सरसफाइकर्मीको स्वास्थ्य सुरक्षाका लागि सप्तरीमा तालिम

पाँच स्थानीय तहका सरसफाइकर्मीलाई पेशागत जोखिम, संक्रमण रोकथाम र सुरक्षा सामग्रीको प्रयोगबारे प्रशिक्षण

  वास खबर सम्बाददाता  151 पटक हेरिएको
🔗
135
Shares

सप्तरी : सरसफाइको काम आफैँमा जोखिमपूर्ण पेशा हो। ढल, नाला, शौचालय तथा सेफ्टी ट्यांकी सफाइका क्रममा सरसफाइकर्मीहरू विभिन्न प्रकारका संक्रमणजन्य रोग र स्वास्थ्य जोखिमको सामना गर्न बाध्य हुन्छन्। तर कामको प्रकृतिअनुसार आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग र सुरक्षित कार्य अभ्यासमा भने पर्याप्त ध्यान पुग्न सकेको छैन।

यही अवस्थालाई मध्यनजर गर्दै सप्तरीका पाँचवटा स्थानीय तहका सरसफाइकर्मी तथा निजी क्षेत्रमा कार्यरत सरसफाइ श्रमिकहरूका लागि पेशागत स्वास्थ्य तथा सुरक्षा सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ।

महुली सामुदायिक विकास केन्द्र (MCDC) र welthungerhilfe (WHH) को सहकार्यमा सञ्चालित परियोजना अन्तर्गत आयोजना गरिएको तालिममा सप्तकोशी, कञ्चनरूप, अग्निसाइर कृष्णासवरण, रुपनी र शम्भुनाथ नगरपालिकाका सरसफाइकर्मी, सरसफाइ गाडीका चालक, विद्यालयमा कार्यरत सरसफाइ कर्मचारी तथा निजी क्षेत्रमा सेफ्टी ट्यांकी सफाइ गर्ने श्रमिकहरूको सहभागिता रहेको थियो।

तालिमको सहजीकरण महुली सामुदायिक विकास केन्द्रका प्राविधिक अधिकृत ओमप्रकाश पण्डितले गर्नुभएको थियो। उहाँका अनुसार सरसफाइ श्रमिकहरूलाई आफ्नो कामका क्रममा आइपर्ने स्वास्थ्य जोखिमबारे सचेत गराउनु र सुरक्षा सामग्रीको सही प्रयोग गर्न सक्षम बनाउनु तालिमको मुख्य उद्देश्य थियो।

सरसफाइकर्मीहरूले काम गर्दा प्रत्यक्ष रूपमा मानव दिसाजन्य फोहोर, दूषित पानी र विभिन्न प्रकारका रोगजन्य जीवाणुको सम्पर्कमा आउनुपर्ने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई विशेष प्राथमिकता दिनुपर्ने उहाँले बताउनुभयो।

तालिममा अग्निसाइर कृष्णासवरण गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत कमल चौधरीले सरसफाइ कार्यका क्रममा श्रमिकहरूमा हुन सक्ने संक्रमणजन्य रोग, स्वास्थ्य जोखिम र त्यसबाट बच्ने उपायबारे जानकारी गराउनुभयो। उहाँले व्यक्तिगत सरसफाइ, स्वास्थ्य सावधानी र सुरक्षाका उपाय अपनाएर मात्र सरसफाइको काम गर्नुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी, परियोजना संयोजक चन्द्रनारायण चौधरीले मानव दिसाजन्य फोहोरलाई जथाभावी खोला, नाला तथा जंगलमा विसर्जन गर्दा मानव स्वास्थ्य र वातावरणमा पर्ने नकारात्मक असरबारे जानकारी गराउनुभयो। उहाँले अग्निसाइर कृष्णासवरण गाउँपालिका–४, विशाल चोकमा निर्माणाधीन दिसाजन्य लेदो प्रशोधन केन्द्र (FSTP) को उद्देश्य र महत्त्वबारे समेत प्रकाश पार्नुभयो।

दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन सरसफाइको अभिन्न हिस्सा भएको उल्लेख गर्दै उहाँले प्रशोधन केन्द्र सञ्चालनमा आएपछि मानव दिसाजन्य फोहोरको सुरक्षित व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो।

परियोजनाका उद्यम विकास अधिकृत रुपेश चौधरीले प्रशोधन केन्द्रबाट उत्पादन हुने जैविक मलको कृषि क्षेत्रमा उपयोगिता, किसानलाई पुग्ने लाभ तथा यसको व्यावसायिक उत्पादन र बजारीकरणको सम्भावनाबारे जानकारी गराउनुभयो।

कार्यक्रममा WHH का प्राविधिक अधिकृत विकास कर्णले सरसफाइ श्रमिकहरूले कामका क्रममा प्रयोग गर्नुपर्ने व्यक्तिगत सुरक्षा सामग्री (PPE) को महत्त्व, सही प्रयोग र त्यसबाट प्राप्त हुने फाइदाबारे सहजीकरण गर्नुभयो। उहाँले खेल तथा व्यावहारिक अभ्यासमार्फत सुरक्षा सामग्रीको प्रयोग गर्ने तरिका र आवश्यकताबारे सहभागीलाई जानकारी गराउनुभयो।

तालिमको समापन गर्दै महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभुनारायण चौधरीले समाजलाई स्वच्छ र स्वस्थ राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सरसफाइ श्रमिकहरूको स्वास्थ्य तथा सुरक्षा पहिलो प्राथमिकतामा हुनुपर्ने बताउनुभयो।

उहाँले मधेश प्रदेशकै पहिलो दिसाजन्य लेदो प्रशोधन केन्द्र चाँडै सञ्चालनमा आउने जानकारी दिँदै उक्त केन्द्रमा दिसाजन्य लेदो ल्याउने सेफ्टी ट्यांकी सफाइ श्रमिकहरूलाई परियोजनाका तर्फबाट एक–एक सेट व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तालिमबाट सहभागीहरूले पेशागत स्वास्थ्य जोखिम, संक्रमणजन्य रोगको रोकथाम, व्यक्तिगत सुरक्षा सामग्रीको सही प्रयोग र सुरक्षित कार्य अभ्यासबारे व्यावहारिक ज्ञान हासिल गरेका छन्। साथै, मानव दिसाजन्य फोहोरको सुरक्षित व्यवस्थापन, दिसाजन्य लेदो प्रशोधन केन्द्रको महत्त्व तथा प्रशोधित जैविक मलको कृषि क्षेत्रमा उपयोगिताबारे समेत जानकारी प्राप्त गरेका छन्।

तालिमले सरसफाइकर्मीहरूमा आफ्नो स्वास्थ्य र सुरक्षाप्रति सचेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित, व्यवस्थित र मर्यादित सरसफाइ सेवा प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको प्राविधिक अधिकृत ओमप्रकाश पण्डितले बताउनुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार