दिसाजन्य लेदो प्रशोधन केन्द्र संचालनमा सप्तरीका ९ स्थानीय तहको प्रतिबद्धता

  वास खबर सम्बाददाता  257 पटक हेरिएको
🔗
30
Shares

सप्तरी: सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित विशालचोकमा निर्माणाधीन मधेस प्रदेशकै पहिलो दिसाजन्य लेदो प्रशोधन केन्द्र (FSTP) सञ्चालन तथा व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जिल्लाका जनप्रतिनिधि तथा सरोकारवालाले व्यक्त गर्नुभएको छ।

Welthungerhilfe (WHH) र BMZ को सहयोग र साझेदारीमा महुली सामुदायिक विकास केन्द्र (MCDC) को आयोजना तथा जिल्ला समन्वय समिति सप्तरीको समन्वयमा राजविराजमा आयोजित ‘दिसाजन्य लेदो प्रशोधन केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि जिल्ला स्तरीय सरोकारवालासँग अन्तरक्रिया’ कार्यक्रममा सहभागीहरूले केन्द्रको प्रभावकारी सञ्चालनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

WHH र BMZ को सहयोग र साझेदारीमा महुली सामुदायिक विकास केन्द्रले ‘ Supporting the Nepalese Government in Achieving SDG 6 through System Strengthening WASH Approaches’ परियोजना सञ्चालन गरिरहेको छ।

कञ्चनरूप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ताले दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माणले मानव मलमूत्र व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।

सुरुङ्गा नगरपालिकाकी नगरप्रमुख गीता चौधरीले प्रशोधन केन्द्र सञ्चालनले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्नुभयो। केन्द्रको सञ्चालन तथा व्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकालले प्रशोधन केन्द्र सञ्चालनमा आएपछि जिल्लावासीले बहुआयामिक लाभ प्राप्त गर्ने बताउनुभयो। केन्द्रबाट उत्पादन हुने मलले रासायनिक मलको अभाव न्यूनीकरणमा समेत सहयोग पुग्ने उल्लेख गर्नुभयो। केन्द्रको प्रभावकारी सञ्चालनका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो।

तिरहुत गाउँपालिकाका अध्यक्ष विजयकुमार यादवले प्रशोधन केन्द्रलाई व्यवसायीकरण गर्दै आयआर्जन र रोजगारीसँग जोड्नुपर्ने सुझाव दिनुभयो। यसको अधिकतम उपयोगका लागि सबै सरोकारवालाको सहयोग अपरिहार्य रहेको बताउनुभयो।

अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले मधेस प्रदेशकै गौरवको आयोजनाका रूपमा फरक उद्देश्यसहित प्रशोधन केन्द्र स्थापना गरिएको उल्लेख गर्नुभयो। पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। केन्द्रको सफल सञ्चालनका लागि सबै स्थानीय तह तथा सरोकारवालाको सहयोग र सुझाव आवश्यक रहेको बताउनुभयो।

महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभुनारायण चौधरीले वातावरण संरक्षण, मल उत्पादन तथा बिक्री–वितरणसँगै पर्यटन प्रवर्द्धनमार्फत आन्तरिक आय र रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रशोधन केन्द्रको परिकल्पना गरिएको बताउनुभयो। केन्द्रबाट उत्पादन हुने प्रशोधित ठोस मल र प्रशोधित पानी कृषिमा उपयोग गर्न सकिने भएकाले स्थानीय किसान बढी लाभान्वित हुने उल्लेख गर्नुभयो।

अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रप्रसाद यादवले केन्द्रलाई सरसफाइ पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो। यसबाट किसानमा स्वामित्वको भावना विकास भई केन्द्रको महत्व थप बढ्दै जाने विश्वास व्यक्त गर्नुभयो।

Welthungerhilfe (WHH) का प्राविधिक संयोजक नवीन राना मगरले प्रशोधन केन्द्रको करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको जानकारी दिनुभयो। आगामी कात्तिकभित्र केन्द्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताउनुभयो। रु. २ करोड ५३ लाखको लागतमा पूर्वाधार निर्माण भइरहेको उल्लेख गर्नुभयो। केन्द्र सञ्चालनमा आएपछि जिल्लाभरको दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन गरी कृषिमा उपयोग गर्न सकिने भएकाले जिल्लावासी सबैभन्दा बढी लाभान्वित हुने बताउनुभयो।

जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साहको अध्यक्षतामा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजका प्रमुख विश्वनाथप्रसाद यादव, राजविराज नगरपालिका–३ का कार्यवाहक अध्यक्ष वीरेन्द्रकुमार साह, शम्भुनाथ नगरपालिकाका प्रतिनिधि देवनारायण साहलगायतले पनि आ–आफ्ना धारणा राख्नुभएको थियो।

महुली सामुदायिक विकास केन्द्रका सहनिर्देशक तथा दिसाजन्य लेदो प्रशोधन केन्द्र (FSTP) का कार्यक्रम संयोजक चन्द्रनारायण चौधरीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने स्वागत तथा सहजीकरण कार्यकारी निर्देशक प्रभुनारायण चौधरीले गर्नुभएको थियो।

अन्तरक्रिया बैठकमा सहभागी नौवटा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिले दिसाजन्य लेदो व्यवस्थापन तथा प्रशोधनसम्बन्धी नीति–निर्देशिका निर्माणमा पहल गर्ने, स्थानीय तहबाट उत्पादन हुने लेदो प्रशोधन केन्द्रसम्म पुर्‍याउने व्यवस्था मिलाउने, केन्द्रबाट उत्पादन हुने ठोस मल तथा प्रशोधित पानीलाई कृषिमा प्रयोग गर्न किसानलाई प्रेरित गर्ने, जिल्ला समन्वय समितिको समन्वयमा केन्द्रको संयुक्त स्वामित्वको अवधारणा अघि बढाउने, सुरक्षित लेदो व्यवस्थापनमा सबै सरोकारवालाले समन्वय गर्ने तथा जिल्लालाई स्वच्छ, सफा र सुन्दर बनाउने अभियानलाई थप प्रभावकारी बनाउने निर्णय गरेका छन्।

महुली सामुदायिक विकास केन्द्रका इन्जिनियर ओमप्रकाश पण्डितले बैठकबाट भएका निर्णयहरूको जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार