
नुवाकोट : भोटेकोशी बाढीबाट विस्थापित भएकाहरु बसिरहेको आश्रयस्थलमा विश्व हात धुने दिवसको अवसरमा सामूहिक हात धुने अभियान सञ्चालन गरिएको छ ।
नुवाकोटको विदुर नगरपालिकाको वडा नं. ५ पीपलटार स्थित पोष्ट बहादुर पार्क आश्रयस्थलमा सामूहिक हात धुने अभियान सञ्चालन गरिएको हो ।

अभियान अन्तर्गत आश्रयस्थलमा बसोबास गरिरहेका नागरिकहरुलाई हात धुने अभ्यास गरिएको थियो ।
हात धुने बानीको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्दै सरसफाइलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउने उद्देश्यले हरेक बर्षको अक्टोबार १५ तारिखमा विश्व हात धुने दिवस मनाइन्छ।

यस वर्षको नारा ‘हात धुने नायक बनौँ’ ले व्यक्तिगत सरसफाइमा मात्र सीमित नभई परिवार, विद्यालय, समुदाय र समाजमा हात धुने संस्कार स्थापित गर्न सबैले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने सन्देश दिएको छ।

हात धुनु सामान्य र सानो कामजस्तो देखिए पनि यसले मानिसको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउँछ। फोहोर हातका माध्यमबाट विभिन्न रोगका जीवाणु शरीरमा प्रवेश गर्न सक्छन्।

विशेष गरी झाडापखाला, हैजा तथा अन्य सङ्क्रामक रोगको जोखिम कम गर्न साबुनपानीले हात धुने बानी प्रभावकारी उपाय हो। खाना खानु अघि, खाना पकाउनु अघि र बच्चालाई खुवाउनु अघि साबुनपानीले हात धुनु आवश्यक हुन्छ। यस्तै शौचालय प्रयोग गरेपछि, बच्चाको दिसा धोएपछि र फोहोर बस्तु छोएपछि पनि साबुन पानीले मिची मिची हात धुनुपर्छ ।
पोष्ट बहादुर पार्क आश्रयस्थलमा ४८ घरपरिवार बस्दै आएका छन् । आश्रयस्थलमा जनसंख्या १६८ जनाको बसोबास छ।

पोष्ट बहादुर पार्क आश्रयस्थलमा उदार करुणमयी स्वयंसेवक (NCV) ले सुरु देखि खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आईरहेको छ ।

NCV ले स्थानीयलाई नै परिचालन गरी टेन्ट व्यवस्थापन, हात धुने स्थानको निर्माण, शौचालय निर्माण, सुरक्षित खानेपानीको व्यवस्थापन, नुहाउने स्थानको व्यवस्था तथा टेन्ट व्यवस्थापन जस्ता कामहरु गरिरहेको छ ।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको आश्रय तथा शिविर व्यवस्थापन क्लस्टरको पछिल्लो विवरण अनुसार रसुवाका १० वटा शिविरमा ७७३, नुवाकोटका २५ शिविरमा २ हजार ६९९ र धादिङका दुई शिविरमा १९६ जना आश्रित छन् ।

फोटोहरु : पी.टी.लोप्चन/वास खबर


258 पटक हेरिएको 

