सिद्धार्थ नगरपालिकालाई सर्वोच्चको आदेश : डन्डा नदीमा फोहोर नफाल

  वास खबर समाचारदाता  51 पटक हेरिएको
🔗
17
Shares

काठमाडौं : रुपन्देहीको भैरहवास्थित डन्डा नदीमा फोहोर फाल्न सर्वोच्च अदालतले सिद्धार्थनगर नगरपालिकालाई रोक लगाएको छ। नगरपालिकाले नगरभित्रबाट सङ्कलन गरेको फोहोर नदी क्षेत्रमा विसर्जन गर्दै आएको विषयमा परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो फैसला सुनाएको हो।

अधिवक्ता विवेक बख्रेल र कानुनकी विद्यार्थी अञ्जली सिलवालले सिद्धार्थनगर नगरपालिकाले नगरको फोहोर डन्डा नदी क्षेत्रमा फालेर वातावरण प्रदूषण गरेको भन्दै १५ चैत २०८२ मा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।

उक्त रिटमाथि ४ वैशाख २०८३ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाल र शान्तिसिंह थापाको इजलासले अन्तरिम आदेश जारी गरेको थियो। बुधबार न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले यसअघि जारी अन्तरिम आदेशलाई निरन्तरता दिँदै अन्तिम फैसला सुनाएको हो।

फैसलासँगै सिद्धार्थनगर नगरपालिकालाई डन्डा नदी क्षेत्रमा फोहोर फाल्न रोक लागेको छ। सर्वोच्चले नगरपालिकालाई सङ्कलित फोहोरमैला अन्य उपयुक्त स्थानमा व्यवस्थापन गर्न तथा नदी क्षेत्रमा फोहोर फाल्ने कार्य भएमा कडा कारबाही गर्नसमेत आदेश दिएको छ।

त्यसैगरी, फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक कानुनी व्यवस्था गर्न पनि सर्वोच्चले सिद्धार्थनगर नगरपालिकालाई निर्देशन दिएको छ।

यस फैसलाले नदी तथा जलस्रोतमा जथाभावी फोहोर विसर्जन गर्ने कार्य नियन्त्रण र वातावरण संरक्षणमा स्थानीय तहको जिम्मेवारीलाई थप स्पष्ट पारेको छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार