महिनावारी हुँदा किन विद्यालय जाँदैनन् छात्रा ?

बाँके : नेपालगञ्जका अधिकांश सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महिनावारीको समयमा विद्यालय जाँदैनन् । यो समस्या नेपालगञ्जको मात्र होइन, सुदुरपश्चिम र कर्णाली प्रदेशका अधिकांश जिल्लामा यो समस्या व्याप्त छ ।

महिनावारी हुँदा किन विद्यालय जाँदैनन् छात्रा ? यसको कारण केलाउँदा २/४ वटा प्रमुख कारण छन् । विद्यालयमा महिलामैत्री शौचालय नहुनु र भएका शौचालयमा पनि स्यानिटरी प्याड फेर्न तथा सरसफाइका लागि पानीको अभाव हुने भएकाले छात्रा चाहेर पनि विद्यालय जान सक्दैनन् ।

महिनावारी हुँदा विद्यालयमै स्यानिटरी प्याड प्रयोग गर्न सकिने शौचालय भएमा सहजता हुनुका साथै कपडा र प्याड फेर्न घर जानुपर्ने बाध्यता नहुने छात्राको भनाइ छ । “विद्यालयमा महिलामैत्री शौचालय निर्माण, सरसफाइको व्यवस्था र स्यानिटरी प्याडको व्यवस्था भएपछि छात्राले महिनावारी हुँदा विद्यालय छाड्नै पर्दैन”, युद्द विद्यालयकी शिक्षिका मोहिनी योगीको भनाइ छ ।

विशेषतः कक्षा ६ देखि १० सम्मका छात्रालाई स्यानिटरी प्याड र महिलामैत्री शौचालय हुनु आवश्यक हुन्छ । विद्यालयमा छात्राका लागि कपडा र प्याड फेर्न मिल्ने सम्मको शौचालय तयार गरिदिए मात्र पनि धेरै छात्रालाई सजिलो हुने उहाँको सुझाव छ ।

विद्यालय आउन नसक्ने बाध्यताका कारण उनीहरुको अध्ययन प्रभावित हुने गर्छ भने मानसिक पीडाले पनि छात्रालाई पिरोल्ने गरेको छ ।
महिनावारी भएका समयमा कपडा फेर्न तथा स्यानिटरी प्याड प्रयोग गर्न मिल्ने सरसफाइयुक्त शौचालय नभएकाले बाध्य भएर विद्यालय नजाने नसकेको छात्राहरु बताउँछन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित केही सामुदायिक विद्यालयमा अहिले महिलामैत्री शौचालय निर्माण हुदैछन् तर अझै थुप्रै विद्यालयमा महिलामैत्री शौचालय निर्माण हुन सकेको छैन । नेपालगञ्ज उपमहानगरले पञ्चवर्षीय परियोजना अन्तर्गत नगरमा रहेका सामुदायिक विद्यालयमा महिलामैत्री शौचालय निर्माण गर्ने योजना बनाएको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार