
काठमाडौं : कोशी प्रदेशका चार स्थानीय तहमा खानेपानी र सरसफाइको अवस्था गम्भीर रूपमा कमजोर रहेको पाइएको छ। खानेपानी तथा सरसफाइ क्षेत्रको संयुक्त समता सूचकाङ्क (WASH EI) का आधारमा सङ्खुवासभाको भोटखोला, खोटाङको बराहपोखरी, भोजपुरको हतुवागढी र इलामको माङ्सेबुङ गाउँपालिका गम्भीर अभावको समूहमा परेका हुन्।
राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको ‘नेपालमा खानेपानी तथा सरसफाइको अवस्था’ सम्बन्धी प्रतिवेदन अनुसार यी चारवटै स्थानीय तहमा खानेपानी समता सूचकाङ्क (DWEI) सरसफाइ समता सूचकाङ्क (SEI) भन्दा कम छ। यसले सरसफाइको तुलनामा खानेपानी सेवाको अवस्था कमजोर रहेको देखाउँछ। तर संयुक्त सूचकाङ्कले दुवै क्षेत्रको समग्र अवस्था कमजोर रहेको संकेत गरेकाले खानेपानीसँगै सरसफाइमा पनि सुधार आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ।
प्रतिवेदन अनुसार भोटखोला गाउँपालिकाको खानेपानी समता सूचकाङ्क ०.५१६ र सरसफाइ समता सूचकाङ्क ०.६७६ रहेको छ। यी दुई क्षेत्रलाई समेटेको संयुक्त WASH EI भने ०.५९१ छ।
त्यसैगरी खोटाङको बराहपोखरी गाउँपालिकाको DWEI ०.५१९, SEI ०.६६३ र WASH EI ०.५८७ रहेको छ। भोजपुरको हतुवागढी गाउँपालिकामा खानेपानी समता सूचकाङ्क ०.५२२, सरसफाइ समता सूचकाङ्क ०.६६७ र संयुक्त सूचकाङ्क ०.५९० छ।
इलामको माङ्सेबुङ गाउँपालिकाको खानेपानी समता सूचकाङ्क ०.४९४ रहेको छ। सरसफाइ समता सूचकाङ्क ०.६९६ र संयुक्त WASH EI ०.५८७ रहेको प्रतिवेदनमा उल्लेख छ। चारवटै स्थानीय तहको तथ्याङ्क हेर्दा खानेपानीको सूचकाङ्क सरसफाइको भन्दा कम देखिन्छ।

प्रतिवेदनले राष्ट्रिय जनगणना २०६८ र २०७८ र नेपाल बहुसूचक सर्वेक्षण (MICS) २०२४/२५ को तथ्याङ्क प्रयोग गरेको छ। जनगणनाबाट प्राप्त स्थानीय तहगत विवरणलाई MICS मा देखिएको सेवा अवस्था सम्बन्धी सम्बन्ध र संक्रमण सम्भाव्यता (Transition Probability) का आधारमा विश्लेषण गरी स्थानीय तहको सेवा स्तर अनुसार जनसङ्ख्याको वितरण अनुमान गरिएको हो। त्यसपछि उपलब्ध राष्ट्रिय तथा उपराष्ट्रिय तथ्याङ्कसँग मिलान गरी सूचकाङ्क निकालिएको जनाएको छ।
देशभरका ५७ स्थानीय तह गम्भीर अभावको समूहमा
प्रतिवेदनले देशभरका ५७ स्थानीय तहलाई खानेपानी र सरसफाइको गम्भीर एकीकृत अभाव भएको समूहमा वर्गीकरण गरेको छ। यो संख्या देशका कुल स्थानीय तहको ७.६ प्रतिशत हो। ती स्थानीय तहको संयुक्त WASH EI ०.३७६ देखि ०.६०० भन्दा कम रहेको छ। प्रतिवेदनले यस समूहमा रहेका स्थानीय तहमा खानेपानी र सरसफाइ दुवै क्षेत्रमा तत्काल तथा समन्वित सहयोग आवश्यक रहेको औँल्याएको छ।
प्रदेशगत रूपमा हेर्दा कोशीमा ४, मधेशमा ९, बागमतीमा ३, गण्डकीमा ३, लुम्बिनीमा ५, कर्णालीमा १८ र सुदूरपश्चिममा १५ स्थानीय तह यो समूहमा परेका छन्। कर्णालीमा सबैभन्दा धेरै १८ र सुदूरपश्चिममा १५ स्थानीय तह गम्भीर अभावको समूहमा रहेका छन्।
समता सूचकाङ्कले के देखाउँछ?
प्रतिवेदनमा प्रयोग गरिएका DWEI, SEI र WASH EI प्रतिशत होइनन्। यी सूचकाङ्कले स्थानीय तहमा खानेपानी र सरसफाइ सेवाको अवस्था तथा त्यसमा रहेको असमानतालाई तुलनात्मक रूपमा देखाउँछन्। सूचकाङ्कको अङ्क उच्च हुनुको अर्थ सेवा अवस्था तुलनात्मक रूपमा राम्रो हुनु र न्यून हुनुको अर्थ कमजोर हुनु हो।
खानेपानी समता सूचकाङ्कले खानेपानी सेवाको अवस्था, सरसफाइ समता सूचकाङ्कले सरसफाइ सेवाको अवस्था र संयुक्त WASH EI ले यी दुवै क्षेत्रको समग्र अवस्था देखाउँछ। यसबाट कुन स्थानीय तहमा कुन क्षेत्रमा बढी सुधार आवश्यक छ भन्ने पहिचान गरी योजना, बजेट र कार्यक्रम लक्षित गर्न सहयोग पुग्छ।
कोशीका चार स्थानीय तहको तथ्याङ्कले खानेपानी सेवामा तुलनात्मक रूपमा बढी चुनौती रहेको देखाए पनि दुवै क्षेत्रलाई सँगसँगै सुधार गर्नुपर्ने आवश्यकता औँल्याएको छ। त्यसका लागि खानेपानी सेवाको पहुँच र गुणस्तर सुधारसँगै शौचालयको प्रयोग, दिसाजन्य लेदोको सुरक्षित व्यवस्थापन, फोहोरपानी प्रशोधन तथा सरसफाइ सेवाको दिगो व्यवस्थापनमा ध्यान दिनुपर्ने देखिन्छ।
कुनै स्थानीय तहको खानेपानी सूचकाङ्क सरसफाइको भन्दा कम छ भने त्यहाँ खानेपानी क्षेत्रमा तुलनात्मक रूपमा बढी चुनौती छ। सरसफाइको सूचकाङ्क कम छ भने सरसफाइ क्षेत्रमा बढी ध्यान दिनुपर्छ। दुवै कमजोर छन् भने दुवै क्षेत्रमा एकीकृत लगानी र सुधार आवश्यक हुन्छ।
स्रोत : Water Supply and Sanitation Situation in Nepal, अध्याय ५, खण्ड ५.८


175 पटक हेरिएको 

