बिद्यालयमा हात धुने कार्यक्रम, समुदाय स्तरमा समेत सञ्चालन गरिने


सोम आचार्य, झापा : पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेको झापाको कमल गाउँपालिकामा रहेका बिभिन्न बिद्यालयहरुमा व्यापक हात धुने कार्यक्रम सञ्चालन गरिएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस तथा अन्य सङक्रमणबाट जोगिन जनचेतना जगाउने उद्देश्यले विद्यालय विद्यालयमा हात धुने कार्यक्रम सञ्चालन गरिएको हो ।

कमल गाउँपालिकाका बिभिन्न बिद्यालयमा सञ्चालन भएको हात धुने कार्यक्रम अत्यन्तै प्रभावकारी बनेको बिराट सामुदायिक अध्ययन केन्द्रका पालिका संयोजक शुसिल पोखरेलले बताउनुभयो । बिद्यालयमा मात्रै नभएर भोलिबाट समुदाय स्तरमा समेत बृहत हात धुने कार्यक्रम सञ्चालन गरिने पोखरेलले बताउनुभयो ।

नियमित रुपमा साबुनपानीले हात धुने कार्यक्रमले कोरोना भाइरस लगायत अन्य सङक्रमणबाट बच्न सकिने कुराको सूचना संप्रेषण गर्न सबै वडामा लागिरहेको पोखरेलले बताउनुभयो । हात धुने कार्यक्रममा बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थी गरेर दुई हजार भन्दा बढी सहभागी भएका छन् । कमल गाउँपालिकामा मात्रै नभई जिल्लाका अन्य गाउँपालिका तथा नगरपालिकामा समेत भोलिबाट हात धुने अभियानलाई तिब्रता दिइने बिराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम अधिकृत अर्जुन पाठकले बताउनुभयो ।

बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईसरले चीनमा मात्रै झण्डै तीन हजार मानिसको मृत्यु भइसकेको छ भने युरोप र अमेरिकामा समेत प्रभाव बढ्दो छ । बिश्व स्वास्थ्य संगठनले नेपाललाई समेत प्रभावको हिसाबले अति जोखिमयुक्त मुलकको सूचीमा राखिसकेको छ । नियमित साबुनपानीले राम्ररी हात धुँदा कोरोना, मौसमी रुघाखोकी, श्वासप्रश्वासबाट हुने संक्रमण, टाइफाइड, झाडापखाला लगायत थुप्रै संक्रमणबाट बच्न सकिन्छ । नियमित रुपमा साबुनपानीले हात धुँदा मौसमी रुघाखोकी लगायत झण्डै पचास प्रतिशत सरसफाइ सम्बन्धी रोगहरु नियन्त्रण हुने बिश्वास गरिन्छ ।

कोरोना भाइरस तथा अन्य संकम्रणबाट बच्न साबुन पानीले हात धुने, माक्सको प्रयोग गर्ने, धेरै भीडभाड हुने ठाउँमा नजाने, व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालनलाई प्रभावकारी मानिन्छ । ग्लोबल स्यानिटेशन फण्ड/युएन ह्याबिट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा बिराट सामुदायिक अध्ययन केन्द्र झापाले पूर्ण सरसफाइ अन्तर्गत हात धुने कार्यक्रमको सहजीकरण गरिरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार