
काठमाडौ : सरसफाइकर्मीहरूको अनुभव, आवाज र अधिकारलाई केन्द्रमा राखेर सञ्चालन गरिएको “सरसफाइकर्मीहरूको आवाज परियोजना” ले विभिन्न तहमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) का प्रोग्राम म्यानेजर केशव श्रेष्ठले सरसफाइकर्मीहरूको अनुभव र आवाज सम्बन्धी राष्ट्रिय कार्यशालामा परियोजनाका प्रमुख उपलब्धिहरू सार्वजनिक गर्नुभएको हो।
वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) ले WaterAid Nepal को साझेदारीमा सन् २०२५ सेप्टेम्बरदेखि २०२६ मार्चसम्म उक्त परियोजना सञ्चालन गरेको थियो। परियोजनाले चेतना अभिवृद्धि, क्षमता विकास, सहभागितामूलक दस्तावेजीकरण र नीतिगत वकालतलाई मुख्य आधार बनाएर काम गरेको थियो।
सरसफाइकर्मीलाई आफ्ना चुनौतीहरूलाई व्यक्त गर्न र अधिकारका लागि वकालत गर्न सक्षम बनाउने, सहभागितामूलक भिडियोग्राफी र फोटोग्राफी मार्फत उनीहरूको जीवनका अनुभवहरूलाई दस्तावेजीकरण गर्न सहयोग गर्ने, प्रमाणमा आधारित वकालतका प्रयासहरू मार्फत नीति निर्माताहरूलाई सरसफाइकर्मीहरूको सुरक्षा र सुविधाका लागि संलग्न गराउने उद्देश्यले परियोजना सञ्चालन गरिएको थियो।

नेतृत्व विकास र क्षमता अभिवृद्धि
परियोजना अन्तर्गत ४ जना म्यानुअल सरसफाइकर्मीलाई परियोजना सहयात्रीको रूपमा चयन गरी उनीहरूको नेतृत्व क्षमता विकासमा उल्लेखनीय सुधार गरिएको छ। यसैगरी २४ जना सरसफाइकर्मीलाई अधिकार, पेशागत स्वास्थ्य तथा सुरक्षा (OHS) र व्यक्तिगत सुरक्षा सामग्री (PPE) प्रयोग सम्बन्धी तालिम प्रदान गरिएको प्रोग्राम म्यानेजर श्रेष्ठले बताउनुभयो।
त्यसैगरी, २० जना सरसफाइकर्मीलाई आफ्ना मुद्दा प्रभावकारी रूपमा उठाउन र सञ्चार माध्यमसँग संवाद गर्न सक्ने सीपमा क्षमता अभिवृद्धि गरिएको छ। सशक्तीकरणपछि सरसफाइकर्मीहरू पहिलो पटक सञ्चार माध्यममा खुलेर आफ्ना अनुभव र समस्या प्रस्तुत गर्न सक्षम भएको परियोजनाले जनाएको छ।

नीतिगत वकालत र संस्थागत पहल
परियोजनाले सरसफाइकर्मीहरूको अधिकार र मुद्दाहरूलाई संस्थागत रूपमा प्रस्तुत गर्न एकीकृत आवाज सहितको ज्ञापनपत्र तयार गरेको छ। साथै, सरसफाइकर्मीहरू र महानगरपालिका बीच सुरक्षित कार्य वातावरण र मर्यादित व्यवहारका विषयमा संवाद कार्यक्रमहरू आयोजना गरिएको प्रोग्राम म्यानेजर श्रेष्ठले बताउनुभयो।
यस्तै, सरसफाइकर्मीहरू र नीति निर्माता बीच पेशागत चुनौतीहरूबारे प्रत्यक्ष छलफल गराइएको थियो। उक्त छलफलमा सरसफाइकर्मीहरूले पेशागत सुरक्षा, औपचारिक मान्यता, गुनासो व्यवस्थापन संयन्त्र, सेवा तथा पारिश्रमिक मापदण्ड र नियमित स्वास्थ्य सेवा जस्ता मागहरू प्रस्तुत गरेका थिए।
ती माग समेटिएको सिफारिस प्रतिवेदन खानेपानी तथा ढल व्यवस्थापन विभागलाई हस्तान्तरण गरिएको छ। साथै, महानगरपालिका तथा नीति–निर्माताहरूले आगामी पेशागत स्वास्थ्य तथा सुरक्षा निर्देशिकामा यी विषयहरू समेट्ने प्रतिबद्धता जनाएका छन्।


173 पटक हेरिएको 

