
सुर्खेत : नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हकसम्बन्धी संवैधानिक प्रावधानको व्यवहारमा कार्यान्वयन हुन नसकेको सरोकारवालाले बताएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ कर्णाली प्रदेशले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको खानेपानी तथा सरसफाइ सफाई क्षेत्रको अवस्था, नीतिगत व्यवस्था तथा अधिकार सम्बन्धी प्रदेश स्तरीय गोष्ठीका सहभागीले खानेपानी सम्बन्धी मौलिक हक कार्यान्वयनमा राज्यका तीन वटै तहका सरकारको प्राथमिकतामा नपरेको गुनासो गरेका हुन् ।
गोष्ठीमा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले नेपालको संविधानको धारा ३५ को उपधारा ४ ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने गरी मौलिक हकका रुपमा खानेपानी अधिकारलाई प्रत्याभूत गरेको बताउनुभयो । ‘सङ्घ, प्रदेश र स्थानीय तहले खानेपानी र सरसफाइ सम्बन्धी कानून निर्माण गरी नागरिकको आधारभूत खानेपानीको हकलाई सम्मान, संरक्षक र परिपूर्ति गर्नुपर्ने संविधानमा उल्लेख छ’ उहाँले भन्नुभयो ‘तर अहिलेसम्म खानेपानी सम्बन्धी कानून प्राथमिकताको विषय बनिरहेको छैन् ।’ कानून बनाउँदा तीन वटै तहको समन्वय हुनुपर्ने उहाँको भनाइ छ ।
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले पानीका मुहानको संरक्षण गर्न, स्रोतहरु विस्तार गर्न प्रदेश र स्थानीय सरकारले बेवास्ता गरेको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशसभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले सरकारले खानेपानी तथा सरसफाइको अधिकार प्रदान गर्नका लागि गम्भिर रुपमा लिनुपर्ने बताउनुभयो । यस्तै विधान समितिका अध्यक्ष पदमबहादुर रोकायले पानीको उपभोगमा विभिन्न विवाद आउने गरेको अनुभव सुनाउँदै आगामी दिनमा कानुन बनाउँदा नै ती कुरामा विचार पु¥याउनुपर्ने बताउनुभयो । कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष अम्मरबहादुर थापाले आवश्यक खानेपानी तथा सरसफाइ सम्बन्धी आवश्यक नीति निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो ।
प्राविधिक जनशक्तिको उचित व्यवस्थापन गरी गैरसरकारी संस्थालाई परिचालन गर्न सके आधारभूत रुपमा खानेपानीको समस्या समाधान गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र अर्यालले खानेपानी तथा सरसफाइको अधिकारलाई संविधानमा मौलिक हकको रुपमा प्राथमिकता दिइएकाले अब त्यसको कार्यान्वयनमा पनि उत्तिकै ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
गोष्ठीका अन्य सहभागीले स्थानीय र प्रदेश सरकारले खानेपानी तथा सरसफाइका कार्यक्रमको साटो सडक निर्माणलाई मात्र प्राथमिकतामा राखिएको, खानेपानी योजनाको मर्मत हुन नसकेको, प्रदेश राजधानी सहरको फोहोरमैला व्यवस्थापनमा चासो नदिएको धारणा व्यक्त गरेका थिए ।


1454 पटक हेरिएको 

