डिपीआरमा छुटेका भीरलाँकुरीबासीलाई काठेखोलाको पानी

बागलुङ : खानेपानीको डिपीआर बनाउँदा नै आफूहरुलाई छुटाएपछि बागलुङ नगरपालिका ६ भीरलाँकुरीका बासिन्दा चिन्तित थिए । एक गाग्री पानीका लागि घण्टौं धाउनु पर्ने बाध्यतामा रहेका भीरलाकुरीबासीले घरघरमै पानी आउने सपना देख्न छाडिसकेका थिए । ‘सँगैको वडालाई समेट्दा हामीलाई किन छुटाएका ?’ जनप्रतिनिधी र खानेपानी उपभोत्तःा समितिका पदाधिकारीहरु यस्तै प्रश्नको सामना गर्दा गर्दा हैरान भईसकेका थिए ।

तर अहिले भीरलाँकुरीका बासिन्दामा पानी पाउने आशा पलाएको छ । बस्तीभन्दा करिब २ किलोमिटर तल रहेको काठेखोलाबाट लिफ्टिङ गरी पानी गाउँमा लैजाने भएपछि भीरलाँकुरीका बासिन्दाको आक्रोश मत्थर भएको छ ।

४५ करोड रुपैयाँमा काठेखोलाबाट प्रतिसेकेन्ड ७० लिटर पानी तानेर बागलुङ बजार र नगरपालिकका वडाहरूमा लैजाने योजनाको डिपिआरमा भीरलाँकुरी, लहरेपिपल, रात्माटा लगायत गाउँका ३५० घर छुटेको थियो । सोही छुटेको खण्डको लागि अहिले नगरपालिकाले डेढ करोड रुपैयाँ विनियोजन गरेर पानी खुवाउन लागिएको हो ।
केही बर्ष अघि निर्मित योजनाले हाल नगरक्षेत्रमा पानी वितरण भैरहेको छ । जनसंख्या बढेको र अभाव पुरा नभएपछि लिफ्ट प्रविधिको पानीको योजना ल्याएको समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताउनुभयो । ‘पानीको समस्या बारे हामीले राम्रोसँग बुझेकोले डिपिआरमा छुटेको क्षेत्रलाई पनि समेट्न काम गरेका हौं’ श्रेष्ठले भन्नुभयो । उहाँले अब उपभोक्ताले सहजै खानेपानी पाउने विश्वास व्यक्त गर्नुभयो ।

बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मार्फत निर्माण भइरहेको नगर खानेपानी आयोजनाको २ लाख लिटरको ट्यांकीबाट पानी तानिने छ । नगरप्रमुख जनकराज पौडेलले भीरलाँकुरी खानेपानी योजनाको हालै शिलान्यास गरिसक्नुभएको छ । भीरलाँकुरी, लहरेपिपल, रात्माटा लगायत गाउँका ३५० घरका लागि पानी खुवाउन नगरपालिकाले डेढ करोड खर्चेको छ । यो रकमबाट यहाँका सबै घरमा धारा जडान गर्ने नगरपालिकाको लक्ष्य छ । १ लाख लिटरको ट्यांकी निर्माण र मोटरपम्प खरिदको काम नगरपालिकाको अनुदानबाट गरिने रात्माटा खानेपानी ट्यांकी निर्माण समितिका अध्यक्ष प्रेमबहादुर केसीले बताउनुभयो । घरघरमा पाइपलाइन लैजाने काम भने उपभोक्ता समितिले गर्नेछ ।

२०२२ सालमा १३ वटा धाराबाट सुरु भएको बागलुङ नगर खानेपानी उपभोक्ता समितिले अहिले ४ हजार धारा जडान गरिसकेको छ । केही समय भित्रै कालीगण्डकी नदीको पानी पनि लिफ्ट गरेर वडा ४ का बस्तीमा पु(याउने समितिको तयारी छ । नगरपालिकाको योजना शाखाका अनुसार नगरक्षेत्र र ग्रामीण वडामा गरी पछिल्लो दुई वर्षमा मात्रै २ हजार बढी घरमा लिफ्ट प्रविधिको पानी वितरण गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार