संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिकाको वडा नं. १० मा पर्ने कल्लेरी, सल्लेरी र खराङ बजारका बासिन्दाका लागि लिफ्टिङ प्रणाली मार्फत खानेपानी वितरण गरिने भएको छ । यु.डब्ल्यु.एस. नेपालको अग्रसरता र चैनपुर नगरपालिका एवं वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको सहयोकोमा पिलुवा खोला खराङ लिप्ट खानेपानी आयोजनाको विस्तृत डिजाईन तयार पारी आयोजनाको काम अगाडि बढाईएको हो।
यु.डब्ल्यु.एस. नेपालले ३५ लाख, चैनपुर नगरपालिकाले २० लाख, नेपाल सरकार वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको १५ लाख अनुदान गरी ७० लाखको लागतमा ३ तहमा लिफ्ट गरी आयोजना सम्पन्न हुनेछ। जसमा २० हजार लिटरको ३ वटा ट्याङ्की भने नगरपालिकाले निर्माण गर्नेछ।
आफूले मेयरको निर्वाचन दौरानमा गरेको प्रतिवद्वता अनुसार चैनपुर नगरपालिकाको विकास र सम्वृद्धिको यात्रा ५२ खुड्किलाको एतिहासिक गौडा गुफापोखरी न.पा. १ हुँदै अब वडा नं. ११ बाट पूर्व उत्तर केन्द्रित भएको मेयर भरत कुमार खत्रीले बताउनुभयो । यो खानेपानी आयोजना पनि आफ्नो यही अभियानको हिस्सा भएको र यसले यस क्षेत्रको सिंचाई तथा खानेपानी समस्याको समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
यस बहुआयामिक आयोजना निर्माण सम्पन्न पश्चात ४७५ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने र बृहत परियोजनाले ईखुम्बा, झिलीमिले, सल्लेरी र खराङ्गको जीवनस्तर उकास्न महत्त्वपूर्ण भुमिका खेल्ने चैनपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष तेज बहादुर कटुवालले बताउनुभयो । उहाँले आफूले निर्वाचनको समयमा गरेको विकासको प्रतिवद्वता अनुरूप यो आयोजना सम्भव भएको बताउनुभयो ।
खासगरी पानीको जोहो गर्न वालवालिका विद्यालय अनुपस्थित हुने हुनाले यस समस्याको दिगो समाधानको निमित्त खानेपानी आयोजना अगाडि बढाईएको यु.डब्ल्यु.एस. का प्रमुख सूर्य कार्कीले बताउनुभयो । आयोजनालाई आवश्यकता अनुरूप अन्य क्षेत्रहरूमा पनि विस्तार गर्ने कुरामा कार्कीले आफ्नो ध्यान रहेको बताउनुभयो ।
आयोजनाको संचालन तथा व्यवस्थापनको जिम्मा भने चैनपुर नगरपालिका अन्तर्गत वडा नं।१० को मातहतमा रहने उहाँले बताउनुभयो । कार्की हाल, सामाजिक विकास मन्त्रालयको प्रदेश १ को बिद्यालय शिक्षाको शैक्षिक सुधार समिति अन्तर्गत निर्देशन समितिको सदस्यमा रही गुणस्तरीय शिक्षाका निमित्त शैक्षिक अभियान्ताको रुपमा क्रियाशील हुनुहुन्छ ।