विश्व शौचालय दिवसमा विद्यार्थी बीच सरसफाइ खजाना खोज्ने र WASH हाजिरी जवाफ प्रतियोगिता

  वास खबर समाचारदाता  52 पटक हेरिएको
🔗
34
Shares

सप्तरी : विश्व शौचालय दिवसको अवसरमा सप्तरीको सप्तकोशी नगरपालिका–४ स्थित श्री विश्वेश्वर बैरागी आधारभूत विद्यालयमा सरसफाइ तथा स्वच्छता सम्बन्धी खजाना खोज्ने (Sanitation and Hygiene Treasure Hunt) र WASH हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

Welthungerhilfe (WHH) र महुली सामुदायिक विकास केन्द्र (MCDC) को सहयोग तथा समन्वयमा सञ्चालित WASH परियोजना अन्तर्गत प्रतियोगिता आयोजना गरिएको हो। विद्यालयको हरित क्लबले कार्यक्रमको व्यवस्थापन तथा सहजीकरण गरेको थियो।

विद्यार्थीहरूमा सरसफाइ, स्वच्छता, शौचालयको उचित प्रयोग तथा व्यक्तिगत र वातावरणीय स्वास्थ्यसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगितात्मक कार्यक्रम आयोजना गरिएको परियोजनाका प्राविधिक अधिकृत इन्जिनियर ओम प्रकाश पण्डितले जानकारी गराउनुभयो।

उहाँका अनुसार कार्यक्रम अन्तर्गत सरसफाइ तथा स्वच्छता खजाना खोज्ने प्रतियोगितामा पाँच जना विद्यार्थी सहभागी भएका थिए। त्यस्तै, WASH हाजिरीजवाफ प्रतियोगितामा पाँचवटा समूह बनाएर प्रत्येक समूहमा पाँच–पाँच जना विद्यार्थी सहभागी गराइएको थियो।

प्रतियोगिताले विद्यार्थीहरूलाई खेल तथा प्रतिस्पर्धाका माध्यमबाट सरसफाइ र स्वच्छता सम्बन्धी ज्ञान हासिल गर्ने अवसर प्रदान गरेको थियो। साथै, विद्यार्थीहरूले आफ्नो तार्किक क्षमता र समूहगत प्रतिस्पर्धात्मक भावना प्रदर्शन गरेका थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन पराजुलीले विद्यार्थीको सिकाइलाई सिर्जनात्मक र व्यवहारिक बनाउन यस्ता कार्यक्रम नियमित रूपमा आयोजना गर्नुपर्ने बताउनुभयो। उहाँले यस्ता गतिविधिले विद्यार्थीहरूको मनोबल, तार्किक क्षमता र सिकाइप्रतिको रुचि बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहकी नाइके शुभासना चौधरीले कार्यक्रमबाट सरसफाइ तथा स्वच्छता सम्बन्धी व्यवहारिक ज्ञान प्राप्त भएको बताइन्। उहाँले भन्नुभयो, “यस कार्यक्रमबाट हामीले आफ्नो घरको शौचालय नियमित रूपमा प्रयोग गर्ने र सफा राख्नुपर्ने कुरा सिकेका छौँ।”

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, वडा अध्यक्ष, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता थियो। कार्यक्रमको संयोजन उद्यम विकास अधिकृत रुपेश चौधरी र प्राविधिक अधिकृत इन्जिनियर ओम प्रकाश पण्डितले गर्नुभएको थियो।

विश्व शौचालय दिवसका अवसरमा आयोजित यस कार्यक्रमले विद्यालय तहबाटै सुरक्षित शौचालयको प्रयोग, सरसफाइ तथा स्वच्छता सम्बन्धी व्यवहार परिवर्तन र स्वच्छ वातावरण निर्माणमा विद्यार्थीहरूको सक्रियता बढाउने अपेक्षा गरिएको छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार