धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ६ को पाँच वटा टोललाई एकैसाथ सफा र स्वच्छ गाउँ घोषणा गरिएको छ । ज्वालामुखी गाउँपालिकाको देउराली टोलको ३४ घरधुरी, हुलाक भज्याङ टोलको १ सय १८ घरधुरी, मिलनटोलको ३५ घरधुरी, सेतीदेवी टोलको ३४ घरधुरी र साँघभज्याङ टोलको ८६ घरधुरी गरी ५ गाउँको ३ सय ७ घरधुरीलाई सफा र स्वच्छ गाउँ घोषणा गरिएको हो । सफा र स्वच्छ गाउँ घोषणाका लागि वातावरण र जनस्वास्थ्य संस्था एन्फोको आर्थिक तथा प्राविधिकमा सहयोगमा गाउँपालिकाले अगुवाई गरेको थियो भने शान्ति नेपालले सामाजिक परिचालनका कार्यक्रमहरु सञ्चालन गरेको शान्ति नेपालका सुरेस सिग्देलले जानकारी दिनुभयो ।
नेपाल सरकारको पूर्ण सरसफाइ मार्गदर्शन २०७३ ले सफा र स्वच्छ क्षेत्र घोषणा गर्नको लागि निर्धारण गरेको आधारभूत सबै सूचकहरु पुरा भएपछि ती टोलहरुलाई सफा र स्वच्छ टोलको रुपमा घोषणा गरिएको होे । घोषणा अघि माघको पहिलो हप्ता शान्ति नेपाल, एन्फो, गाउँपालिका र वडाका प्रमुख एवं प्रतिनिधिहरुद्वारा संयुक्त अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ५ वटै टोलाका ३ सय ७ घरमै सबै सूचक पूरा पाएपछि पालिकाको पूर्ण सरसफाइ रणनीतिक योजना अनुरुप वडा नं. ६ को ५ टोल घोषणाको लागि स्वीकृति प्रदान गरिएको थियो ।
चर्पीको उचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, सुरक्षित र स्वच्छ खाना, घर तथा आँगनको सरसफाइ र सार्वजनिक स्थलको सरसफाइका सूचकहरु पुरा गरेपछि घोषणा गरिएको सिग्देलले बताउनुभयो ।
स्वच्छ र सफा क्षेत्र घोषणा कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवं बागमती प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले समग्र विकासको लागि स्वच्छ र सरसफाइ मुल आधार रहेको भन्दै त्यस तर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो । यस्तै गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले गाउँपालिकालाई पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउने अभियानमा सफा र स्वच्छ गाउँ घोषणा कार्यक्रम कोसेढुङगा सावित भएको बताउनुभयो । आफ्नो गाउँपालिकाका पाँच टोललाई सफा र स्वच्छ गाउँ बनाउनको लागि सहयोग गर्ने संघ–संस्थालाई धन्यवाद दिदै उहाँले आगामी दिनमा पनि सहयोग र सहकार्यको लागि गाउँपालिका तयार रहेको बताउनुभयो ।
वडा नं. ६ का अध्यक्ष अर्जुन अर्यालले भने आफ्नो वडाबाट सफा र स्वच्छ गाउँ बनाउने अभियान सुरु भएको भन्दै उहाँले समग्र वडाको विकासको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रमको सबै बक्ताहरुले यसलाई दिगो बनाउनको लागि समुदाय आफै सजग र सचेत रहन आग्रह गर्नुभयो । कार्यक्रममा स्वच्छ र सफा गाउँ घोषण अभियानमा सहयोग गर्ने संस्था तथा अभियन्ताहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सफा र स्वच्छ गाउँ घोषणा समारोहका थप फोटाहरु :
फोटोहरु: सुरेश सिग्देल ।