सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाका इञ्जिनियर कपिल श्रेष्ठलाई कुटपिट गर्ने वडा नं. १ ठूलो धादिङका वडा सदस्य दावा दोर्जे तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङलाई काठमाडौबाट पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा बुझाइएको एसपी मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।
श्रेष्ठलाई यही चैत्र १७ गते विवादित योजना सञ्चालनको बिषयलाई लिएर झ्याङ्छुप सेन्पा गुम्बा स्तुपा निर्माण उपभोक्ता समितिका अध्यक्ष दावा ग्याम्छो तामाङ र वडा नं. १ ठूलो धादिङका वडा सदस्य दावा दोर्जे तामाङले कार्यकक्षबाट बाहिर ल्याएर हातपात तथा गालीगलौज गरेका थिए ।
इञ्जिनियर कुटपीटमा संलग्नलाई तत्काल कानुनी कार्वाही गर्न माग गर्दै नेपाल इञ्जिनियर्स एशोसिएसन ३ नं. प्रदेश कार्यकारिणी समितिका सभापति नन्दलाल बञ्जाडेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक पुगेको टोलीसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले कुटपिटमा संलग्नलाई कडा भन्दा कडा कार्वाही हुने र फरार रहेका अर्का अभियुक्तलाई समेत चाँडै गिरफ्तार गरिने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले इञ्जिनियरहरुको सुरक्षाका लागि स्थानीय प्रशासन गम्भीर रहेको बताउनुभयो ।
इञ्जिनियरमाथि कुटपिट भएको भोलिपल्टै लिसंखु पाखर गाउँपालिकामा कार्यरत कर्मचारीहरुले दोषीमाथि कार्वाहीको माग गर्दै गाउँपालिका र वडा कार्यालयबाट सम्पादन हुने कामकाज बन्द गरिएको थियो ।
यस्तै नेपाल इञ्जिनियर्स एशोसियसन ३ नं. प्रदेश कार्यकारिणी समितिले पनि प्रेस विज्ञप्ती प्रकाशित गर्दै दोषी माथि तत्काल कानुनी कारवाही गर्न र राष्ट्रसेवक कर्मचारीहरुको सुरक्षामा ध्यान पु¥याउन माग गरेको थियो । इञ्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एशोसियसनकै दबाबमा लिसंखु पाखर गाउँपालिका वडा नं. १ ठूलो धादिङका वडा सदस्य दावा दोर्जे तामाङ पक्राउ परिसकेका छन् भने झ्याङ्छुप सेन्पा गुम्बा स्तुपा निर्माण उपभोक्ता समितिका अध्यक्ष दावा ग्याम्छो तामाङ फरार छन् ।
फरार अभियुक्तलाई पनि पक्राउ गरी तत्काल कानुनी कार्वाहीको दायरामा ल्याउन एसोसियनले दबाब दिइरहेको छ । घटनाको अनुसन्धान भईरहेको र फरार अभियुक्त पनि पक्राउ पर्ने एसपी मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।





1359 पटक हेरिएको 

