
काठमाडौं : सरसफाइकर्मीहरूले गरेको योगदानको उचित मूल्याङ्कन नहुँदा सम्म खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) र जनस्वास्थ्य क्षेत्रमा दिगो सुधार सम्भव नहुने वाटर एड नेपालका कन्ट्री डाइरेक्टर सुदर्शन न्यौपानेले बताउनु भएको छ। ‘सरसफाइकर्मीहरुको आवाज परियोजना’ को सार्वजनिक कार्यक्रममा कन्ट्री डाइरेक्टर न्यौपानेले वाटर एड नेपालले खानेपानी, सरसफाइ र स्वच्छताको नेक्ससमा जोड दिएर काम गरिरहेको उल्लेख गर्नुभयो।
उहाँले भन्नुभयो, “जबसम्म सरसफाइकर्मीका मुद्दा सम्बोधन हुँदैनन्, समुदायमा देखिने विभिन्न संक्रमण र महामारी नियन्त्रण गर्न गाह्रो हुन्छ।” तथ्यगत रूपमा हेर्दा सरसफाइकर्मीहरूको भूमिका संक्रमण नियन्त्रण र स्वास्थ्य सुरक्षामा अत्यन्त महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।

न्यौपानेले सरसफाइकर्मीहरूको कामको उचित मूल्यांकन, उनीहरूको श्रमको सम्मान तथा योगदानको कदर हुनुपर्नेमा जोड दिनुभयो। “उहाँहरूको योगदानलाई चिन्न सकेनौं भने वास र पब्लिक हेल्थ दुवै क्षेत्रमा अपेक्षित सुधार हासिल गर्न सकिँदैन,” उहाँले भन्नुभयो।
कार्यक्रममा प्रस्तुत ‘सरसफाइकर्मीहरुको आवाज परियोजना’ का प्राप्ति तथा निश्कर्षहरुले पनि सरसफाइकर्मीहरूले भोगिरहेका चुनौतीहरू अझै धेरै रहेको देखाएको उहाँले बताउनुभयो। ती निष्कर्षहरूले आगामी दिनमा गर्नुपर्ने कामका लागि स्पष्ट दिशा निर्देश गरेको उहाँको भनाइ थियो।
उहाँले सरसफाइकर्मीहरूको हक, सुरक्षा र सम्मान सुनिश्चित गर्दै नीति तथा कार्यक्रम निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :
वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) ले WaterAid Nepal को साझेदारीमा सन् २०२५ सेप्टेम्बरदेखि २०२६ मार्चसम्म ‘सरसफाइकर्मीहरुको आवाज परियोजना’ सञ्चालन गरेको थियो। परियोजनाले चेतना अभिवृद्धि, क्षमता विकास, सहभागितामूलक दस्तावेजीकरण र नीतिगत वकालतलाई मुख्य आधार बनाएर काम गरेको थियो।
परियोजना अन्तर्गत ४ जना म्यानुअल सरसफाइकर्मीलाई परियोजना सहयात्रीको रूपमा चयन गरी उनीहरूको नेतृत्व क्षमता विकासमा उल्लेखनीय सुधार गरिएको छ। यसैगरी २४ जना सरसफाइकर्मीलाई अधिकार, पेशागत स्वास्थ्य तथा सुरक्षा (OHS) र व्यक्तिगत सुरक्षा सामग्री (PPE) प्रयोग सम्बन्धी तालिम प्रदान गरिएको वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) का प्रोग्राम म्यानेजर केशव श्रेष्ठले बताउनुभयो।

त्यसैगरी, २० जना सरसफाइकर्मीलाई आफ्ना मुद्दा प्रभावकारी रूपमा उठाउन र सञ्चार माध्यमसँग संवाद गर्न सक्ने सीपमा क्षमता अभिवृद्धि गरिएको छ। सशक्तीकरणपछि सरसफाइकर्मीहरू पहिलो पटक सञ्चार माध्यममा खुलेर आफ्ना अनुभव र समस्या प्रस्तुत गर्न सक्षम भएको प्रोग्राम म्यानेजर श्रेष्ठले जानकारी गराउनुभयो।


177 पटक हेरिएको 

