महिनावारी भएको समयमा कसरी सफाइ गर्ने ?

काठमाडौ : हिजोआज महिनावारी स्वच्छताका बिषयमा धेरै कुरा सुनिन्छन् । महिनावारीलाई गोप्य र लाजको बिषय मान्ने हाम्रो संस्कृति बिस्तारै यसको स्वच्छतामा ध्यान दिनुपर्छ भन्ने तहमा पुगेको छ । विभिन्न संघसंस्थाले महिनावारी स्वच्छतालाई बहसको बिषय बनाएका छन् । विद्यालयमा स्यानिटरी प्याड वितरण गर्न थालिएको छ । स्यानिटरी प्याड मात्र बिक्री गर्ने पसल पनि खुलेका छन् ।

अनि घरेलु स्तरमै स्यानिटरी प्याड उत्पादन गर्ने तालिम दिन थालिएको छ । धोएर पटक पटक प्रयोग गर्न सकिने कपडाको प्याड बनाउने तालिम विद्यार्थीले समेत पाएका छन् । बालिका मात्र होइन, प्याड बनाउने काममा बालकहरुको समेत सहभागिता पाइन्छ ।

महिनावारी भएको समयमा कसरी सफाइ गर्ने त ? आउनुहोस् यसै बिषयमा चर्चा गरौं ।

— स्यानिटरी प्याड अथवा सफा नरम कपडा मात्र प्रयोग गर्ने

— सुरक्षित किमिसमका स्यानिटरी प्याडहरु घरमै पनि निर्माण गरी प्रयोग गर्न सकिन्छ ।

— प्रयोग गरिरहेको स्यानिटरी प्याड वा कपडा बढीमा ६ घण्टा सम्म मात्र राख्ने ।

— प्रयोग भइसकेको स्यानिटरी प्याडको सुरक्षित व्यवस्थापन गर्ने । प्याडलाई ढक्कन सहितको डस्टबिनमा फाल्ने र पछि जलाउने ।

— पुनः प्रयोग गर्न सकिने प्याड वा कपडालाई प्रयोग गरेपछि राम्रोसँग साबुनपानीले धुने र पारिलो घाम लाग्ने ठाउँ वा डोरीमा सुकाउने, साथै भित्री लुगा पनि फेर्ने र सफा गर्ने ।

— स्यानिटरी प्याड वा कपडा प्रयोग गरेपछि वा फेरेपछि साबुन पानीले मिचीमिची हात धुने ।

— महिनावारीको समयमा सकेसम्म दैनिक नुहाउने, नभए गोप्य अंगलाई राम्ररी सफा गर्ने ।

— महिनावारी हुँदा पोषिलो तथा झोलिलो खानेकुरा खानुपर्दछ ।

— महिनावारी भएको समयमा तल्लो पेट दुख्ने पनि हुनसक्छ । यस्तो बेला बिश्राम गर्नु राम्रो हुन्छ ।

 

वातावरण र जनस्वास्थ्य संस्थाले तयार पारेको सुचना, शैक्षिक तथा सञ्चार सामग्रीबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार