पानीले निर्धारण गर्छ माटोको स्वास्थ्य

पानीको गुणस्तर, माटोको जीवन र दिगो भूमि व्यवस्थापन बीचको अन्तरसम्बन्ध

  विनोद धौलागिरि  98 पटक हेरिएको
🔗
68
Shares

विनोद धौलागिरि

माटो र पानी प्रकृतिका दुई अभिन्न तत्व हुन्, जसको अन्तरसम्बन्धले पारिस्थितिक प्रणाली, कृषि उत्पादन र मानव जीवनको आधार तयार गर्छ । माटोलाई सामान्यतया धूलो वा खनिज कणहरूको थुप्रोका रूपमा बुझ्ने गरिए पनि यो खनिज पदार्थ, जैविक पदार्थ, पानी, हावा र असंख्य जीवहरूको अन्तरक्रियाबाट सञ्चालित गतिशील प्रणाली हो ।

यस प्रणालीमा पानीले विभिन्न तत्वलाई घुलनशील बनाउने, पोषक तत्वलाई एक स्थानबाट अर्को स्थानसम्म पु¥याउने, सूक्ष्मजीवको गतिविधिलाई सहयोग गर्ने र वनस्पतिको जरासम्म आवश्यक चिस्यान उपलब्ध गराउने काम गर्छ । त्यसैले पानीको उपलब्धता, आवागमन र गुणस्तरले माटोको अवस्था तथा त्यसले निर्वाह गर्ने पारिस्थितिक भूमिकामा प्रत्यक्ष प्रभाव पार्छ । पानी र माटोबीचको यो सम्बन्ध बुझ्नु स्वस्थ भूमि, दिगो कृषि र प्राकृतिक स्रोतको प्रभावकारी व्यवस्थापनका लागि आधारभूत आवश्यकता हो ।

माटोको स्वास्थ्य भन्नाले माटोले आफ्नो प्राकृतिक तथा व्यवस्थापकीय अवस्थाअनुसार जैविक उत्पादनलाई सहयोग गर्ने, पानीलाई ग्रहण तथा सञ्चय गर्ने, पोषक तत्वको चक्र सञ्चालन गर्ने र वातावरणीय गुणस्तर कायम राख्ने क्षमता बुझिन्छ । स्वस्थ माटोमा पर्याप्त जैविक पदार्थ, उपयुक्त संरचना, सन्तुलित पोषक तत्व, प्रभावकारी जलनिकास तथा उपयोगी सूक्ष्मजीवहरूको गतिविधि हुन्छ । माटोको स्वास्थ्य र उर्वराशक्ति एकअर्कासँग सम्बन्धित भए पनि यी समान अवधारणा होइनन् ।

उर्वराशक्तिले मुख्यतः वनस्पतिलाई आवश्यक पोषक तत्व उपलब्ध गराउने क्षमतालाई जनाउँछ भने माटोको स्वास्थ्यले यसको भौतिक, रासायनिक र जैविक कार्यसम्पादनलाई समेट्छ । उदाहरणका लागि, आवश्यक पोषक तत्व भएको माटोमा पानीको निकास कमजोर छ वा उपयोगी जीवहरूको गतिविधि सीमित छ भने त्यसको समग्र स्वास्थ्य राम्रो नहुन सक्छ । यस अर्थमा माटोको स्वास्थ्य मूल्याङ्कन गर्दा पोषक तत्वको उपलब्धतासँगै पानी र हावाको सन्तुलन, संरचना तथा जैविक गतिविधिलाई पनि ध्यान दिनुपर्छ ।

माटोको स्वास्थ्यमा पानीको मात्रा जति महत्वपूर्ण हुन्छ, यसको गुणस्तर पनि उत्तिकै महत्वपूर्ण हुन्छ । सिँचाइ वा अन्य प्रयोजनमा प्रयोग गरिने पानीमा घुलनशील लवण, सोडियम तथा अन्य रासायनिक तत्वको मात्रा बढी भएमा माटोको गुणमा क्रमिक परिवर्तन आउन सक्छ । पानीको पि.एच.ले यसको अम्लीय वा क्षारीय अवस्था जनाउँछ भने विद्युत् चालकता (इलेक्ट्रिकल कन्डक्टिभिटी) ले घुलनशील लवणको स्तर बुझ्न सहयोग गर्छ ।

सोडियम अवशोषण अनुपात पानीमा सोडियमको तुलनात्मक अवस्थाको मूल्याङ्कन गर्ने महत्वपूर्ण सूचक हो, जसले संवेदनशील माटोमा पानी प्रवेश गर्ने क्षमता र संरचनामा पर्न सक्ने जोखिम पहिचान गर्न मद्दत गर्छ । त्यस्तै, पानीको स्रोत र वरपरको गतिविधिअनुसार भारी धातु, नाइट्रेट, कीटनाशक अवशेष वा रोगजनक सूक्ष्मजीवजस्ता प्रदूषकको जोखिम पनि हुन सक्छ । त्यसैले पानी सफा देखिनु वा पर्याप्त मात्रामा उपलब्ध हुनु मात्रै यसको गुणस्तर उपयुक्त भएको प्रमाण होइन; प्रयोगको उद्देश्य अनुसार परीक्षण र मूल्याङ्कन आवश्यक हुन्छ ।

पानीको मात्रा वा आवागमनमा असन्तुलन हुँदा माटोको स्वास्थ्यमा विभिन्न प्रकारका समस्या उत्पन्न हुन सक्छन् । लामो समयसम्म पानीको अभाव हुँदा माटो सुक्खा बन्ने, सूक्ष्मजीवहरूको गतिविधि घट्ने, पोषक तत्वको घुलनशीलता प्रभावित हुने र वनस्पतिको जराले आवश्यक पानी तथा पोषक तत्व ग्रहण गर्न नसक्ने अवस्था आउन सक्छ ।

अर्कोतर्फ, अत्यधिक पानी जम्दा माटोका छिद्रमा रहेको हावा विस्थापित भई जरामा अक्सिजनको कमी हुन सक्छ । तीव्र वर्षा र सतही बहावले माटोको उर्वर माथिल्लो तह तथा त्यसमा रहेका पोषक तत्व बगाएर लैजान सक्छन् । त्यस्तै, कमजोर जलनिकास र अनुपयुक्त गुणस्तरको सिँचाइ पानीका कारण केही क्षेत्रमा लवण जम्मा हुने वा सोडियमसम्बन्धी समस्या उत्पन्न हुन सक्छ ।

यस्ता परिवर्तनले माटोको संरचना, जैविक गतिविधि, बालीको वृद्धि र दीर्घकालीन उत्पादन क्षमतामा नकारात्मक प्रभाव पार्न सक्छन् । यसरी पानीको अभाव, अधिकता र गुणस्तर सम्बन्धी समस्या फरक भए पनि तिनको साझा प्रभाव माटोको कार्यक्षमतामा देखिन सक्छ ।

माटोको स्वास्थ्य र पानीको भूमिका

माटोको स्वास्थ्य यसको भौतिक, रासायनिक र जैविक गुणबीचको सन्तुलनमा निर्भर हुन्छ, जहाँ पानीले महत्वपूर्ण भूमिका खेल्छ । माटोमा ठोस कण, पानी र हावा गरी तीन अवस्था हुन्छन् । माटोका छिद्रमा पानी र हावाको उचित अनुपात कायम रहँदा जराको वृद्धि, अक्सिजनको आपूर्ति र सूक्ष्मजीवहरूको गतिविधि सहज हुन्छ । पानीको मात्रा अत्यधिक हुँदा हावा विस्थापित भई जरामा अक्सिजनको कमी हुन सक्छ भने पानीको अभावले वनस्पतिको वृद्धि र पोषक तत्व ग्रहण गर्ने प्रक्रियालाई सीमित गर्छ ।

माटोको बनावट बालुवा, सिल्ट र माटोका मसिना कणको अनुपातबाट निर्धारण हुन्छ । यसले पानी धारण गर्ने क्षमता र निकासलाई प्रभावित गर्छ । सामान्यतः बलौटे माटोमा पानी छिटो निकास हुन्छ भने मसिना कण बढी भएको माटोले पानी बढी धारण गर्न सक्छ ।

त्यस्तै, माटोको संरचना अर्थात् कणहरू मिलेर बनेका समूहले पानीको प्रवेश, हावाको सञ्चार र जराको विस्तारमा प्रभाव पार्छ । जैविक पदार्थले माटोको संरचना सुधार्न, पानी धारण क्षमता बढाउन र उपयोगी सूक्ष्मजीवलाई अनुकूल वातावरण प्रदान गर्न मद्दत गर्छ ।

माटोमा रहेका ब्याक्टेरिया, ढुसी, गँड्यौला तथा अन्य जीवहरूले जैविक पदार्थको विघटन र पोषक तत्वको चक्रमा योगदान पु¥याउँछन् । यी प्रक्रियाहरू प्रभावकारी हुन माटोमा उपयुक्त चिस्यान आवश्यक हुन्छ ।

त्यसैले माटोको स्वास्थ्य पानीको मात्रा मात्रले निर्धारण गर्दैन; पानी, हावा, बनावट, संरचना, जैविक पदार्थ र जीवहरूको अन्तरक्रियाले निर्धारण गर्छ । उचित चिस्यान कायम राख्नु, पानीको निकास व्यवस्थापन गर्नु र माटोमा जैविक पदार्थको मात्रा बढाउनु स्वस्थ माटोका आधारभूत उपाय हुन् ।

पानीको गुणस्तर र माटोमा पर्ने प्रभाव

सिँचाइ वा अन्य प्रयोजनमा प्रयोग हुने पानीको गुणस्तरले माटोको भौतिक, रासायनिक तथा जैविक अवस्थालाई समयक्रममा प्रभावित गर्छ । पानीमा घुलिएका लवण, सोडियम तथा अन्य रासायनिक तत्वको मात्रा उपयुक्त सीमाभन्दा बढी भएमा माटोको संरचना बिग्रन, पानीको प्रवेश र निकासमा समस्या आउन तथा बालीले पानी र पोषक तत्व ग्रहण गर्ने प्रक्रियामा अवरोध हुन सक्छ ।

त्यसैले पानीको उपयुक्तता मूल्याङ्कन गर्दा यसको स्रोत मात्र होइन, रासायनिक संरचना, प्रयोगको उद्देश्य, माटोको प्रकृति र स्थानीय जलवायु अवस्थासमेत विचार गर्नुपर्छ ।

पानीको गुणस्तर मूल्याङ्कनका लागि पि.एच., विद्युत् चालकता, सोडियम अवशोषण अनुपात, बाइकार्बोनेट तथा कार्बोनेटको मात्रा र सम्भावित प्रदूषकहरू महत्वपूर्ण सूचक हुन् । यी सूचकले पानीको अम्लीय वा क्षारीय अवस्था, घुलनशील लवणको स्तर, सोडियमको तुलनात्मक प्रभाव तथा अन्य रासायनिक जोखिमबारे जानकारी दिन्छन् ।

पि.एच.ले पानीको अम्लीय वा क्षारीय अवस्था देखाउँछ । सिँचाइ पानीको पि.एच.ले माटोको पि.एच. र पोषक तत्वको उपलब्धतामा प्रभाव पार्न सक्छ, तर यसको प्रभाव पानीको पि.एच.मात्रबाट निर्धारण हुँदैन । माटोको आफ्नै रासायनिक संरचना, बफर क्षमता र पानीमा रहेका अन्य तत्वले पनि परिणाममा भूमिका खेल्छन् । त्यस्तै, विद्युत् चालकता पानीमा घुलनशील आयन तथा लवणको कुल स्तर बुझ्न प्रयोग गरिन्छ ।

विद्युत चालकता उच्च भएको पानी निरन्तर प्रयोग गर्दा माटोमा लवण जम्मा हुन सक्छ । यसले माटोको पानी र बोटको जराभित्रको पानीबीचको परासरणीय सन्तुलनमा असर पु¥याई बोटलाई पानी ग्रहण गर्न कठिन बनाउन सक्छ । परिणामस्वरूप बालीको वृद्धि र उत्पादन घट्न सक्छ ।

सोडियम अवशोषण अनुपातले पानीमा रहेको सोडियमको तुलनामा क्याल्सियम र म्याग्नेसियमको अनुपातलाई जनाउँछ । सोडियम अवशोषण अनुपात उच्च भएको पानी संवेदनशील माटोमा प्रयोग गर्दा माटोका कणहरू छुट्टिने वा फैलिने सम्भावना बढ्न सक्छ । यसले माटोको संरचना कमजोर बनाउँदै पानी प्रवेश गर्ने दर र निकास क्षमता घटाउन सक्छ ।

विशेषतः मसिना कण भएको माटोमा यस्तो प्रभाव उल्लेखनीय हुन सक्छ । पानीमा रहेको बाइकार्बोनेट तथा कार्बोनेट ले पनि क्याल्सियम र म्याग्नेसियमको उपलब्धता तथा अवक्षेपण प्रक्रियालाई प्रभावित गर्न सक्छन् । यसबाट पानीमा सोडियमको सापेक्ष प्रभाव बढ्न सक्ने भएकाले यी तत्वलाई सोडियम अवशोषण अनुपात र विद्युत चालकतासँगै मूल्याङ्कन गर्नु उपयुक्त हुन्छ ।

पानीको गुणस्तरसम्बन्धी समस्या बुझ्दा लवणीय माटो, सोडिक माटो र अम्लीय वा क्षारीय माटोबीचको भिन्नता स्पष्ट हुनुपर्छ । लवणीय माटोमा घुलनशील लवणको मात्रा बढी हुन्छ, जसले बोटको पानी ग्रहण गर्ने क्षमतालाई सीमित गर्न सक्छ । सोडिक माटोमा माटोका कणहरूको विनिमय स्थलमा सोडियमको मात्रा बढी हुन्छ, जसले संरचना, पानीको प्रवेश र निकासमा समस्या निम्त्याउन सक्छ ।

अर्कोतर्फ, अम्लीय वा क्षारीय माटोमा पि.एच. असन्तुलनका कारण केही पोषक तत्वको उपलब्धता घट्न वा केही तत्वको विषाक्तता बढ्न सक्छ । यी समस्या एकअर्कासँग सम्बन्धित हुन सक्ने भए पनि समान होइनन्; त्यसैले तिनको पहिचान र समाधान माटो तथा पानी परीक्षणका आधारमा गर्नुपर्छ ।

लवणीय माटोमा उपयुक्त निकासको व्यवस्था गरी पर्याप्त गुणस्तरको पानीबाट लवणलाई जराक्षेत्रभन्दा बाहिर विस्थापित गर्ने उपाय उपयोगी हुन सक्छ । तर यस्तो व्यवस्थापनका लागि निकासको उपलब्धता, भूजलको गहिराइ र विस्थापित लवणयुक्त पानीको सुरक्षित निकाससमेत विचार गर्नुपर्छ । सोडिक माटोमा भने माटोको परीक्षणअनुसार जिप्समजस्ता क्याल्सियमयुक्त सुधारक पदार्थ आवश्यक पर्न सक्छन् ।

अम्लीय माटोमा कृषि चुनको प्रयोग उपयोगी हुन सक्छ भने क्षारीय माटोको व्यवस्थापन समस्या पैदा गर्ने रासायनिक अवस्थाअनुसार फरक हुन्छ । त्यसैले परीक्षणबिना सबै प्रकारका माटोमा एउटै सुधार विधि अपनाउनु उपयुक्त हुँदैन ।

पानीको गुणस्तरको अर्को महत्वपूर्ण पक्ष सम्भावित प्रदूषण हो । भू–जल, नदी, खोला, पोखरी वा अन्य स्रोतको पानीमा स्रोतअनुसार नाइट्रेट, भारी धातु, कीटनाशकका अवशेष तथा रोगजनक सूक्ष्मजीव हुन सक्छन् । यस्ता प्रदूषकको निरन्तर प्रवेशले माटोमा तिनको सञ्चय हुन, उपयोगी माटोका जीवहरू प्रभावित हुन वा केही प्रदूषक खाद्य बालीमार्फत खाद्य प्रणालीमा प्रवेश गर्न सक्ने जोखिम हुन्छ ।

फोहोर पानी वा प्रशोधित ढलको पुनःप्रयोग गर्दा यसको उपचारको स्तर, रासायनिक तथा सूक्ष्मजीवसम्बन्धी गुणस्तर र प्रयोग गरिने बालीको प्रकृति मूल्याङ्कन गर्नुपर्छ । सबै स्रोतको पानीमा सबै प्रदूषक परीक्षण गर्न आवश्यक नहुन सक्छ; परीक्षणको छनोट पानीको स्रोत, वरपरका सम्भावित प्रदूषण गतिविधि र प्रयोगको उद्देश्यका आधारमा गर्नुपर्छ ।

पानीको असन्तुलन, भूक्षय र माटोको क्षयीकरण

पानीको कमी र अधिकता दुवैले माटोको स्वास्थ्यमा प्रत्यक्ष तथा दीर्घकालीन असर पार्छन् । तीव्र वर्षा वा सतही बहावका कारण माटोको माथिल्लो उर्वर तह बगेर जाने प्रक्रियालाई जलक्षय भनिन्छ । यससँगै जैविक पदार्थ र पोषक तत्वसमेत हट्न सक्छन्, जसले माटोको उर्वरता र कृषि उत्पादन क्षमता घटाउँछ । माटोले सोस्न सक्नेभन्दा बढी पानी पर्दा सतही बहाव बढ्ने भएकाले वनस्पति आवरण कायम राख्ने, जमिनको बनावट अनुसार खेती गर्ने र वर्षाको पानीको बहाव घटाउने उपाय महत्वपूर्ण हुन्छन् ।

अर्कोतर्फ, माटोको जराक्षेत्रमा अत्यधिक पानी जमेर हावाको सञ्चार घट्ने अवस्थालाई जलजमाव (वाटरलगिङ) भनिन्छ । यसले जरामा अक्सिजनको कमी गराई पानी र पोषक तत्व ग्रहण गर्ने क्षमता कमजोर बनाउन सक्छ ।

लामो समयसम्म पानीको अभाव अर्थात् खडेरी हुँदा माटोको चिस्यान घट्छ, सूक्ष्मजीवको गतिविधि प्रभावित हुन्छ र बोटले पोषक तत्व ग्रहण गर्न कठिनाइ भोग्छ । अनुचित सिँचाइ र अपर्याप्त निकासले केही क्षेत्रमा भूजलको सतह बढाउन तथा लवण सञ्चयको जोखिम निम्त्याउन सक्छ ।

जलवायु परिवर्तनसँग सम्बन्धित अनियमित वर्षा, तीव्र वर्षा, लामो खडेरी र बाढीले माटोको क्षयीकरणको जोखिम थप बढाउन सक्छन् । नेपालको पहाडी क्षेत्रमा तीव्र वर्षा, भिरालो जमिन र कमजोर भूमि व्यवस्थापनले माटो बग्ने जोखिम बढाउन सक्छ भने तराईका केही स्थानमा कमजोर निकास, जलजमाव वा लवण सञ्चयका समस्या देखिन सक्छन् ।यस्ता समस्या सबै क्षेत्रमा समान हुँदैनन्; स्थानीय भू–आकृति, माटोको प्रकृति र पानीको अवस्थाअनुसार मूल्याङ्कन गर्नुपर्छ ।

माटोको स्वास्थ्य जोगाउन भू–आकृतिअनुसार निकास व्यवस्थापन, वर्षाको पानीको उचित उपयोग, पानीको बहाव सन्तुलन गर्ने संरचना निर्माण, वनस्पति आवरण संरक्षण, जैविक पदार्थको प्रयोग तथा सिँचाइको उचित समय र मात्रा निर्धारण आवश्यक हुन्छ । पानीको प्रभावकारी व्यवस्थापन भनेको पानीको आपूर्ति सुनिश्चित गर्नु मात्र होइन, माटोमा यसको प्रवेश, सञ्चय, बहाव र निकासबीच सन्तुलन कायम गर्नु पनि हो ।

पानी र माटोको स्वास्थ्य परीक्षण तथा एकीकृत व्यवस्थापन

माटोको स्वास्थ्य संरक्षणका लागि पानी र माटोको अवस्था पहिचान गरी परीक्षणको नतिजाअनुसार व्यवस्थापन गर्नु आवश्यक हुन्छ । पानीको परीक्षण गर्दा यसको स्रोत, प्रयोगको उद्देश्य र सम्भावित प्रदूषणलाई आधार बनाउनुपर्छ ।

सिँचाइका लागि उज्, विद्युत् चालकता, सोडियम अवशोषण अनुपात तथा आवश्यकता अनुसार अन्य रासायनिक सूचक परीक्षण गर्नुपर्छ । मानव मलमूत्र वा ढलबाट प्रभावित हुन सक्ने पानी कृषि प्रयोजनमा प्रयोग गर्दा रोगजनक सूक्ष्मजीव र सम्बन्धित प्रदूषकको जोखिमसमेत मूल्याङ्कन गर्नुपर्छ । नमुना सही विधिबाट सङ्कलन गरी मान्यताप्राप्त प्रयोगशाला वा योग्य प्राविधिक सेवाबाट परीक्षण गराउनु उपयुक्त हुन्छ ।

माटो परीक्षणमा पि.एच., जैविक पदार्थ, उपलब्ध पोषक तत्व, बनावट र आवश्यकताअनुसार लवणीयता जाँच गर्नुपर्छ । नमुना सङ्कलन गर्दा एउटै खेतका प्रतिनिधिमूलक स्थानबाट उपयुक्त गहिराइमा माटो लिनुपर्छ । माटोको प्रकार, बाली वा व्यवस्थापन फरक भएका क्षेत्रका नमुना छुट्टाछुट्टै राख्नुपर्छ, ताकि परीक्षणको नतिजाले सम्बन्धित क्षेत्रको वास्तविक अवस्था देखाउन सकोस् । प्राप्त नतिजालाई बालीको आवश्यकता, माटोको प्रकृति र स्थानीय अवस्थासँग तुलना गरेर मात्र सुधारका उपाय छनोट गर्नुपर्छ ।

परीक्षणको नतिजाअनुसार वर्षाको पानी सङ्कलन तथा भण्डारण, सिँचाइको उचित मात्रा र समय निर्धारण, सतही बहाव नियन्त्रण, माटोको आवरण संरक्षण र कम्पोस्ट वा बाली अवशेषमार्फत जैविक पदार्थको व्यवस्थापन गर्न सकिन्छ ।

