रासायनिक मलको विकल्प बन्दै गड्यौले मल, वालिङमा व्यावसायिक उत्पादन

वार्षिक ७५ हजार केजीसम्म उत्पादन, मल र गड्यौलाको बीउ बेचेर दोहोरो आम्दानी

  वास खबर सम्बाददाता  165 पटक हेरिएको
🔗
80
Shares

स्याङ्जा : खेतीपाती गर्ने समयमा रासायनिक मलको अभाव झेल्दै आएका कृषकका लागि गड्यौले मल भरपर्दो विकल्पका रूपमा विकास हुँदै गएको छ। रासायनिक मलको अभाव, माटोको उर्वराशक्ति घट्दै जानु र उत्पादन लागत कम गर्ने आवश्यकताका कारण स्याङ्जाको वालिङमा गड्यौले मलको व्यावसायिक उत्पादनसँगै यसको प्रयोगमा समेत कृषकको आकर्षण बढ्न थालेको हो।

गड्यौले मल जैविक पदार्थलाई विशेष प्रकारका गड्यौलाको सहायताले कुहाएर तयार गरिने जैविक मल हो। गाईभैंसीको गोबर, तरकारीका छिल्का, फलफूलका बोक्रा, पात र केराको थामजस्ता जैविक पदार्थ यसको उत्पादनमा प्रयोग गर्न सकिन्छ। यस्ता पदार्थको उचित व्यवस्थापन गरी मल उत्पादन गर्दा घरायसी तथा कृषि गतिविधिबाट निस्कने जैविक फोहोरलाई उपयोगी स्रोतमा रूपान्तरण गर्न सकिन्छ।

गड्यौले मलमा बिरुवाको वृद्धिका लागि आवश्यक विभिन्न पोषक तत्त्व पाइने भएकाले यसले माटोको गुणस्तर सुधार गर्न र खेतीपातीमा जैविक पदार्थको मात्रा बढाउन सहयोग पुर्‍याउँछ। रासायनिक मलको अत्यधिक प्रयोगबाट माटोको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक असर न्यूनीकरण गर्न पनि यसको प्रयोग उपयोगी हुन सक्छ।

यही सम्भावनालाई ध्यानमा राख्दै वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गड्यौले मलको व्यावसायिक उत्पादनलाई प्राथमिकता दिएको छ। सहकारीले कृषकलाई गड्यौला पालनसम्बन्धी तालिम, आवश्यक बीउ तथा उत्पादनका लागि चाहिने सामग्री उपलब्ध गराउनुका साथै उत्पादित मलको बजारीकरणमा समेत सहयोग गर्दै आएको छ।

मासिक छ हजार केजीसम्म गड्यौले मल उत्पादन

२०७७ सालमा स्थापना भएको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले २०७९ सालदेखि गड्यौले मलको व्यावसायिक उत्पादन विस्तार गर्न कृषकलाई प्रोत्साहित गर्न थालेको हो।

सहकारीका अध्यक्ष यामबहादुर गुरुङका अनुसार सुरुवाती चरणमा सहकारीमा आबद्ध शेयर सदस्य तथा अगुवा गरी २६० जना कृषकलाई गड्यौला पालनसम्बन्धी तालिम दिइएको थियो। तालिमपछि कृषकलाई गड्यौलाको बीउ र गड्यौला पालनका लागि आवश्यक पिटसमेत उपलब्ध गराइएको थियो।

सहकारीले आफैँ जग्गा भाडामा लिएर गड्यौले मल तथा गड्यौलाको बीउ उत्पादन गर्दै आएको छ। वालिङ–८ स्थित खेलमैदान नजिकै पाँच वर्षका लागि तीन रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरिएको उत्पादन केन्द्रमा ठूला २७ र साना १८ गरी ४५ वटा पिट छन्।

अध्यक्ष गुरुङका अनुसार उक्त केन्द्रबाट मासिक करिब छ हजार केजी र वार्षिक ६५ हजारदेखि ७५ हजार केजीसम्म गड्यौले मल उत्पादन हुँदै आएको छ।

सहकारीले उत्पादित मल शेयर सदस्यलाई प्रतिकेजी ३० रुपैयाँ र अन्य उपभोक्तालाई प्रतिकेजी ३५ रुपैयाँमा बिक्री गर्दै आएको छ। गड्यौलाको बीउसमेत बिक्री हुने भएकाले सहकारीसँग आबद्ध कृषकले मल र बीउ दुवैबाट आम्दानी गर्न सक्ने व्यवस्था मिलाइएको छ।

“सुरुका दिनमा कृषकलाई गड्यौले मलको महत्त्व बुझाउन समस्या थियो। अहिले यसको उपयोगिता बुझेपछि मागअनुसार मल पुर्‍याउनसमेत हम्मेहम्मे पर्न थालेको छ,” अध्यक्ष गुरुङले भन्नुभयो।

सहकारीमा आबद्ध कृषकले उत्पादन गरेको मल आफ्नै खेतबारीमा प्रयोग गर्न सक्छन्। आफूलाई आवश्यक पर्नेभन्दा बढी उत्पादन भएमा बिक्री गरेर आम्दानी लिन सक्ने व्यवस्था पनि सहकारीले मिलाएको छ। कृषक आफैँले बिक्री गर्न नसकेको मल सहकारीमार्फत बजारीकरण गर्ने गरिएको छ।

“रासायनिक मलको जथाभावी प्रयोगले माटोको उर्वराशक्ति बिग्रिँदै गएको छ,” अध्यक्ष गुरुङले भन्नुभयो, “रासायनिक मलको अत्यधिक प्रयोग न्यूनीकरण गर्दै माटोको स्वास्थ्य जोगाउने र वातावरण संरक्षण गर्ने उद्देश्यले हामीले गड्यौले मल उत्पादनलाई अगाडि बढाएका हौँ।”

गड्यौले मलको व्यावसायिक उत्पादन र प्रवर्द्धनमा वालिङ नगरपालिका, कृषि विकास कार्यालय स्याङ्जा, हेफर इन्टरनेशनल, आस्क नेपाल र आईडीई नेपाललगायत संस्थाले आर्थिक, प्राविधिक तथा बजारीकरणसम्बन्धी सहयोग गर्दै आएका छन्।

गड्यौले मल प्रयोग गर्दा उत्पादन दोब्बर भएको कृषकको अनुभव

स्याङ्जाको वालिङमा सुरु भएको गड्यौला पालनको अभ्यास अन्य जिल्लाका कृषकका लागि समेत प्रेरणाको स्रोत बन्दै गएको छ। गड्यौले मलको उपयोगिता र व्यावसायिक सम्भावनाबारे जानकारी पाएपछि अन्य जिल्लाका कृषकले पनि यसको उत्पादन सुरु गर्न थालेका छन्।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३, कुश्माचोकका हृदयश बर्मा यसको उदाहरण हुनुहुन्छ। एकीकृत हातेमालो समाज नेपालमा आबद्ध व्यावसायिक कृषक बर्माले वालिङमा गड्यौला पालनको अवलोकन गरेपछि आफ्नै ठाउँमा यसको उत्पादन सुरु गर्नुभएको हो।

उहाँले झन्डै १२ कट्ठा क्षेत्रफलमा व्यावसायिक रूपमा काँक्रो खेती गर्दै आउनुभएको छ। काँक्रो खेतीमा रासायनिक मल प्रयोग गर्दा अपेक्षित उत्पादन नपाएपछि गड्यौले मलको प्रयोग गर्न थाल्नुभएको उहाँको भनाइ छ।

“काँक्रो खेतीमा रासायनिक मल प्रयोग गर्दा उत्पादन खासै राम्रो भएन। गड्यौले मल प्रयोग गरेपछि उत्पादन दोब्बर भयो र माटोको उर्वराशक्ति पनि बढेको महसुस गरेको छु,” बर्माले भन्नुभयो।

हाल उहाँले आफ्नै खेतीका लागि आवश्यक पर्ने गड्यौले मल उत्पादन गरिरहनुभएको छ। आगामी दिनमा उत्पादन बढाएर आफूलाई चाहिने मल प्रयोग गर्ने र बाँकी बिक्री गर्ने उहाँको योजना छ।

गाउँघरमा गाईगोरु तथा भैंसी पाल्ने चलन घट्दै जाँदा खेतबारीका लागि आवश्यक गोबर मलको उपलब्धता पनि प्रभावित भएको उहाँको अनुभव छ। यस्तो अवस्थामा गड्यौला पालन खेतीका लागि मल उत्पादन गर्ने वैकल्पिक उपाय बन्न सक्ने उहाँको भनाइ छ।

“खेतीपातीका लागि मल आवश्यक छ। गाईभैंसी पाल्ने क्रम घट्दै जाँदा गोबर मल पाउन पनि कठिन हुन थालेको छ। त्यसैले गड्यौला पालन उपयुक्त लाग्यो। वालिङमा गएर हेरेपछि गाउँ फर्किएर सुरु गरेँ। अहिले गाउँमा पनि गड्यौला पालन गर्ने कृषक बढ्दै हुनुहुन्छ,” बर्माले भन्नुभयो।

पित्लेकका कृषक पनि गड्यौला पालनमा

स्याङ्जाको वालिङ–५, पित्लेकस्थित जनकल्याण कृषि सहकारी संस्थामा आबद्ध कृषकले पनि गड्यौला पालन गर्दै आएका छन्। कृषिको पकेट क्षेत्रका रूपमा परिचित पित्लेकका कृषकले मुख्यतः तरकारी खेतीमा प्रयोग गर्न गड्यौले मल उत्पादन गर्ने गरेका छन्।

सहकारीका व्यवस्थापक एवं अगुवा कृषक हुमनाथ लामिछानेका अनुसार संस्थामा आबद्ध आठदेखि १० जना कृषकले गड्यौला पालन गरिरहेका छन्।

कृषकले उत्पादन गरेको मलको केही हिस्सा आफ्नै खेतबारीमा प्रयोग गर्ने र बाँकी वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थालाई प्रतिकेजी ३० रुपैयाँका दरले बिक्री गर्ने गरेका छन्।

लामिछानेका अनुसार गड्यौलाको बीउ प्रतिकेजी एक हजार ७०० रुपैयाँमा बिक्री हुने गरेको छ। यसबाट कृषकले मल बिक्रीबाट हुने आम्दानीका अतिरिक्त गड्यौलाको बीउ बेचेर समेत आम्दानी लिन सक्छन्।

उहाँ आफैँले तीनवटा पिटबाट वार्षिक पाँच हजार केजीभन्दा बढी गड्यौले मल उत्पादन गर्दै आउनुभएको छ। मलसँगै गड्यौलाको बीउ बिक्री गरेर पनि आम्दानी हुने गरेको उहाँले बताउनुभयो।

गड्यौले मलको प्रयोगले माटोमा जैविक पदार्थ थप्न, माटोको संरचना सुधार गर्न र बालीलाई आवश्यक पोषक तत्त्व उपलब्ध गराउन सहयोग पुग्ने भएकाले कृषकको आकर्षण बढिरहेको लामिछानेको भनाइ छ।

अध्ययन र सिकाइको केन्द्र बन्दै वालिङ

गड्यौले मलको व्यावसायिक उत्पादन विस्तार भएसँगै वालिङ कृषकका लागि सिकाइ तथा अनुभव आदानप्रदान गर्ने केन्द्रका रूपमा समेत विकास हुँदै गएको छ। गड्यौला पालनको प्रविधि, उत्पादन प्रक्रिया र बजारीकरणबारे जानकारी लिन विभिन्न स्थानका कृषक समूह तथा सङ्घसंस्था यहाँ पुग्ने गरेका छन्।

वालिङमा सिकेको सीप आफ्नै ठाउँमा प्रयोग गर्न थालेका कृषकको सङ्ख्या बढ्दै गएपछि गड्यौले मल तथा गड्यौलाको बीउ उत्पादनसम्बन्धी अध्ययन पाठशालाका रूपमा विकास गर्ने योजना बनाइएको सहकारीका अध्यक्ष गुरुङले बताउनुभयो।

वालिङ–८ का व्यावसायिक कृषक फालचन्द्र कोइरालाले पनि बजारबाट गड्यौले मल किनेर तरकारी खेतीमा प्रयोग गर्दै आउनुभएको थियो। पछिल्लो समय उहाँले आफैँ गड्यौला पालन सुरु गर्नुभएको छ।

बजारबाट मल खरिद गरेर खेती गर्दै आएका कृषक आफैँ उत्पादनमा लाग्नुले गड्यौला पालनप्रति बढ्दो आकर्षणलाई देखाउँछ। यसले खेतीपातीमा आवश्यक मलको केही हिस्सा आफैँ उत्पादन गर्न र अतिरिक्त उत्पादन बिक्री गरेर आम्दानी लिन सकिने सम्भावनासमेत देखाएको छ।

जैविक फोहोरको सदुपयोगदेखि माटोको स्वास्थ्यसम्म

गड्यौले मल उत्पादन कृषकका लागि मलको वैकल्पिक स्रोत र आम्दानीको माध्यम मात्र होइन, जैविक फोहोरको व्यवस्थापनसँग पनि जोडिएको छ। घर तथा कृषि गतिविधिबाट निस्कने सड्नेगल्ने जैविक पदार्थलाई छुट्याएर उचित तरिकाले प्रशोधन गर्न सके त्यसलाई उपयोगी कृषि सामग्रीका रूपमा रूपान्तरण गर्न सकिन्छ।

यसले जैविक फोहोरको सदुपयोग, माटोमा जैविक पदार्थको मात्रा वृद्धि र खेती प्रणालीलाई थप दिगो बनाउन सहयोग पुर्‍याउन सक्छ। तर गड्यौले मलको उत्पादन तथा प्रयोग गर्दा कच्चा पदार्थको उचित व्यवस्थापन, उत्पादन प्रक्रियाको स्वच्छता र मलको गुणस्तरमा ध्यान दिन आवश्यक हुन्छ।

त्यसैगरी, गड्यौले मललाई सबै अवस्थामा रासायनिक मलको पूर्ण विकल्पका रूपमा मात्र बुझ्नु उपयुक्त हुँदैन। बालीको आवश्यकता, माटोको अवस्था र पोषक तत्त्वको उपलब्धताका आधारमा जैविक तथा रासायनिक मलको सन्तुलित प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ।

स्याङ्जाको वालिङमा सहकारीमार्फत सुरु भएको गड्यौले मल उत्पादनले कृषकलाई मलको वैकल्पिक स्रोत उपलब्ध गराउनुका साथै कृषि उद्यमशीलताको नयाँ सम्भावना पनि देखाएको छ। उत्पादन, बजारीकरण र प्राविधिक सहयोगलाई थप व्यवस्थित बनाउन सके गड्यौला पालनले माटोको स्वास्थ्य सुधार, जैविक फोहोरको सदुपयोग र कृषकको आयआर्जनमा दीर्घकालीन योगदान पुर्‍याउन सक्छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार