
सिरहा : सिरहा जिल्लालाई पूर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्न ‘मेरो बाचा अभियान’ सुरु गरिएको छ । खुल्ला दिसामुक्त क्षेत्रको दिगोपना र सन् २०२२ सम्म सिरहा जिल्लालाई पूर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्न मेरो बाचा अभियान चलाईएको हो । अभियानको सुरुवात स्थानीय सरकारसँगै सरोकारवालाले हस्ताक्षर गरी प्रतिबद्धता जनाएका थिए ।
सिरहा प्रदेश २ को पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा भइसक्दा पनि पूर्ण रुपमा शौचालय प्रयोग नभएको भन्दै ‘मेरो बाचा अभियान’ सुरु गरिएको जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरले बताउनुभयो । गत जुन ५ देखि सुरु गरिएको अभियानले पूर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्न सहयोग मिल्ने भन्दै सभापति ठाकुरले स्थानीय सरकारले रणनीति र योजनावद्ध रुपमा अगाडि बढ्नु पर्ने बताउनुभयो ।
२०७४ साल चैत्र ९ गते सिरहालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । खुला दिसामुक्त जिल्ला घोषणा भएको एक वर्ष भन्दा बढी भए पनि जिल्लाका कतिपय स्थानीय तहमा शौचालयको प्रयोग पूर्ण रुपमा हुन सकेको छैन । शौचालय निर्माण भएपनि गाउँ गाउँमा पूर्ण रुपमा प्रयोग हुन नसकेको नरहा गाउँपालिकाका अध्यक्ष रामसरण यादवले बताउनुभयो ।


964 पटक हेरिएको 

