
काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरभित्रका सार्वजनिक शौचालयको सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित, प्रभावकारी र दिगो बनाउन इच्छुक सेवा प्रदायक सँग प्रस्ताव तथा सुझाव माग गरेको छ।
महानगरपालिकाको सहरी योजना आयोगको सचिवालयले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापनमा संलग्न हुन इच्छुक फर्म, कम्पनी तथा संघसंस्था लाई रुचिपत्र आह्वान गरेको हो।
महानगरपालिकाका सार्वजनिक शौचालयको सञ्चालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले सेवाप्रदायकहरूको उपलब्धता, अनुभव, क्षमता र सुझावका आधारमा भविष्यमा अवलम्बन गरिने सेवा सञ्चालनको ढाँचा तथा योजना तयार गर्न प्रस्ताव माग गरिएको सूचनामा उल्लेख छ।
सूचना अनुसार इच्छुक सेवाप्रदायकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको लिङ्क मार्फत आवेदन दिनुपर्नेछ।
महानगरपालिकाले सार्वजनिक शौचालयको सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन सेवाप्रदायकहरूको अनुभव र क्षमताका आधारमा भावी सञ्चालन प्रणालीको योजना तयार गर्न लागेको हो। यसका लागि सार्वजनिक शौचालय सञ्चालन सम्बन्धी अनुभव भएका संस्था तथा कम्पनी बाट सुझाव समेत माग गरिएको छ।
सार्वजनिक शौचालय सहरी सरसफाइ, जनस्वास्थ्य र वातावरणीय स्वच्छतासँग प्रत्यक्ष जोडिएको आधारभूत पूर्वाधार हो। यस्ता शौचालयको नियमित सञ्चालन, सरसफाइ, मर्मतसम्भार र प्रभावकारी व्यवस्थापनले सार्वजनिक स्थानको स्वच्छता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।
काठमाडौं महानगरपालिकाले जारी गरेको सूचनामा प्रस्ताव पेस गर्ने सेवा प्रदायकका लागि छुट्टै विस्तृत मापदण्ड वा अन्य सर्तहरू उल्लेख गरिएको छैन। इच्छुक संस्थाले महानगरपालिकाको वेबसाइटमा उपलब्ध गराइएको लिङ्कबाट थप विवरण प्राप्त गर्न सक्नेछन्।
प्रस्ताव तथा सुझाव सम्बन्धी थप जानकारीका लागि काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगको सचिवालय, काठमाडौं प्लाजा, कमलादीमा सम्पर्क गर्न सकिनेछ। यसका साथै cpc@kathmandu.gov.np इमेल मार्फत वा महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np बाट पनि जानकारी लिन सकिनेछ।
महानगरपालिकाले २०८३ कात्तिक १२ गते पहिलो पटक प्रकाशित गरेको सूचना मार्फत सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापनमा रुचि राख्ने संस्थालाई निर्धारित समयभित्र आवेदन दिन आग्रह गरेको छ।



151 पटक हेरिएको 

