात लाख रुपैयाँको लागतमा महिला, पुरुषका लागि छुट्टाछुट्टै शौचालय र स्नानघर निर्माण गरिएको पुनले बताए । पुनले आफैं अध्यक्ष भएर स्थानीय कामदारहरुमार्फत निर्माण गरेको जानकारी दिए । यसअघि सोही ठाउँमा विश्रामस्थल निर्माण र गत वर्ष जलजला गाउँपालिका र मोदी गाउँपालिकाको संयुक्त लगानीमा विद्युतीकरण गरिएको थियो ।

पछिल्ला केही वर्षयता विभिन्न पूर्वाधार विस्तार भएसँगै पर्वतको मोदी गाउँपालिका र जलजला गाउँपालिकाको सिमानामा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र हम्पाल लेक पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ । बढ्दो पर्यटकको चापसँगै पर्यावरणसमेत दुर्गन्धित हुँदै गएपछि शौचालय निर्माण गरिएको मोदी गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले जानकारी दिए । यसअघि यहाँ पुग्ने पर्यटक तथा स्थानीयले जथाभावी शौच गर्दै आएका थिए ।

जलजला र हम्प्पालको भूभागलाई विभिन्न क्षेत्रसँग जोड्ने व्यवस्थित पदमार्ग, सडक मार्ग र होटल तथा विश्रामस्थलजस्ता पूर्वाधार बनेपछि सिजन सुरु हुनेबित्तिकै पर्यटक संख्या बढेको हो । गण्डकी प्रदेश सरकारको पटकपटक गरी ६० लाख रुपैयाँ बजेटमा पर्वतको मोदी गाउँपालिका–२ देउपुरदेखि १६ किलोमिटर लामो ढुंगाको सिँढीसहितको पदमार्ग निर्माण गरिएको छ ।

यसैगरी जलजला–६ शालिजादेखि जलजलासम्म सडकमार्गको पहुँच विस्तार भएपछि सडक र पदमार्ग दुवै प्रयोग गरेर यहाँ पुग्ने पर्यटक बढेका हुन् । हम्पालमा होटल व्यावसाय सञ्चालन गर्दै आएका टिका पुनले होटलमा अग्रिम बुकिङ गरेर आउनेहरू बढ्दै गएका छन् । यतिबेला यहाँ १२ थरीका लालीगुँरास फुलिरहेका छन् ।

यहाँ घुम्न, तस्बिर खिच्न, टिकटक बनाउन र विभिन्न गीतहरुको छायांकन गर्न आउनेहरू समेत उल्लेख्य मात्रामा बढेको उनको भनाइ छ । यो पदमार्गलाई अन्नपूर्ण चक्रीय पदमार्गका रूपमा समेत बाह्य पर्यटकले प्रयोग गर्दै आएका छन् । अन्नपूर्ण पदमार्गअन्तर्गत कास्कीको नयाँपुलदेखि घान्द्रुक र तिखेढुंगासम्म सडक विस्तार भएपछि बाह्य पर्यटक यो पदमार्गमा हिँड्न थालेको पर्यटन व्यावसायी मनबहादुर खड्काले बताए ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले विनियोजन गरेको थप २० लाख रुपैयाँ बजेटबाट जलजलाबाट म्याग्दीको मोहरेडाँडातर्फ पदमार्ग निर्माण गरिने उनको भनाइ छ । हिन्दू धार्मिकग्रन्थ रामायणमा कालञ्जर पर्वतका रूपमा व्याख्या गरिएको हम्पाल विभिन्न जडीबुटीले भरिपूर्ण जैविक विविधतायुक्त स्थल हो । यो खबर कारोबार दैनिकबाट साभार गरिएको हो।

हम्पालमा धार्मिक पूर्वाधार र प्रवर्धनका गतिविधि सञ्चालन गरिएका छन् भने पहाडका बीचमा रहेको सीम क्षेत्रमा बाँध थुनेर कृत्रिम तलाउ बनाउने योजना पनि अघि सारिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार