
काभ्रे : काभ्रेको बनेपा नगरपालिका क्षेत्रको पाँच वटा मुहानको पानीलाई एकीकृत गरी लिफ्टिङ प्रणाली मार्फत खानेपानी वितरण गर्न सम्भाव्यता अध्ययन गरिएको छ । बनेपा नगरपालिकाको वडा १४ मा रहेको आशापुरी महादेव मन्दिर हुँदै बग्ने खोलाको पानी, भोटे गैरा खोला, घ्याङ खोला, तेरापाती मूल र वासिङ्टा खोलाको पानीलाई च्यानडाँडामा लिफ्टिङ गरी वितरण गर्ने बिषयमा सम्भाव्यता अध्ययन गरिएको हो ।
सबैतिर छरिएर रहेका सा – साना पानीको स्रोतलाई वडा नं. १४ को सबैभन्दा उच्च ठाउँमा रहेको च्यानडाँडामा लिफ्ट गरेर जम्मा गर्ने र सबै खोलाको पानी जम्मा गर्न सम्भव नभए बोरिङ गरेको पानी समेत एकीकृत गरी वितरण गर्ने बिषयमा छलफल भएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय हेटौडाका प्रमुख नन्द बन्जाडे, सहलगानी खानेपानी आयोजनाका इन्जिनियर ऋषि रिमाल, बनेपा नगरपालिकाकी उपमेयर रेखा दाहाल, बनेपा नगरपालिका १० नं. वडाका अध्यक्ष चन्द्र खड्का, १४ नं. वडाका अध्यक्ष गौरी राउत, सञ्चारमन्त्री गोकुल बाँस्कोटाका स्वकीय सचिव नवराज ढकाल, टिकाराम लामा र स्थानीय बासिन्दा सहितको टोलीले आइतबार खानेपानीको स्रोतमै पुगेर पानीको मापन, छलफल एवं खानेपानी योजना निर्माणको मोडालिटीबारे छलफल गरिएको छ ।

डिपीआर बनाउँदा जनसंख्याको प्रक्षेपण गर्न कन्जुस्याँइ नगर्नुस् : आयोजना प्रमुख बन्जाडे

खानेपानीको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउँदा आगामी २० बर्षमा हुने जनसंख्यालाई आधार मानेर तयार पार्न संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौंडाका प्रमुख नन्द बन्जाडेले आग्रह गर्नुभयो । उहाँले विगत दश बर्षदेखिको जनसंख्याको बृद्धिदर हेरेर भाडामा बस्ने मानिसहरुलाई समेत समावेश गरी डिपीआर बनाउन सुझाव दिनुभयो ।
‘अहिले प्रस्तावित खोलाहरुबाट एकीकृत गरी च्यानडाँडामा जम्मा गर्ने र त्यहाँबाट वाई (Y) आकारमा एकातिर फूलचोकी डाँडा र अर्कोतर्फ सरस्वती टारमा वितरण रिजर्भ्वायर ट्याङ्की बनाएर वितरण गर्न सकिने सम्भावना देखेको छु । यत्तिले मात्र नपुग्न सक्छ । हामीले यसक्षेत्रमा डिप बोरिङ गरेर पनि त्यो पानीलाई एकीकृत गरी वितरण गर्न सकिन्छ’ प्रमुख बन्जाडेले भन्नुभयो ‘भूगर्वविदहरु ल्याएर यस क्षेत्रमा डिप बोरिङ गर्न सकिने नसकिने बारे पनि अध्ययन गरौं, अनि खानेपानी एकीकृत गर्ने बिषयमा पनि खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु, वडाअध्यक्षहरु सम्मिलित एउटा छलफल चाहि आयोजना गरौं ।’
नगरपालिका लागत साझेदारी व्यहोर्न तयार छ : नगर प्रमुख बादे
बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसि बादेले खानेपानी आयोजना निर्माणका लागि नगरपालिकालाई लागत साझेदारी अन्तर्गतको रकम लगानी गर्न कुनै समस्या नहुने बताउनुभयो । उक्त खानेपानी आयोजना सहलगानीको मोडलमा सञ्चालन हुने र सहलगानी अन्तर्गत नगरपालिकाले समेत लागत साझेदारी गर्नुपर्ने जानकारी गराएपछि नगर प्रमुख बादेले उपभोक्ताले व्यहोर्नुपर्ने लगानीको भार समेत गरी ३० प्रतिशत रकम नगरपालिकाले नै लगानी गर्ने बताउनुभयो ।

सहलगानी खानेपानी आयोजना कार्यान्वयन निर्देशिका २०७२ अनुसार मानव विकास सूचकाङ्क कम भएका जिल्लाले बाहेक कुल लागतको कम्तिमा ३० प्रतिशत उपभोक्ता संस्थार ७० प्रतिशत केन्द्रीय सरकारले पूँजीगत लगानी गर्ने प्रावधान छ ।
पानीको स्रोतहरुको स्थलगत अध्ययन पछि बनेपामा आयोजना गरिएको नगर प्रमुख सहितको छलफलमा उहाँले भन्नुभयो ‘जत्ति लगानी गर्नुपर्ने भएपनि त्यो एकै बर्षमा गर्नुपर्ने होइन, यत्ति ठूलो आयोजना सम्पन्न हुनै तीन बर्ष लाग्न सक्छ । बर्षेनी १० प्रतिशतको दरले लगानी गर्न नगरपालिकालाई गाह्रो छैन ।’ खानेपानीको स्रोतहरुलाई एकीकृत गर्ने बिषयमा भने सम्बन्धित वडाका अध्यक्ष एवं सदस्यहरु र सरोकारवालाहरुसँग चाँडै छलफल आयोजना गरी निक्र्यौल निकाल्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘खानेपानीको अभाव झेलिरहेका जनतालाई पानी नखुवाउने भन्ने भएन, यहाँ कसैलाई धेरै भईरहेको छ, कसैले पाएका पनि छैनन्, सबैलाई समान तरिकाले वितरण गर्न एकीकृत गरी वितरण गर्नैपर्छ । यसका लागि सरोकारवालाहरु सबैलाई भेला गरेर सहमति जुटाउनै पर्छ । हामी चाँडै भेला बोलाएर पानीका स्रोतहरु एकीकृत गर्ने बिषयमा सर्व सम्मत बनाउने पहल गर्छौ’ उहाँले भन्नुभयो ।
करिब ४ हजार घरपरिवारलाई खानेपानी उपलब्ध गराउनुपर्ने

प्रस्तावित खानेपानी आयोजनाले बनेपा नगरपालिकाको वडा नं. १४, वडा नं. १३ र १० का गरी करिब ४ हजार घरपरिवारलाई खानेपानी उपलब्ध गराउनुपर्नेछ ।
हाल साँगा भन्ज्याङमा डिप बोरिङ गरी वडा नं. १३ र १४ का केही बासिन्दाले बाहेक अन्यले वरिपरिका मूल, कुवा तथा खोलाको पानी नै उपभोग गर्दै आएको बनेपा नगरपालिका १० नंं वडाका अध्यक्ष गौरी राउतले बताउनुभयो ।
खानेपानी वितरण गर्नुपर्ने क्षेत्र
वडा नं. १४ का अध्यक्ष चन्द्र खड्काका अनुसार वडा नं. १० मा पानी वितरण गर्नुपर्ने टोलहरु :
बाहुनडाँडा, गैराटोल, मिजारटोल, विस्टागाउँ, खत्रीटोल र खड्कागाउँका करिब ९ सय घरपरिवार ।
वडा नं. १३ : साँगा बजार, नयाँ बस्ती, बाँझाबन, बुर्थोकी गाउँ, भैंसेपाटी, माथिल्लो गाउँ, भैंसेपाटी बजार, स्याल गैरा र राहुलडाँडाका गरी करिब १७ सय घरपरिवार ।
वडा नं. १४ : खाल्चोक, काफल डाँडा, सरस्वतीटार, ग्वासिन्चा, नासिका, डिपडोल, इटापू, टपलटोल, टौडोल र पूलाराका गरी करिब १४ सय घरपरिवार ।



960 पटक हेरिएको 

