लम्जुङ : लमजुङको क्व्होलासोंथर गाउँपालिकाका सबै वडा सफा र स्वच्छ वडा भएको छ । समुदायको अग्रसरतामा क्व्होलासोंथर गाउँपालिकाका एक देखि नौ वडा सवै सफा, स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख वडा घोषणा भइसकेको छ । अब गाउँपालिकालाई नै सफा र स्वच्छ एवं पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने तयारी गरेको छ । गाउँपालिकालाई नै घोषणा गरेपछि क्व्होलासोंथर संघीय संरचना पछि घोषित पहिलो पूर्ण सरसफाइ उन्मुख गाउँपालिका बन्नेछ ।
सबै वडाले चर्पीको गुणस्तर र प्रयोग, व्यक्तिगत स्वच्छता, हात धुने स्थान, खानेपानीको सुरक्षा, खानाको स्वच्छता एवं सुरक्षा, घर तथा आँगनको सरसफाइ लगायत सरसफाईका ६ वटा सूचकहरु पूरा गरिसकेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । गाउँपालिकाले सबै वडालाई पूर्ण सरसफाई उन्मुख घोषणा गर्ने योजना अनुसार काम गर्न सफल भएको उहाँले बताउनुभयो । ‘सबै वडाका गाउँगाउँ र टोलटोलमा पूर्ण सरसफाइका काम भएको छ । सूचकहरु पूरा भएका छन् । सरसफाइ कारण अब कोही बिरामी हुने अवस्था छैन’ उहाँले भन्नुभयो, ‘छिट्टै सिंगो गाउँपालिकालाई नै पूर्ण सरसफाई उन्मुख घोषणा गर्छौं ।’
खानेपानी, सरसफाइ तथा स्वच्छता रणनीति योजना बनाएर गण्डकी प्रदेश सरकारसमक्ष पेश गर्ने र उक्त योजना प्रदेश र प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थलगत निरीक्षण गर्दै पास गरेपछि सिंगो गाउँपालिकालाई पूर्ण सरसफाइ घोषणा गरिने उहाँले बताउनुभयो । आगामी चैतभित्रमा गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गरिने र सोही अनुसार काम अघि बढाइएको उहाँले बताउनुभयो ।
क्व्होलासोंथर गाउँपालिकाका उपाध्यक्ष कुमारीमुनी गुरुङले सरसफाइ प्रत्येक वडा, वस्तीका लागि आवश्यक रहेकाले पूर्ण सरसफाइको अभियान सञ्चालन गरिएको बताउनुभयो । सरसफाइ, स्वच्छ पानीले नागरिकको स्वास्थ्मा फाइदा पुग्ने उहाँले बताउनुभयो । गाउँलाई सरसफाइयुक्त गाउँको रुपमा चिनाउन सकेमा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उहाँले बताउनुभयो ।
कुन वडा कहिले घोषणा ?
गाउँपालिकाको वडा नम्बर एक बाग्लुङपानीलाई मङ्सिर ३० गते सफा, स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको थियो । वडा नम्बर पाँच सिङ्दी र ६ पसगाउँ मङ्सिर १६ गते र वडा नम्बर ७ र ८ लाई मङ्सिर १७ गते पूर्ण सरसफाइ उन्मुख घोषणा गरिएको थियो । यस अघि वडा नम्बर ४ भुजुङलाई २०७५ फागुन २९ गते, वडा नम्बर ३ उत्तरकन्या घलेगाउँलाई चैत २४ गते पूर्ण सरसफाइ घोषणा गरिएको थियो । वडा नम्बर ९ गिलुङलाई २०७४ मा र वडा नम्बर २ मालिङलाई २०७२ सालमा पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको थियो ।
क्व्होलासोंथर गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख बनाउन प्राविधिक तथा सामाजिक परिचालन गर्दै आएको संस्था ग्रामीण सामुदायिक विकास केन्द्र ९आरसीडीसी० का अध्यक्ष राजेन्द्र बोहोराका अनुसार सरसफाइ सम्बन्धी गाउँलेको आनीबानीमा परिवर्तन आएको छ । आनीबानीमा परिवर्तन आएसँगै स्थानीय सफासुग्घर हुन थालेका छन् । वरपरका वातावरण पनि सफा राख्ने गरेका छन् ।
सरसफाइका सवै सूचक पूरा भएपछि गाउँपालिकाभित्रका सवै वडालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गरिएको उहाँले बताउनुभयो । क्व्होलासोंथर गाउँपालिका पूर्ण सरसफाई उन्मुख पहिलो स्थानीय तह बन्ने बोहोराले बताउनुभयो ।