
सोम आचार्य, झापा : पूर्ण सरसफाइ अभियानमा संलग्न अभियानकर्मीहरुको लागि तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम झापामा सम्पन्न भएको छ । ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रम र युएन ह्याबिट्याटको आर्थिक सहयोग तथा बिराट सामुदायिक अध्ययन केन्द्र झापाको आयोजनामा सञ्चालित तालिममा खुला दिसामुक्त अवस्थाको दिगोपना, व्यवहार परिवर्तन, क्षमता विकास, महिनावारी स्वच्छता व्यवस्थापन, स्यानिटरी प्याड निर्माणको घरेलु उपाय, सरसफाइमा लैङ्गिक समानता, पूर्ण सरसफाइका चरण, स्वच्छ तथा सफा क्षेत्रका सूचक, नमुना समुदायका बिशेषता साथै सहजीकरणका सीप लगायतका बिषयबस्तु समेटिएका थिए ।
झापामा ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रम र युएन ह्याबिट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा बिराट सामुदायिक अध्ययन केन्द्र झापाले पूर्ण सरसफाइ अभियान सञ्चालन गरिरहेको छ । खुला दिसामुक्त जिल्ला घोषणा सँगै जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले यस अघि नै पूर्ण सरसफाइ अभियानलाई तीव्र गतिमा अगाडि बढाउने निर्णय गरिसकेको छ । झापा नेपालको ६३ औं खुला दिसामुक्त जिल्ला हो ।
जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा प्रशिक्षक प्रशिक्षण तालिमको समापन गरिएको हो । कार्यक्रममा प्रमुख प्रशिक्षक होमनाथ आचार्य तथा सहभागीको तर्फबाट गौरीगञ्ज गाउँपालिकाका खानेपानी तथा सरसफाइ फोकल पर्सन र पूर्ण सरसफाइ सहजकर्ता ज्ञानु राजबंशी लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा पूर्ण सरसफाइ अभियानका टिम लिडर रुद्र सिटौलाले अभियानको लक्ष्य प्राप्तिका लागि संस्थाको तर्फबाट गाउँपालिका तथा नगरपालिकामा निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि पोर्तेलले पूर्ण सरसफाइ अभियान कार्यान्यवनको लागि जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको तर्फबाट गाउँपालिका तथा नगरपालिकाहरुलाई अनुरोध गर्ने जानकारी गराउनुभयो । ‘सुखी र समृद्ध राष्ट्र निर्माणको पहिलो आधार नै पूर्ण सरसफाइ अभियान हो । जिल्ला समन्वय समिति तथा जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको तर्फबाट पूर्ण सरसफाइ अभियान कार्यान्यवनको लागि सहयोग गर्न तयार छ’ उहाँले भन्नुभयो ।

तालिमका सहभागीहरुले पूर्ण सरसफाइ कार्ययोजना समेत तयार गरेका थिए । तालिममा बिर्तामोड , नगरपालिका, कमल गाउँपालिका तथा गौरीगञ्ज गाउँपालिकाका प्रस्तावित नमुना समुदायका सरसफाइ समितिका सदस्यहरुको समेत सहभागिता थियो ।
युएन ह्याबिट्याट नेपालका परार्शदाता होमनाथ आचार्य प्रमुख प्रशिक्षक रहनुभएको प्रशिक्षक प्रशिक्षण तालिममा युएन ह्याबिट्याटका राजेश मानन्दर, दुर्गा नेपाल र बिनोद शर्माले सहजीकरण गर्नु भएको थियो ।



2314 पटक हेरिएको 

