
जुम्ला : जुम्ला जिल्लाको कनकासुन्दरी गाउँपालिका वडा नं. ८ स्थित भट्टबाडा र भण्डारीबाडा टोललाई “पूर्ण सरसफाइ उन्मुख टोल” घोषणा गरिएको छ।
कनकासुन्दरी गाउँपालिका वडा नं. ८ को आयोजनामा, WASH युनिटको समन्वय तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा र आत्म सम्मानका लागि सहकार्य (क्याड) नेपाल, जुम्लाको सहजिकरणमा सञ्चालन भइरहेको “सशक्त बालिका परियोजना” अन्तर्गत २७ मार्च २०२६ मा घोषणा कार्यक्रम सम्पन्न भएको हो।
उक्त परियोजना मार्फत समुदायस्तरमा सरसफाइ र स्वास्थ्यसम्बन्धी सकारात्मक व्यवहार परिवर्तन ल्याउने उद्देश्य राखिएको छ। सोही अन्तर्गत भट्टबाडा र भण्डारीबाडाका कुल ११८ घरधुरीलाई तोकिएका सरसफाइ मापदण्ड पूरा गरेपछि “पूर्ण सरसफाइ उन्मुख टोल” घोषणा गरिएको हो।
परियोजनाअन्तर्गत घरधुरीहरूलाई सरसफाइसम्बन्धी ६ वटा प्रमुख व्यवहार, जस्तै हात धुने बानी, सुरक्षित पानीको प्रयोग, शौचालयको नियमित प्रयोग र सरसफाइ, महिनावारी स्वच्छता व्यवस्थापन, घरायसी सरसफाइ तथा फोहोर व्यवस्थापन—बारे अभिमुखीकरण प्रदान गरिएको थियो। यसले समुदायमा सरसफाइसम्बन्धी ज्ञान र व्यवहार सुधारमा उल्लेखनीय योगदान पुर्याएको जनाइएको छ।

कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न WASH समितिले नियमित अनुगमन तथा मूल्याङ्कन गर्दै घरधुरीहरूको सरसफाइ अवस्था सुनिश्चित गरेको थियो। यस प्रक्रियाले समुदायमा दिगो सरसफाइ अभ्यास विकास गर्न सहयोग पुगेको विश्वास गरिएको छ।
समग्रमा, यस पहलले स्थानीय स्तरमा स्वच्छ, स्वस्थ र सुरक्षित वातावरण निर्माणतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको सरोकारवालाहरूले बताएका छन्।

फोटो: राजेश ऐरी/क्याड नेपाल


90 पटक हेरिएको 

