कुलोको पानी पिउँदा ११ ले ज्यान गुमाएको बस्तीमा घरघरै धारा

🔗
2
Shares


मनिराज पाण्डे, कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाले पलाँताका ५ सय ६ घरधुरीमा खानेपानी पुर्‍याएको छ । आर्थिक बर्ष २०७७/०७८ सम्म पलाँताका सबै घरधुरीमा शुद्ध खानेपानी पुर्‍याउने स्थानीय सरकारको लक्ष्य तथा कार्यक्रम अनुसार पलाँता गाउँपालिका र वाटर एड नेपालको आर्थिक सहयोगमा किर्डाक नेपालले खानेपानी आयोजना निर्माणका लागि सहजिकरण गरेको हो । घण्टौं हिँडेर पानी ल्याउनुपर्ने पलाँताका विकट बस्तीमा धारा बन्न थालेका छन् । खानेपानीको बढी समस्या भएको बस्तीमा दर्जनौं योजना सञ्चालन भए पनि दिगो हुन नसकेपछि स्थानीय तहले नयाँ रणनीति अपनाएका हुन् ।

गाउँपालिका र नगरपालिकाले घरघरमा मिटर सहितका धारा वितरण गर्न थालेपछि योजना दिगो बन्ने अपेक्षा गरिएको छ । कालिकोटका ४ वटा स्थानीय तहका करिब २ हजार घरमा अहिले शुद्ध खानेपानी सहितका धारा जडान गरिसकिएको छ । कालिकोटका पलाँता, रास्कोट, नरहरिनाथ र तिला गुफाका नगरपालिकाले उक्त कार्य सुरु गरेका हुन् ।

स्थानीय सरकार गठन भए लगत्तै सबै पालिकाले खानेपानी र सरसफाइलाई प्राथमिकता दिँदै आएका छन् । वर्षौंदेखि सास्ती भोग्दै आएका स्थानीय बासिन्दाले अहिले घरघरमा स्वच्छ खानेपानी पाएका छन् । खडेरीग्रस्त क्षेत्रमा खानेपानी पुगेपछि जनजीवन सहज बनेको छ । यस वर्ष प्रदेशका आठ र संघीय सरकारका ५६ वटा बहुवर्षे योजना सञ्चालनमा छन् ।

३ वर्षभित्र सबै घरमा स्वच्छ खानेपानी

पलाँता गाउँपालिकाले पहिलो गाउँ सभाबाट तीन वर्षभित्र पलाँताका सबै घरहरुमा खानेपानी धारा पुर्‍याउने गरी महत्त्वाकांक्षी योजना बनाएको थियो । प्रदेश सरकारबाट गत वर्ष १० करोड रुपैयाँ बजेट पाएपछि गाउँपालिकाले सबै वडामा खानेपानी पुर्‍याउन सर्भे डिजाइन र मूल ट्यांकी निर्माणको काम सकेको छ । गाउँपालिकाका ८ र ९ नम्बर वडाका बाडदेव, कालचिउरी, सुनावाडा, बालुवा, दलितटोल, बेर्सनकोट लगायत बस्तीका ५ सय ६ घरमा धारा जडान भइसकेको छ । गत वर्ष थिर्पुका २ सय ७ घर र यस वर्ष ८ नम्बर वडाका र ९ नम्बर वडाका बाँकी २ सय ९९ घरमा मिटरसहितका धारा जडान गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले बताउनु भयो । खानेपानी आयोजना निर्माणका लागि गाउँपालिकाले करिव ८० लाख रुपैयाँ खर्च गरेको छ । स्थानीय बासिन्दाले पाइपलाइन खन्न र निर्माण सामग्री जुटाउन श्रमदान गरेका थिए ।


सरस्वती मावि थिर्पु र दुधेशिल्लो माविमा बालबालिका, अपांग र महिलालाई सजिलो हुने गरी शौचालय बनाइएको छ । ‘पलाँताका दुईवटा माविका शौचालय जिल्लाकै नमुना हुन्’ पलाँता गाउँपालिकाका शिक्षा शाखा प्रमुख रणप्रसाद भट्टले अरू ठाउँमा पनि यस्तै शौचालय बनाउन सके महिनावारी भएका छात्रालाई नियमित रुपमा विद्यालय आउन सजिलो हुने बताउनुभयो । उहाँका अनुसार विद्यालयमा छात्राका लागि उपयुक्त शौचालय बनेपछि कक्षा ८ देखि माथिका छात्रा नियमित रुपमा स्कूल आएका छन् । विद्यालयमा उपयुक्त शौचालय बनेपछि महिनावारीको समयमा विद्यालय जाने गरेको सरस्वती माविकी छात्रा कलशा बमले बताउनुभयो ।

थिर्पुमा घरघरमा धारा भएपछि स्थानीय महिला खुसी छन् । ‘पहिले खोलाको पानी खानुपथ्र्याे, अचेल घरमै धारा छ,’ पलाँता–९, कालचिउरीकी ४५ वर्षीया मैनादेवी बमले भन्नुभयो । ‘पानी बोक्न खर्च हुने समय अन्य काममा लगाएका छौं ।’ उहाँका अनुसार कुलोको पानी खाँदा ०६३ मा फैलिएको झाडापखालाबाट गाउँमा ११ जनाको मृत्यु भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार