
काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभाग (DWSSM) ले NWASH आधारित स्थानीय सरकार सरसफाइ प्रतिवेदन कार्ड, २०२६ सार्वजनिक गरेको छ। नेपाल नगरपालिका संघ को ३३ औं बार्षिकोत्सवको अवसरमा प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालले सरसफाइ प्रतिवेदन कार्ड सार्वजनिक गर्नुभएको हो।
सरसफाइ प्रतिवेदनले देशभरका स्थानीय तहहरूको सरसफाइ सेवा अवस्थाको स्पष्ट तस्वीर प्रस्तुत गरेको विभागले जनाएको छ।
प्रतिवेदन अनुसार सुरक्षित व्यवस्थापन सहितको सरसफाइ सेवामा पहुँच भएको जनसंख्या ४५.१७ प्रतिशत रहेको छ। यस्तै २१.९४ प्रतिशत जनसंख्या आधारभूत सरसफाइ सेवामा, १.९२ प्रतिशत सीमित सेवामा, १३.७२ प्रतिशत अपर्याप्त सेवामा, तथा १७.२५ प्रतिशत जनसंख्या अझै शौचालय पहुँच बाहिर रहेको देखिएको छ।
खानेपानी मन्त्रालय अन्तर्गत विकास गरिएको NWASH-MIS (National WASH Information Management System) बाट प्राप्त तथ्यांकका आधारमा तयार गरिएको यो प्रतिवेदनले स्थानीय तहको योजना, बजेट र सेवा सुधारका लागि प्रमाणमा आधारित आधार उपलब्ध गराएको खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिज्नल इन्जिनियर डा. रजित ओझाले बताउनुभयो।

८७ स्थानीय तह ‘A’ श्रेणीमा
प्रतिवेदनले सरसफाइ सेवा स्तरलाई A, B र C गरी तीन श्रेणीमा वर्गीकरण गरेको छ।
A श्रेणीमा ती स्थानीय तहहरू परेका छन् जहाँ सुरक्षित व्यवस्थापन सहितको सेवा ८० प्रतिशतभन्दा बढी वा आधारभूत सेवा ९५ प्रतिशतभन्दा माथि छ।
यस श्रेणीमा ८७ स्थानीय तह परेका छन्।
B श्रेणीमा सबैभन्दा धेरै १४७ स्थानीय तह छन्, जहाँ सुरक्षित सेवा ३० देखि ८० प्रतिशत वा आधारभूत सेवा ८० देखि ९५ प्रतिशत बीचमा छ।
९२ स्थानीय तह C श्रेणीमा परेका छन्, जहाँ सुरक्षित सेवा ३० प्रतिशत वा सोभन्दा कम छ। यसले स्थानीय तहबीच सरसफाइ सेवामा अझै ठूलो असमानता रहेको संकेत गरेको छ।
DWSSM का अनुसार यो वर्गीकरण MuAN, NARMIN, WaterAid तथा DWSSM ले संयुक्त रूपमा निर्धारण गरेको सीमा म्याट्रिक्सका आधारमा गरिएको हो।
३२६ स्थानीय तहका WASH योजनाबाट तथ्यांक, ४ चरणमा विश्लेषण
प्रतिवेदन निर्माणका लागि ३२६ स्थानीय तहका स्वीकृत वा मस्यौदा WASH योजनाहरू बाट तथ्यांक संकलन गरिएको हो। सिनियर डिभिज्नल इन्जिनियर डा. रजित ओझाका अनुसार तथ्यांक NWASH पोर्टलका घरधुरी सरसफाइ, सेवा स्तर र कभरेज मोड्युलहरूबाट निकालिएको थियो।
विश्लेषण प्रक्रिया चार चरणमा सम्पन्न गरिएको डा. ओझाले बताउनुभयो।
• NWASH प्रणालीबाट तथ्यांक संकलन
• डेटा क्लिनिङ तथा तार्किक प्रमाणीकरण
• कार्यसम्पादन वर्गीकरण
• तालिका तथा दृश्यात्मक प्रतिवेदन निर्माण
यस प्रक्रियाले प्रतिशत वितरणको विश्वसनीयता, विश्वव्यापी JMP तुलनात्मकता तथा स्थानीय तह बीच मानकीकृत तुलना सुनिश्चित गरेको बताइएको छ।
SDG 6 प्रगति मापन र बजेट प्राथमिकतामा प्रतिवेदन उपयोगी
DWSSM ले प्रतिवेदन कार्डलाई SDG 6 तर्फको प्रगति मापन, स्थानीय तहको बजेट प्राथमिकता, तथा CWIS आधारित सुरक्षित सरसफाइ प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण उपकरणका रूपमा लिएको छ।
WaterAid Nepal को सहयोगमा विकसित यो प्रतिवेदन UN-Habitat Nepal द्वारा कार्यान्वयन गरिएको ‘नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम (Scalling of Citywide Inclusive Sanitation Service System Programme)’ अन्तर्गत तयार गरिएको हो।
विभागका अनुसार प्रतिवेदनले कमजोर कार्यसम्पादन भएका पालिकाहरू पहिचान, सेवा सुधार रणनीति निर्माण, र प्रमाणमा आधारित निर्णय प्रक्रियालाई सशक्त बनाउने अपेक्षा गरिएको छ।


302 पटक हेरिएको 