जलजमाव (पानी जम्ने) भएका स्थानमा स्थानीय अवस्थाअनुसार निकास सुधार गर्नुपर्छ । त्यस्तै, चुन, जिप्सम वा अन्य माटो सुधारक पदार्थ प्रयोग गर्नुअघि माटोको समस्या पहिचान गरी आवश्यक मात्रा निर्धारण गर्नु आवश्यक हुन्छ । परीक्षणबिना रासायनिक पदार्थ प्रयोग गर्दा अपेक्षित सुधार नहुनुका साथै थप समस्या उत्पन्न हुन सक्छ ।

पानी र माटोको स्वास्थ्य एकपटक परीक्षण गरेर मात्र सुनिश्चित हुँदैन । पानीको स्रोत, मौसम, सिँचाइ पद्धति, बाली र भूमि व्यवस्थापनमा परिवर्तन हुँदा आवश्यकताअनुसार पुनः परीक्षण गर्नुपर्छ । परीक्षणका नतिजा, प्रयोग गरिएका सुधारका उपाय र उत्पादनमा देखिएका परिवर्तनको नियमित अभिलेख राख्दा जोखिम पहिचान र निर्णय प्रक्रियामा सहयोग पुग्छ । पानी र माटोको एकीकृत व्यवस्थापन भनेको परीक्षण, उपयुक्त अभ्यास र नियमित अनुगमनलाई निरन्तर जोडेर माटोको उत्पादकत्व, पर्यावरणीय सन्तुलन र कृषि प्रणालीको दिगोपन कायम राख्नु हो ।

निष्कर्ष

पानीको मात्रा र गुणस्तर दुवैले माटोको भौतिक, रासायनिक तथा जैविक स्वास्थ्य निर्धारण गर्छन् । पानीको कमीले माटोको चिस्यान, सूक्ष्मजीवको गतिविधि र बोटले पोषक तत्व ग्रहण गर्ने प्रक्रियामा असर पार्छ भने अत्यधिक पानी, सतही बहाव र कमजोर निकासले भूक्षय, पानी जम्ने तथा केही अवस्थामा लवण सञ्चयको जोखिम बढाउँछन् । त्यसैले माटोको स्वास्थ्य कायम राख्न पानीको उपलब्धता मात्र होइन, यसको गुणस्तर र उचित व्यवस्थापनमा पनि ध्यान दिनुपर्छ ।

पानी र माटोको परीक्षणलाई छुट्टाछुट्टै प्राविधिक कार्यका रूपमा मात्र नहेरी एकीकृत भूमि तथा जल व्यवस्थापनको आधार मान्नुपर्छ । पानीको गुणस्तर, माटोको बनावट, पि.एच., लवणीयता, जैविक पदार्थ र पोषक तत्वको अवस्था बुझेर गरिने व्यवस्थापनले समस्याको समयमै पहिचान र उपयुक्त समाधानमा सहयोग पु¥याउँछ । यसका लागि परीक्षणको नतिजाअनुसार सिँचाइ, निकास, माटोको आवरण र जैविक पदार्थको व्यवस्थापन गर्न आवश्यक हुन्छ ।

यस कार्यमा किसान, कृषि तथा ध्ब्क्ज् क्षेत्रका प्राविधिक, स्थानीय सरकार र विकास संस्थाबीच समन्वय आवश्यक छ । वैज्ञानिक परीक्षणलाई स्थानीय ज्ञान, व्यावहारिक अनुभव र नियमित अनुगमनसँग जोड्न सकेमा स्रोतको प्रभावकारी उपयोग र माटोको दीर्घकालीन संरक्षण सम्भव हुन्छ । स्वस्थ माटोका लागि पानी चाहिन्छ, तर पानीको उपलब्धता मात्र पर्याप्त हुँदैन; त्यसको गुणस्तर, उचित मात्रा, माटोको बनावट र प्रभावकारी व्यवस्थापन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । पानी र माटोको स्वास्थ्यलाई एकीकृत रूपमा संरक्षण गर्नु नै दीर्घकालीन कृषि उत्पादन, स्वस्थ पारिस्थितिक प्रणाली र दिगो जीविकोपार्जनको आधार हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार