
काठमाडौ : खानेपानी मन्त्रालय र मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले आर्थिक वर्ष २०७५/०७६ मा गरेका भौतिक तथा वित्तीय प्रगतिबारे समीक्षा गरेका छन् ।
खानेपानीमन्त्री बिना मगरको अध्यक्षतामा मन्त्रालयको सभाहल सिंहदरबारमा सोमबार बसेको समीक्षा बैठकमा मन्त्रालय मातहत रहेका विभिन्न निकायहरुले गरेका भौतिक र वित्तीय प्रगतिबारे जानकारी गराइएको थियो । बैठकमा राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रतिनिधिहरु समेत सहभागी थिए ।
समीक्षा बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागको आ. व. २०७५/०७६ मा समग्र भौतिक प्रगति ८४ र वित्तीय प्रगति ८१ प्रतिशत रहेको जानकारी विभागका महानिर्देशक सुनिलकुमार दासले जानकारी दिनुभयो । खानेपानी विभाग अन्तर्गत रहेका खानेपानी सेवा नियमन तथा पुनस्र्थापना कार्यक्रमको भौतिक प्रगति ८७ प्रतिशत, खानेपानी गुणस्तर सुधार कार्यक्रमको प्रगति ८८ प्रतिशत, तेस्रो साना सहरी खानेपानी आयोजनाको प्रगति ८९ दशमलब ५८ प्रतिशत र सह लगानी खानेपानी तथा सरसफाइ आयोजनाको प्रगति ८९ प्रतिशत रहेको जानकारी महानिर्देशक दासले दिनुभयो ।
त्यसैगरी राष्ट्रिय गौरवको मेलम्ची आयोजनाको बाँकी रहेको हेडवक्र्स निर्माण र सुरुङको कार्य सम्पन्न गर्न प्राप्त बोलपत्र मुल्यांकनको अन्तिम चरणमा रहेको जानकारी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेलले दिनुभयो । त्यस्तै सुन्दरीजल स्थित भेन्टिलेसन साफ्टको ड्रिल गर्ने काम सकिएको उहाँले बताउनुभयो ।
आ. व. २०७५/०७६ मा ३९ वटा क्रमागत सहलगानीका आयोजनाहरु मध्ये ९ वटा सम्पन्न भई १ लाख ४० हजार ८ सय ९५ जनसंख्या लाभान्वित भएको, तेस्रो साना सहरी खानेपानी आयोजना अन्तर्गत १० वटा आयोजनाहरु सम्पन्न भई १ लाख ३ हजार २ सय २५ जनसंख्या लाभान्वित भएको र खानेपानी गुणस्तर सुधार कार्यक्रम अन्तर्गत निर्माणाधीन २८ वटा आयोजनाहरुमध्ये १० वटा सम्पन्न भई करिब ६३ हजार जनसंख्या लाभान्वित भएको जानकारी मन्त्रालयका सहसचिव तेजराज भट्टले गराउनुभयो ।
समीक्षा बैठकमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको भौतिक प्रगति ८३ प्रतिशत र वित्तीय प्रगति ७८ प्रतिशत रहेको समितिका कार्यकारी निर्देशक लीला प्रसाद ढकालले जानकारी गराउनुभयो ।
यस्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को भौतिक प्रगति ९५ प्रतिशत र वित्तीय प्रगति ९३ प्रतिशत रहेको महाप्रबन्धक डा. महेश भट्टराईले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको भौतिक प्रगति ९९ प्रतिशत र वित्तीय प्रगति ९५ प्रतिशत रहेको छ । बोर्डले गत आर्थिक वर्षमा ३५ स्थानमा बर्षातको पानी संकलन प्रविधि जडान सम्पन्न गरेको, उपत्यकाभित्र १२ स्थानमा खानेपानीको स्रोतको संरक्षण गरेको र उपत्यकाभित्रै १७ किलोमिटर पाइप लाइन विस्तार गर्ने भनिएकोमा २५ कि.मी. विस्तार भएको जानकारी बोर्डका कार्यकारी निर्देशक डा. सञ्जिव विक्रम राणाले दिनुभयो ।
बैठकमा खानेपानी मन्त्री मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्ने उद्देश्यले आगामी योजनाहरु द्रुत गतिमा अगाडि बढाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिनुभयो । उहाँले खानेपानी र सरसफाई जस्तो कुरा जनताको मौलिक अधिकारको विषयसँग जोडिएकाले दीगो विकासका लक्ष्य हासिल गर्न धेरै मेहनत गर्नुपर्ने औंल्याउनुभयो ।
मन्त्री मगरले भन्नुभयो, ‘मन्त्रालयको यो तेस्रो चौमासिक समीक्षा अवधि सन्तोषजनक नै छ तर यतिले मात्रै पुग्दैन । हामीले लक्ष्य पुरा गर्न धेरै संघर्ष गर्नुपर्ने छ । सबै जनतालाई सुरक्षित खानेपानीको सर्व सुलभ पहुँच पु¥याउन स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय गरी अगाडि बढ्नुको विकल्प छैन ।’
आगामी असोज मसान्तसम्म नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने तयारीमा लाग्न मन्त्री मगरले सबैलाई आग्रह गर्नुभयो ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा। दिलबहादुर गुरुङले पुँजीगत खर्च बढाउने गरी कामहरु अघि बढाउन र पन्ध्रौं योजनाका लक्ष्यहरु हासिल गर्ने दिशामा अघि बढ्न आग्रह गर्नुभयो ।


1517 पटक हेरिएको 

