
काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने प्रयोजनका लागि गठित अनुगमन समितिले आजदेखि काम सुरु गरेको छ । काठमाडौ महानगरपालिका भित्र शौचालयको अवस्था र अब गर्नुपर्ने कार्यहरुको सम्बन्धमा अनुगमन गरी जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति काठमाडौमा सुझाव प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको समितिले आजैदेखि काम थालेको समितिका संयोजक हरिदत्त पौडेलले जानकारी दिनुभयो ।
समितिले महानगरपालिकाका पदाधिकारीहरुसँग समन्वय गरिरहेको, विभिन्न वडाका वडाध्यक्षहरुसँग छलफल एवं अनुगमनका लागि समय तय भईरहेको र कार्यविभाजन गरी कामलाई छिटो र छरितो बनाउन अनुगमन समितिको बैठक आव्हान गरिएको संयोजक पौडेलले जानकारी दिनुभयो ।
काठमाडौलाई खुला दिसामुक्त घोषणा गर्ने अभियान तयारीको शीलशीलामा यही साउन ८ गते जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति काठमाडौका अध्यक्ष शिवसुन्दर राजवैद्ययको अध्यक्षतामा बसेको बैठकले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरका प्रमुख हरिदत्त पौडेलको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरिएको थियो ।
काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने सवालमा ठोस कदम चाल्ने बिषयमा जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति काठमाडौका अध्यक्ष शिवसुन्दर राजवैद्य नेतृत्वको टोलीले बिहीबार महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यसँग भेटेर छलफल गरिएको थियो ।


1153 पटक हेरिएको 

