
सुर्खेत : कर्णाली प्रदेशमा सुस्वा आयोजना कार्यान्वयन भएका स्थानीय तहहरूमध्ये सहभागीतात्मक वार्षिक कार्यसम्पादन लेखाजोखा (PAPA) मा उत्कृष्ट प्रदर्शन गरेका सिंजा गाउँपालिका, हिमा गाउँपालिका (जुम्ला) र पलाता गाउँपालिका (कालिकोट) का करिब ३० जना प्रतिनिधिहरूको टोलीले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सिकाइ आदान–प्रदान भ्रमण सफलतापूर्वक सम्पन्न गरेको छ।
उक्त भ्रमणले स्थानीय शासन, सेवा प्रवाह र दिगो विकासका अभ्यासहरूलाई अझ प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ।
भ्रमणका क्रममा टोलीले सिराहाको लहानस्थित नेपाल खानेपानी संस्थान शाखामा डिजिटल प्रविधिको प्रयोग, क्लोरिनेसन डोजिङ प्रणाली र वैज्ञानिक पानी परीक्षण विधिबारे अवलोकन गरेको थियो। त्यहाँ अपनाइएको पारदर्शी र गुणस्तरीय सेवा प्रवाह प्रणाली तथा कार्यस्थलमा OHS मापदण्डको पालना संस्थागत सुदृढीकरणका लागि उपयोगी अभ्यासका रूपमा देखिएको सहभागीहरूले बताएका छन्।
त्यसैगरी, आधारभूत विद्यालय बर्छेवामा लागू गरिएको तीन-तारा विद्यालय विकास कार्यक्रम, CGD मैत्री शौचालय तथा बालमैत्री र समावेशी वातावरणले शिक्षा प्रणालीलाई सुरक्षित र व्यवहारिक बनाउने नमुना प्रस्तुत गरेको पाइएको छ। मुसहर, दलित तथा पछाडि पारिएका समुदायमा खानेपानी तथा सरसफाइ सेवाको विस्तारले “कसैलाई पनि पछि नछोड्ने” विकास अवधारणालाई व्यवहारमा उतारेको स्पष्ट भएको छ।

चितवनको रत्ननगर नगरपालिकामा गरिएको अवलोकनले संस्थागत दिगोपनका सन्दर्भमा महत्वपूर्ण सिकाइ प्रदान गरेको छ। त्यहाँका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूले ऋण–अनुदानको संयोजनबाट आत्मनिर्भर सञ्चालन, निष्क्रिय समितिहरूको मर्जिङ तथा सुदृढ संस्थागत संरचनामार्फत प्रभावकारी व्यवस्थापन अभ्यास प्रस्तुत गरेका छन्।

गण्डकीका प्रेरणादायी अभ्यास: समुदाय नै शक्ति
गण्डकी प्रदेशका देवचुली र गैँडाकोट क्षेत्रका उपभोक्ता संस्थाहरूले समुदायको स्वामित्वमा आधारित सेवा सञ्चालन, पानी गुणस्तर परीक्षण प्रयोगशाला र जलवायु उत्थानशील प्रणाली मार्फत दिगोपन सुनिश्चित गर्न सकिने देखाएका छन्। यसैगरी, बुटवल उपमहानगरपालिकामा सार्वजनिक बिदाको दिनमै नेतृत्वको सक्रिय सहभागिताले उत्तरदायी र प्रतिबद्ध नेतृत्वको उदाहरण प्रस्तुत गरेको सहभागीहरूको भनाइ छ।

मधेश र बागमती प्रदेशका विभिन्न स्थानीय तह, विशेषगरी मिथिला नगरपालिकामा सुरक्षित खानेपानी सेवा, सशक्त उपभोक्ता समिति तथा WASH in Health (FIT) कार्यक्रममार्फत नीतिगत व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएको पाइयो। यसले नीति र व्यवहारबीचको समन्वयबाट दिगो परिणाम हासिल गर्न सकिने देखाएको छ।
भ्रमणका क्रममा सुस्वा आयोजनासँग सम्बन्धित IEC सामग्री, ब्रोसर तथा लिफलेटहरू समेत वितरण गरिएको थियो, जसले ज्ञान आदान–प्रदान र स्थानीय क्षमता अभिवृद्धिमा सहयोग पुर्याएको छ।
यस Exposure Visit बाट प्राप्त मुख्य निष्कर्षअनुसार साझा सिकाइ बिना दिगो विकास सम्भव नहुने, प्रविधि र नेतृत्वको संयोजनले सेवा गुणस्तर सुधार गर्ने तथा समुदायको स्वामित्वले दीर्घकालीन दिगोपन सुनिश्चित गर्ने देखिएको छ। यी सिकाइलाई आत्मसात गर्दै कर्णालीका स्थानीय तहहरू आत्मनिर्भर, समावेशी र दिगो शासन प्रणाली निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धतासहित फर्किएका छन्।

उक्त भ्रमण सफल बनाउन सुस्वा आयोजना सुर्खेत, WaterAid Nepal (BECON परियोजना), UNICEF नेपाल, छायाँ नेपाल लगायत विभिन्न साझेदार संस्थाहरू तथा स्थानीय तहहरूको सहयोगप्रति आयोजकले आभार व्यक्त गरेको छ।
फोटोहरु : निराजन श्रेष्ठ/सुस्वा


248 पटक हेरिएको 

