ऐन कानुन देखि NWASH-MIS सम्म : WASH प्रणाली सुदृढीकरणमा WS4H परियोजनाको प्रभाव

प्रणाली सुदृढीकरण बाट मात्र गुणस्तरीय र दिगो WASH सेवा सम्भव : नादिरा खवाजा

  सुमन तामाङ  318 पटक हेरिएको
🔗
45
Shares

काठमाडौं : कोशी र मधेश प्रदेशमा सञ्चालन गरिएको ‘WASH Systems for Health (WS4H)’ परियोजनाले विकेन्द्रीकृत WASH प्रणाली सुदृढीकरण, स्थानीय सरकारको क्षमता अभिवृद्धि तथा राष्ट्रिय WASH व्यवस्थापन सूचना प्रणाली (NWASH-MIS) को प्रवर्द्धन मार्फत सुरक्षित, समावेशी र दिगो WASH सेवा विस्तारका लागि महत्वपूर्ण आधार तयार गरेको छ।

परियोजनाको कार्यान्वयन अवधिमा प्राप्त उपलब्धि, सिकाइ, चुनौती तथा आगामी कार्यदिशा बारे समीक्षा गर्न आयोजित परियोजनाको सिकाइ तथा अनुभव आदानप्रदान कार्यक्रममा SNV नेपालकी Water Sector Leader नादिरा खवाजाले परियोजनाबाट प्राप्त उपलब्धि, प्रणाली सुदृढीकरणका अभ्यास, सिकाइ तथा भविष्यमा परियोजनाका उपलब्धिलाई दिगो बनाउँदै थप विस्तार गर्नुपर्ने रणनीतिबारे प्रस्तुतीकरण गर्नुभयो।

संघीय तथा प्रदेश सरकारका प्रतिनिधि, UNICEF, UN-Habitat, FANSA, SOPHEN लगायत विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागितामा भएको कार्यक्रममा Water Sector Leader खवाजाले नेपालको WASH क्षेत्रमा अब पूर्वाधार निर्माण मात्र पर्याप्त नहुने उल्लेख गर्दै दिगो, सुरक्षित र समावेशी सेवा विस्तारका लागि प्रणाली सुदृढीकरण (Systems Strengthening) नै दीर्घकालीन समाधानको आधार बन्नुपर्ने बताउनुभयो।

उहाँका अनुसार अहिलेको प्रमुख चुनौती शौचालय वा खानेपानी आयोजना निर्माण गर्नु मात्र नभई ती सेवालाई सुरक्षित, समावेशी, जलवायु उत्थानशील (Climate Resilient) तथा दिगो रूपमा सञ्चालन गर्न सक्ने शासन प्रणाली विकास गर्नु हो। यही अवधारणालाई केन्द्रमा राखेर संघीय, प्रदेश तथा स्थानीय सरकारसँगको सहकार्यमा कोशी र मधेश प्रदेशका स्थानीय तहको क्षमता विकास तथा प्रणालीगत सुधारमा काम गरेको जानकारी दिनुभयो।

बेलायत सरकारको Foreign, Commonwealth and Development Office (FCDO) को आर्थिक सहयोगमा सेप्टेम्बर २०२४ देखि जुलाई २०२६ सम्म सञ्चालन भएको उक्त परियोजना SNV नेपाल र WaterAid नेपालले तत्कालीन खानेपानी मन्त्रालयसँगको समन्वयमा कार्यान्वयन गरेका हुन्।

ग्रामीण क्षेत्रमा समावेशी, उत्थानशील (Climate-resilient) र दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा प्रवाहलाई विकेन्द्रीकृत शासन प्रणाली मार्फत सुदृढ बनाउने परियोजनाको उद्देश्य रहेको थियो।

प्रदेश सरकारलाई केन्द्रमा राखेर प्रणाली सुदृढीकरण

परियोजनाले प्रदेश सरकारलाई स्थानीय तहको सहायक (Enabler) का रूपमा सशक्त बनाउन नीति तथा कानुन, अनुगमन, योजना, संस्थागत विकास तथा सिकाइ एवं अनुकूलन (Learning and Adaptation) गरी पाँच प्रमुख क्षेत्रमा काम गरेको उहाँले जानकारी दिनुभयो।

प्रस्तुती अनुसार कोशी प्रदेशले WASH ऐन जारी गर्नुका साथै WASH नीति मस्यौदा तयार गरेको छ भने मधेश प्रदेशले पनि WASH ऐनको मस्यौदा तयार गरेको छ। यी नीतिगत सुधारले प्रदेशस्तरीय WASH शासन प्रणालीलाई स्पष्ट दिशा दिएको उल्लेख गर्नुभयो।

