काठमाडौ : ‘तिमीलाई आकाशमा उडेको देख्दा तिमीलाई मन नपराउनेहरुले ढुंगा हान्नेछन् । त्यत्तिबेला तिमी यत्ति माथि उडिदेउ कि मन नपराउनेहरुले हानेको ढुंगा लोप होऊन् ।’ चर्चित भारतीय लेखकको यो भनाई ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्डबोर्ड) को २३ औं बार्षिकोत्सव कार्यक्रममा गुञ्जियो ।
फण्डबोर्ड सञ्चालक समितिका सदस्य सहदेव बोगटीले यो भनाईलाई फण्डबोर्डको भविश्यसँग जोड्दै उच्चारण गर्नुभएको हो । ‘फण्ड बोर्ड यत्ति माथि उचाईमा उडौं कि, मन नपराउनेहरुले हानेको ढुंगाले हामीलाई नभेटुन् ।’ उहाँले भन्नुभयो ।
उहाँले दुश्मनहरुले ढुंगाले हान्दा पनि भेट्न नसक्ने अर्थात वाहावाही कमाएर काम गर्न त्यत्ति सजिलो नरहे पनि अनुभवी एवं इच्छाशक्ति भएका अध्यक्ष र सक्षम कार्यकारी निर्देशक तथा जाँगरिला र भरभराउँदो कर्मचारीबाट यो सम्भव रहेको बताउनुभयो ।
उहाँले फण्डबोर्ड २३ औं बसन्त पार गरेर २४ औं बसन्तमा प्रवेश गरेको उपलक्ष्यमा विघटन जस्तो अप्रिय काल पार गरेर नयाँ जीवन प्राप्त गरेको बताउनुभयो । फण्डबोर्ड अब खास नीजि इच्छा अनुसार नभई जनताको पानी पिउने चाहना अनुरुप अगाडि बढ्ने उहाँले बताउनुभयो ।
‘बोर्डमा नयाँ तरिकाले सल्लाह र बहस चलिरहेको छ । हामीले नयाँ उचाईमा पुराउने प्रण गर्नुपर्छ आज, अब हामी खानेपानी मन्त्रालय तथा विश्व बैंकको सहयोगमा फण्डबोर्डलाई नयाँ उचाईमा पु-याउनेछौं’ उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विकास समिति ऐन वमोजिम गठन भएका सबै विषय क्षेत्रका समितिहरू विघटन गर्ने सरकारको निर्णय पछि विघटन भएको फण्ड बोर्ड हालै पुनर्गठन भएको हो । हाल सञ्चालक समिति गठन भइसकेको छ । हालै विश्व बैकका डाइरेक्टर स्टेभन स्कनबर्गरले समेत फण्डबोर्ड मार्फत सञ्चालित खानेपानी तथा सरसफाइको अनुगमन गरेपछि आफू सन्तुष्ट रहेको बताउनुभएको छ ।
यस्तै खानेपानीमन्त्री सँग गरेको छलफलमा विश्व बैक नेपालको खानेपानीको आपूर्तिका लागि सदैव सहयोग गर्ने बचन दिनुभएको छ ।
बार्षिकोत्सव समारोह खानेपानी मन्त्रालयका सहसचिव एवं ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिका अध्यक्ष मनोज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।


1367 पटक हेरिएको 

