‘हात धुने नायक बनौँ’ नारा सहित बिदुरमा विश्व हात धुने दिवस मनाइयो

अस्थायी शिविरमा बालबालिकाको चित्रकला प्रतियोगिता

  वास खबर समाचारदाता  177 पटक हेरिएको
🔗
267
Shares

नुवाकोट : ‘हात धुने नायक बनौँ’ भन्ने विश्वव्यापी नारा सहित सन् २०२६ को विश्व हात धुने दिवसका अवसरमा नुवाकोटको बिदुरमा बालबालिकाको चित्रकला प्रतियोगिता र सचेतनामूलक र्‍याली आयोजना गरिएको छ।

विश्व हात धुने दिवसको अवसरमा वाटर एड नेपाल, पश्चिम पाइला लगायत संघसंस्थाको सहकार्यमा वातावरण तथा जनस्वास्थ्य संस्था (ENPHO) ले साबुनपानीले हात धुने बानीको विकास तथा स्वस्थ सरसफाइ अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले दुईवटा सचेतनामूलक गतिविधि सञ्चालन गरेको हो।

अस्थायी शिविरमा बालबालिकाको चित्रकला प्रतियोगिता

एन्फोले बिदुरस्थित होल्डिङ सेन्टरमा ‘हात धुने नायक बनौँ’ विषयमा बालबालिकाका लागि चित्रकला प्रतियोगिता आयोजना गरेको थियो।

प्रतियोगिता मार्फत बालबालिकालाई हात धुनुको महत्त्व, साबुनपानीले हात धुँदा रोगको संक्रमणबाट बच्न सकिने उपाय तथा व्यक्तिगत सरसफाइ सम्बन्धी सन्देश सिर्जनात्मक रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरिएको थियो।

चित्रकला मार्फत बालबालिकालाई हात धुने बानीको महत्त्व बुझाउनुका साथै उनीहरूले सिकेका सन्देश परिवार र समुदायसम्म पुर्‍याउन प्रोत्साहित गरिएको एन्फोले जनाएको छ।

बालबालिकालाई सरसफाइ प्रवर्द्धनका सक्रिय अभियन्ताका रूपमा परिचालन गर्ने र दैनिक जीवनमा साबुनपानीले हात धुने बानी विकास गर्न प्रेरित गर्ने प्रतियोगिताको उद्देश्य रहेको थियो।

बिदुरमा र्‍याली र साबुनपानीले हात धुने अभ्यास

यसै अवसरमा बिदुर नगरपालिकाको आयोजना, खानेपानी तथा सरसफाइ डिभिजनको सहकार्य, वास क्लस्टरको सहभागिता तथा एन्फोको समन्वयमा सचेतनामूलक प्रभातफेरी आयोजना गरिएको थियो।

नगरपालिकाबाट सुरु भएको र्‍याली बिदुर चोक पुगेर समापन भएको थियो। र्‍यालीमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। सहभागीहरूले हातको स्वच्छता कायम राख्न, साबुनपानीले नियमित रूपमा हात धुन र हातको सरसफाइलाई दैनिक जीवनको अभिन्न हिस्सा बनाउन सन्देश प्रवाह गरेका थिए।

बिदुर चोकमा आयोजित कार्यक्रममा विपद् जोखिम न्यूनीकरण (डीआरआर) शाखाका प्रमुख सुभाष पाण्डेले विश्व हात धुने दिवसको महत्त्वबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले पनि साबुनपानीले हात धुनु स्वास्थ्य संरक्षण र रोगको संक्रमण रोकथामका लागि महत्त्वपूर्ण रहेको सन्देश दिनुभएको थियो।

कार्यक्रममा साबुनपानीले सही तरिकाले हात धुने विधिको प्रदर्शन समेत गरिएको थियो। हात धुने उचित तरिका र यसको महत्त्वबारे जानकारी दिइएपछि सहभागीहरूले सामूहिक रूपमा हात धुने अभ्यास गरेका थिए।

साबुनपानीले सही तरिकाले हात धुने सामान्य अभ्यासले विभिन्न रोगको संक्रमणबाट जोगिन र स्वस्थ समुदाय निर्माण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने सन्देश सहित कार्यक्रम सम्पन्न भएको थियो।

‘हात धुने नायक बनौँ’ भन्ने यस वर्षको नाराले हातको स्वच्छतालाई व्यक्तिगत बानीमा सीमित नराखी परिवार र समुदायमा समेत प्रवर्द्धन गर्न आह्वान गरेको छ।

फोटोहरु : बुद्ध बज्राचार्य/एन्फो 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार