
काठमाडौं : पूर्वाधार विकास मन्त्रालयका सहसचिव माधवप्रसाद अधिकारीले सरसफाइको क्षेत्रमा काम गर्दा शौचालय निर्माणमा मात्र सीमित नभई समग्र सरसफाइ शृङ्खलाको सुरक्षित व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभएको छ। उहाँले फोहोरपानी प्रशोधनदेखि दिसाजन्य मलमूत्रको सुरक्षित भण्डारण, सङ्कलन, ढुवानी, प्रशोधन र अन्तिम विसर्जनसम्मका सबै चरणमा काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो।
संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (UN-Habitat) र युनिसेफको सहकार्यमा राष्ट्रिय तथ्याङ्क कार्यालयले तयार पारेको ‘नेपालमा खानेपानी तथा सरसफाइको अवस्था’ विषयक प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो।
कार्यक्रममा प्रस्तुत प्रतिवेदन अनुसार नेपालमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइ सेवा प्रयोग गर्ने जनसङ्ख्या ३९.९ प्रतिशत मात्रै छ। सुधारिएको सरसफाइ र सुरक्षित रूपमा व्यवस्थापन गरिएको सरसफाइबीच ५२.९ प्रतिशत बिन्दुको अन्तर रहेको प्रतिवेदनले देखाएको छ।
उक्त अन्तरमध्ये १२.९ प्रतिशत बिन्दु साझा शौचालयको प्रयोग सँग र ४० प्रतिशत बिन्दु दिसाजन्य मलमूत्रको सुरक्षित सङ्कलन तथा प्रशोधनसँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ। यसले शौचालयमा पहुँच स्थापित हुँदैमा सुरक्षित सरसफाइ सुनिश्चित नहुने र दिसाजन्य मलमूत्रको व्यवस्थापनमा थप काम गर्नुपर्ने आवश्यकता देखाएको छ।

सहसचिव अधिकारीले सुरक्षित सरसफाइका लागि शौचालयको पहुँच मात्र पर्याप्त नहुने बताउनुभयो। “सुरक्षित सरसफाइका लागि शौचालयको पहुँच हुनु मात्रै पर्याप्त हुँदैन। दिसाजन्य मलमूत्रलाई सुरक्षित रूपमा भण्डारण, सङ्कलन, ढुवानी र प्रशोधन गरी अन्तिम व्यवस्थापन गर्न आवश्यक हुन्छ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार सरसफाइका सबै चरणलाई व्यवस्थित र सुरक्षित बनाउन सके मात्रै सरसफाइ सेवाबाट अपेक्षित लाभ हासिल गर्न सकिन्छ। त्यसैले शौचालय निर्माणसँगै फोहोरपानी तथा दिसाजन्य मलमूत्रको सुरक्षित व्यवस्थापनलाई पनि प्राथमिकतामा राख्न आवश्यक छ।
खानेपानीमा इकोलीको जोखिम कायमै
प्रतिवेदनले नेपालमा खानेपानीको गुणस्तरका क्षेत्रमा समेत चुनौती कायमै रहेको देखाएको छ। प्रतिवेदनअनुसार खानेपानीका स्रोत परीक्षण गर्दा ४६.१ प्रतिशत नमुनामा इकोली ब्याक्टेरिया भेटिएको छ। घरपरिवारले उपभोग गर्ने खानेपानीका नमुनामा भने यस्तो दर ६१.२ प्रतिशत रहेको छ।
खानेपानीका स्रोतको तुलनामा घरपरिवारले उपभोग गर्ने पानीमा इकोली ब्याक्टेरिया भेटिने दर बढी हुनुले पानीको गुणस्तर सुनिश्चित गर्न थप ध्यान दिनुपर्ने देखाउँछ। पानीको स्रोतमा मात्र नभई सङ्कलन, भण्डारण, वितरण र उपभोगका विभिन्न चरणमा समेत पानी दूषित हुन सक्ने भएकाले खानेपानीको सुरक्षित व्यवस्थापन आवश्यक हुन्छ।

सहसचिव अधिकारीले खानेपानीमा इकोली ब्याक्टेरिया भेटिएको तथ्याङ्कले जनस्वास्थ्यको क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने अवस्था देखाएको बताउनुभयो।
खानेपानीको पहुँच विस्तारसँगै यसको गुणस्तर सुनिश्चित गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको प्रतिवेदनले देखाएको छ। सुरक्षित खानेपानी र सरसफाइको अभावले जनस्वास्थ्यमा पार्न सक्ने असर न्यूनीकरण गर्न पूर्वाधार निर्माणसँगै तिनको प्रभावकारी व्यवस्थापन र नियमित अनुगमन आवश्यक देखिन्छ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार ‘नेपालमा खानेपानी तथा सरसफाइको अवस्था’ विषयक प्रतिवेदन राष्ट्रिय जनगणना २०६८ र २०७८ तथा नेपाल बहुसूचक सर्वेक्षण २०७६ र २०८१/८२ लगायतका तथ्याङ्कमा आधारित छ। प्रतिवेदनले नेपालमा खानेपानी तथा सरसफाइको अवस्थालाई तथ्याङ्कका आधारमा विश्लेषण गर्दै सुरक्षित खानेपानी र सरसफाइ सेवाको पहुँच तथा व्यवस्थापनमा रहेका चुनौती उजागर गरेको छ।


211 पटक हेरिएको 

