
जनकपुर : प्रदेश २ को धनुषा र सर्लाही जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । सदरमुकाम मलंगवामा आयोजित खुला दिसामुक्त घोषणा समारोहमा सर्लाहीलाई प्रदेश नम्बर २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल र धनुषालाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभयो ।
सर्लाहीका एक लाख ३५ हजार ३२० घरपरिवारमै चर्पी निर्माण भएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सर्लाहीले जनाएको छ । कार्यक्रममा मन्त्री सोनल सहितका अतिथिहरुले खुला दिसामुक्त क्षेत्रलाई व्यवहारमै कार्यान्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
शौचालय बाहिर शौच गर्दा हुने बेफाइदा नबुझेर जथाभावी शौच गर्ने र थाहा पाउँदा समेत अटेरी गरी शौचालयको प्रयोग नगरेकाहरुलाई शौचालयको नियमित प्रयोग गराउनुपर्ने मन्त्री सोनलको भनाइ थियो।

मलंगवासहित मुख्य बजार क्षेत्र र मानिसको धेरै भीडभाड हुने ठाउँहरुमा सार्वजनिक शौचालय नहुँदा जथाभावी शौच गर्ने गरिएको भन्दै यसतर्फ ध्यान दिनुपर्नेमा अगुवाहरुले जोड दिएका छन् ।खुला दिसामुक्त घोषणा कार्यक्रममा अभियानलाई सफल बनाउन सहयोग गर्ने विभिन्न संघसंस्था र व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
धनुषा पनि आजै खुलादिसामुक्त

धार्मिक सांस्कृति एवं पर्यटकीय दृष्टिकोणले समेत अति महत्वपूर्ण जिल्ला धनुषालाई पनि आजै खुला दिसामुक्त घोषणा गरिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभयो ।

असोज १३ गते देशलाई नै खुला दिसामुक्त घोषणा गर्ने सरकारको योजनालाई सफल पार्न धनुषालाई पनि खुला दिसामुक्त घोषणा गरिएको खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति धनुषाले जनाएको छ ।
खुला दिसामुक्त घोषणा गर्न बाँकी काठमाडौ, महोत्तरी र कपिलबस्तुलाई भोलि मंगलबार खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम छ । सोलुखुम्बुले भने असोज ३ र भोजपुर असोज ४ गते खुला दिसामुक्त घोषणा हुँदैछ ।


1370 पटक हेरिएको 