त्यसैगरी दुवै प्रदेशमा NWASH-MIS प्रणाली मार्फत स्थानीय तहबाट गुणस्तरीय तथ्यांक संकलन गर्न प्राविधिक सहयोग, तालिम तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। प्रदेशस्तरीय स्रोत व्यक्ति (Provincial Resource Persons) तथा व्यवहार परिवर्तन सञ्चार (BCC) सम्बन्धी मास्टर ट्रेनर तयार गरिएको खवाजाले बताउनुभयो।

कोशीमा Provincial WASH Coordination Committee गठन गरिएको तथा मधेशमा मन्त्रालय नेतृत्वको Development Partners Group स्थापना गरी समन्वयलाई संस्थागत बनाइएको खवाजाले उल्लेख गर्नुभयो।

NWASH-MIS विस्तारमा उल्लेखनीय प्रगति

परियोजनाको महत्वपूर्ण उपलब्धि मध्ये एक NWASH-MIS प्रणालीको विस्तार हो। उहाँका अनुसार परियोजना सुरु हुनुअघि कोशी प्रदेशमा केवल ९ स्थानीय तहले मात्र WASH सम्बन्धी डिजिटल तथ्यांक संकलन गरेका थिए। परियोजना कार्यान्वयनपछि यो संख्या बढेर ६४ पुगेको बताउनुभयो।

यस प्रणालीले खानेपानी तथा सरसफाइ पूर्वाधार निर्माणका लागि आवश्यक लागतको प्रारम्भिक अनुमान उपलब्ध गराउनुका साथै सुरक्षित WASH सेवाका लागि आवश्यक लगानी पहिचान गर्न स्थानीय सरकारलाई सहयोग पुर्‍याएको उल्लेख गर्नुभयो। संघ, प्रदेश र स्थानीय सरकारबीच संयुक्त लगानी तथा सहकार्यको वातावरण निर्माण हुनु परियोजनाको अर्को महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो।

परियोजनाले सङ्कलित तथ्यांकका आधारमा स्थानीय सरकारलाई विस्तृत WASH Plan तयार गर्न सहयोग गरेको उहाँले जानकारी दिनुभयो। ती योजनामा पूर्वाधार निर्माणसँगै व्यवहार परिवर्तन, सेवा सुधार, लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र जलवायु जोखिमलाई पनि समावेश गरिएको उहाँको भनाइ छ।

यसरी तयार गरिएका योजनाले स्थानीय सरकारलाई वार्षिक बजेट तथा कार्यक्रम तथ्यांकमा आधारित रूपमा तयार गर्न सहयोग पुगेको उल्लेख गर्नुभयो।

तथ्यांकले देखाएका चुनौती

परियोजनाबाट सङ्कलित तथ्यांकले मधेश प्रदेशका केही स्थानीय तहमा अझै गम्भीर चुनौती रहेको उहाँले जानकारी दिनुभयो।

धेरै घरधुरीमा अझै खुला दिसा गर्ने अवस्था रहेको, अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त शौचालयको अभाव रहेको तथा केही महिलाले महिनावारीका बेला शौचालय प्रयोग नगर्ने अवस्था देखिएको उहाँको भनाइ छ। उहाँले यस्ता तथ्यांकले समस्या पहिचानका साथै प्रदेश तथा स्थानीय सरकारलाई लगानीको प्राथमिकता निर्धारण, लक्षित समुदाय छनोट तथा व्यवहार परिवर्तन कार्यक्रम सञ्चालन गर्न समेत महत्वपूर्ण आधार प्रदान गर्ने बताउनुभयो।

परियोजनाबाट प्राप्त मुख्य सिकाइ

प्रस्तुतीमा परियोजनाबाट प्राप्त महत्वपूर्ण सिकाइ समेत आदानप्रदान गरिएको थियो।

उहाँले दिगो रूपमा WASH सेवा विस्तार गर्न पर्याप्त बजेटसँगै स्थानीय सरकारको स्वामित्व, प्राविधिक सहयोग तथा निरन्तर क्षमता विकास आवश्यक रहेको उल्लेख गर्नुभयो। तथ्यांकको गुणस्तर सुधार नगरी प्रभावकारी योजना निर्माण सम्भव नहुने निष्कर्ष परियोजनाले देखाएको उहाँले बताउनुभयो।

त्यस्तै LGPAS जस्ता कार्यसम्पादन सूचक तथा वित्तीय प्रोत्साहनले स्थानीय सरकारलाई प्रणाली सुधारतर्फ आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको जानकारी दिनुभयो।

भविष्यको प्राथमिकता : प्रणाली सुदृढीकरण

खवाजाले आगामी दिनमा WASH क्षेत्रमा हुने लगानीलाई पूर्वाधार निर्माणमा सीमित नराखी सम्पूर्ण सेवा चक्र (Service Lifecycle), जलवायु जोखिम न्यूनीकरण तथा कमजोर समुदायलाई केन्द्रमा राखेर अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो।

उहाँले Climate Resilient Rural WASH जस्ता सफल मोडललाई अन्य प्रदेश तथा स्थानीय तहमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। प्रणाली सुदृढीकरण नै गुणस्तरीय WASH सेवा विस्तार (Scale with Quality) को सबैभन्दा प्रभावकारी माध्यम भएको बताउनुभयो।

सुरक्षित, समावेशी तथा दिगो WASH सेवा सुनिश्चित गर्न प्रदेश सरकारलाई सक्षम सहजीकरणकर्ताका रूपमा विकास गर्नु, गुणस्तरीय तथ्यांक प्रणाली निर्माण गर्नु, तथ्यांकमा आधारित योजना बनाउनु तथा संघ, प्रदेश र स्थानीय सरकार बीचको सहकार्यलाई थप मजबुत बनाउनु नै नेपालको WASH क्षेत्रको आगामी प्राथमिकता हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

प्रणाली सुदृढीकरण, समन्वय र पर्याप्त लगानीमा वक्ताहरूको जोड

कार्यक्रममा पूर्वाधार विकास मन्त्रालयका सहसचिव माधवप्रसाद अधिकारीले WS4H परियोजनाबाट प्राप्त सिकाइलाई अन्य कार्यक्रमहरूमा समेत विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विगत एक दशकदेखि WASH क्षेत्रमा मुख्यतः पूर्वाधार विकासमा केन्द्रित प्रयास भइरहेका बेला WS4H परियोजनाले संस्थागत प्रणाली सुदृढीकरणलाई प्राथमिकतामा राखेर नयाँ अभ्यास अघि बढाएको उहाँले उल्लेख गर्नुभयो।

मधेश प्रदेशको उर्जा, सिचाई तथा खानेपानी मन्त्रालय, खानेपानी महाशाखाकी सिनियर डिभिज्नल इन्जिनियर लक्ष्मी पन्तले प्रदेश सरकारले संघीय र स्थानीय सरकार बीच पुलको भूमिका निर्वाह गर्नुपर्ने भए पनि व्यवहारमा त्यो पर्याप्त रूपमा अनुभूति हुन नसकेको धारणा राख्नुभयो। विकास साझेदार संस्थाहरूबीच दोहोरोपन (Duplication) हुन नदिन प्रदेश सरकारले प्रभावकारी समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

खानेपानी तथा ढल व्यवस्थापन विभाग (DWSSM) का सिनियर डिभिज्नल इन्जिनियर डा. रजित ओझाले बदलिँदो आवश्यकता र परिस्थिति अनुसार WASH प्रणालीलाई थप लचिलो (Flexible) र परिवर्तन अनुकूल (Adaptable) बनाउनुपर्ने उल्लेख गर्नुभयो।

WaterAid नेपालका वरिष्ठ वास नीति सल्लाहकार गोविन्द श्रेष्ठले अन्य क्षेत्रको तुलनामा WASH क्षेत्रमा बजेट वृद्धि अपेक्षाअनुसार हुन नसकेको जानकारी दिँदै सुरक्षित र दिगो सेवा विस्तारका लागि पर्याप्त सार्वजनिक लगानी अपरिहार्य रहेको जोड दिनुभयो।

कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि इन्जिनियर मीना श्रेष्ठले WS4H परियोजनाबाट प्राप्त सिकाइलाई नीति निर्माण, योजना तर्जुमा तथा आगामी कार्यक्रमहरूमा संस्थागत रूपमा समावेश गर्दै WASH क्षेत्रमा प्रणाली सुदृढीकरणलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले परियोजनाबाट प्राप्त अनुभवलाई व्यवहारमा रूपान्तरण गर्दै संघ, प्रदेश र स्थानीय सरकारबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा समेत जोड दिनुभयो।

कार्यक्रममा संघीय तथा प्रदेश सरकारका प्रतिनिधि, UNICEF, UN-Habitat, FANSA, SOPHEN लगायत विकास साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

 

For More Photos: 

https://drive.google.com/drive/folders/1Cs2Ayx3fzFfLA5mOryvS_JblTdIP3oht?usp=drive_link

Photo : Suman Tamang/WASH Khabar


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार