
काठमाडौ : सन् २०२६ को जनवरीदेखि अप्रिलसम्म क्लिनिक नेपालले विभिन्न स्वास्थ्य सेवा, सामुदायिक कार्यक्रम तथा दिगो विकासका क्षेत्रमा महत्वपूर्ण गतिविधिहरू सञ्चालन गरेको छ।
क्लिनिकले जनवरी २०२६ मा एउटा मिनी ट्रक खरिद गरी एम्बुलेन्समा रूपान्तरण गरेको छ। आवश्यक आधारभूत उपकरण जडान गर्ने कार्य भइरहेको उक्त एम्बुलेन्स चितवनको मेघौली क्षेत्रमा सञ्चालनमा ल्याइने तयारी गरिएको क्लिनिक नेपालका संस्थापक तथा अध्यक्ष हरि भण्डारीले जानकारी दिनुभयो।
यसैगरी, २४ जनवरी २०२६ मा भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा निःशुल्क आँखा शिविर आयोजना गरिएको थियो। उक्त शिविरबाट २६५ जनाले सेवा लिएका थिए। तीमध्ये ५५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको, ३३ जनामा मोतिबिन्दुको पहिचान भएको र २५ जनाको निःशुल्क शल्यक्रिया गरिएको क्लिनिकले जनाएको छ।
२१ जनवरीदेखि पाँच महिनासम्मका लागि वैकल्पिक उपचारका रूपमा निःशुल्क एक्युपङ्चर सेवा पनि सुरु गरिएको छ। बेलायतबाट आएका स्वयंसेवी डा. सिने पौया द्वारा प्रदान गरिएको उक्त सेवाले बिरामीलाई राहत दिएको छ। साथै, जर्मनीका डा. मेड जोहान्स नाउमानले क्लिनिकका कर्मचारीलाई एक्युपङ्चर सम्बन्धी तालिम प्रदान गरेका छन्, जसले नियमित सेवामा समेत सहयोग पुर्याइरहेको छ।
क्लिनिक नेपालले ई–कुकिङ (विद्युतीय खाना पकाउने) पाइलट परियोजना अन्तर्गत २२ वटा इन्डक्सन चुलो वितरण गरी दिगो ऊर्जा प्रयोगलाई प्रवर्द्धन गरेको क्लिनिक नेपालका संस्थापक तथा अध्यक्ष हरि भण्डारीले जानकारी दिनुभयो।
मार्च ८ मा सिसाबास आधारभूत विद्यालयमा आयोजित स्वास्थ्य जाँच शिविरबाट करिब ८५ जना विद्यार्थी तथा शिक्षक लाभान्वित भएका थिए। त्यस्तै, अप्रिल १ मा नेपाल सेनासँगको समन्वयमा पर्वतको जलजला–४ मा आयोजना गरिएको एकदिने बृहत् स्वास्थ्य शिविरबाट ५०० भन्दा बढी स्थानीय बासिन्दाले सेवा लिएका थिए। उक्त शिविरमा स्त्री तथा प्रसूति, हाडजोर्नी, दन्त, छाला, आन्तरिक रोग (उच्च रक्तचाप र मधुमेह) तथा नाक–कान–घाँटी/आँखा सम्बन्धी सेवा प्रदान गरिएको थियो।
भविष्य योजना
क्लिनिक नेपालले मेघौलीस्थित श्री जनकी माध्यमिक विद्यालयका लागि ५० सिट क्षमताको टाटा यूरो–६ बस खरिद गर्ने योजना अघि बढाएको छ। करिब ४० हजार अमेरिकी डलर लागत अनुमान गरिएको उक्त बसले ८०० भन्दा बढी विद्यार्थीमध्ये टाढाबाट आउने विद्यार्थीलाई सहज, सुरक्षित तथा भरपर्दो यातायात सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ। यसअघि पनि क्लिनिकले सो विद्यालयलाई एक बस उपलब्ध गराइसकेको छ।
यसैगरी, ई–कुकिङ परियोजनालाई विस्तार गर्दै थप इन्डक्सन चुलो वितरण गर्ने योजना पनि अघि बढाइएको छ। नेपालमा प्रशस्त जलविद्युत् सम्भावना हुँदाहुँदै एलपी ग्यासमा निर्भरता घटाउन र वातावरणमैत्री ऊर्जा प्रयोगलाई प्रवर्द्धन गर्न यो पहल प्रभावकारी हुने विश्वास लिइएको छ। परियोजनाले समुदायमा सचेतना अभिवृद्धि गर्नुका साथै घरायसी खर्च घटाउन र राष्ट्रिय स्तरमा ऊर्जा आत्मनिर्भरता बढाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यस अभियानमा स्काउट्स समूहको पनि सक्रिय सहभागिता रहेको छ।
क्लिनिक नेपालद्वारा सञ्चालित फ्रेन्डसिप क्लिनिक, किन्डरगार्टेन, छात्रवृत्ति तथा स्काउट्स लगायतका अन्य कार्यक्रमहरू पनि निरन्तर रूपमा सञ्चालनमा रहेका छन्। विगत तीन दशकदेखि मित्रहरू, व्यक्तिगत सञ्जाल तथा व्यक्तिगत दाताहरूको सहयोगमा सञ्चालन हुँदै आएका यी कार्यक्रमहरूले समुदायमा सकारात्मक प्रभाव पार्दै आएका छन्।


74 पटक हेरिएको 

