
काठमाडौ : ‘खुला दिसामुक्त राष्ट्र नेपाल’ घोषणा समारोहको प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बनाईने भएको छ । देश नै खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम अन्तराष्ट्रिय समुदायकै लागि ठूलो सन्देश हुने भएकाले राष्ट्रपतिलाई प्रमुख अतिथि बनाईने भएको हो ।
नेपाललाई यही असोज १३ गते खुला दिसामुक्त घोषणा गर्ने मिति तय गरिसकेको छ । खानेपानीमन्त्री बिना मगरको अध्यक्षतामा सरसफाइसँग सरोकारवालाहरु निकायहरुको मंगलबार बसेको बैठकले असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने निर्णय गरिएको खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
नेपाल खुला दिसामुक्त घोषणा कार्यक्रमको सचिवालयले नेपाललाई यही असोज १३ गते खुला दिसामुक्त घोषणा गर्न व्यापक तयारी गरिरहेको छ । यसका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल कुमार दासको संयोजकत्वमा नेपाल ओडिएफ तयारी कार्यसमूह गठन भई विभिन्न कार्यहरु गरिरहेको छ भने यस अन्तर्गत पनि विभिन्न उप समूह निर्माण गरी काम भईरहेको छ ।
हाल राजधानी काठमाडौ सहित १० जिल्ला खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । खुला दिसामुक्त घोषणा गर्न बाँकी सबै जिल्लाले भदौ मसान्तभित्र खुला दिसामुक्त घोषणा गरिसक्ने प्रतिबद्धता जनाईसकेका छन् ।
काठमाडौ, सिन्धुपाल्चोक, सोलुखुम्बु, भोजपुर, महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा र कपिलबस्तुलाई खुला दिसामुक्त घोषणा गर्न बाँकी छ ।
फोटो : देवेन्द्र झाको फेसबुकबाट ।


1641 पटक हेरिएको 

