
बझाङ : बढारकुँडार गरिएका सफा बाटाघाटा । चिटिक्क पोतिएका घर आँगन । सबै घरको आगँनमा रातो रंगले रंग्याएका जुठ्यान र मचान । प्रत्येक घरअघि करेसाबारी । करेसाबारीमा लटरम्म फलेका थरिथरिका तरकारी । छबीस पाथीभेरा गाउँपालिकाको परिङगाल गाउँ पुग्दा प्रत्येक घरबाहिर हात धुनका लागि धारो भएको बाल्टिन र साबुनको व्यवस्था गरिएको देख्न सकिन्छ । घरहरू गाउँको चिनारी दिने खालका परम्परागत प्रविधि प्रयोग गरेर बनाइएका छन् । तर, त्यहाँको सरसफाइ र सुविधा हेर्ने हो भने व्यवस्थित लाग्छ ।
बिहान उठ्ने बित्तिकै यहाँका बासिन्दाहरूको पहिलो काम भनेकै सरसफाइ गर्नु हो,’ गाउँलाई पूर्ण सरसफाइयुक्त बनाउन अगुवाइ गरेकी महिला स्वास्थ्य स्वयंसेविका धनकला गिरीले भनिन् ।
छबीस पाथिभेरा गाउँपालिकाले परिङगाललाई पूर्ण सरसफाइयुक्त गाउँ घोषणा गरेको छ । परिङगालको अवलोकन र यहाँको सरसफाइका लागि लागु गरिएको योजनाबारे जान्न अहिले दिनहुँजसो जिल्लाभित्र र बाहिरका जनप्रतिनिधि र सर्वसाधारण यहाँ पुग्ने गरेका छन् । गाउँपालिकाको टोली नै लिएर यहाँ आएका मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले भने, ‘बझाङमा यस्तो राम्रो सरसफाई सुविधा भएको गाउँ होला भन्ने मैले सोचेको थिइनँ । आखिर गरे त हुने रहेछ ।’ उनले परिङगालको सरसफाई मोडलबाट आफू प्रभावित भएको बताउँदै आफ्नो गाउँपालिकामा पनि यस्तै योजना बनाएर काम गर्ने बताए ।
परिङगाल सरसफाइमा जिल्लाकै नमूना गाउँ बनेको धेरै समय भएको छैन । दुई वर्षअघिसम्म यो गाउँको परिचय अर्कै थियो । सडक किनारमा जथाभावी गरिएको दिशापिसावका कारण नाक थुनेर हिँड्नु पर्थ्यो । मलखाद र जैविक, अजैविक फोहोरको व्यवस्थापन फितलो थियो । न त फोहोरले हामी आफैंलाई अहित गर्छ भन्ने अधिकांश गाउँलेलाई जानकारी नै थियो । ‘गाउँको बाटो हिँड्नेहरू नाक थुनेर थुक्दै हिँड्थे,’ स्थानीय समुन्द्रा गिरीले स्मरण गरिन्, ‘मुलबाटोमा पर्ने गाउँको यो हालत ठिक भएन भनेर सबैले सल्लाह गरेर नै सफा बनाउने निर्णय गर्यौं । सबैले आ–आफ्नो घर वरिपरि सफा गरेपछि त गाउँ नै सफा हुँदो रहेछ ।’ पहिले यो गाउँको बाटो फोहोर हुन्छ भनेर अर्कै बाटो हिँड्नेहरू पनि अहिले यहाँ सरसफाई सिक्न आउँदा गाउँको इज्जत बढेको उनी बताउँछिन् ।
परिङगालबासीको सरसफाइमा नमूना गाउँ बनाउने उत्साहलाई छबीस पाथिभेरा गाउँपालिकाको ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाले पनि साथ दिएको छ । परियोजनाले बाटोघाटो सफा गर्दा उत्पादन भएको नकुहिने फोहोरलाई व्यवस्थापन गर्न ठाउँठाउँमा संकलन र नष्ट गर्ने पिटहरू बनाइ दिएको छ । यहाँका स्थानीयलाई प्रत्येक घरमा भाँडा राख्ने व्यवस्थित चाङ, जुठ्यान बनाउनका लागि पनि यसै परियोजनाले सहयोग गरेको हो । नमूना गाउँ बनाउने स्थानीयको जोशलाई साथ मात्रै दिएको र यसैकारण परिङगाल नमूना बनेको गाउँपालिका अध्यक्ष अक्कलबहादुर धामी बताउँछन् ।
हरेक बिहान आफ्नो घर, आँगन र बाटोघाटो सफाइ गर्नु यहाँका बासिन्दाको दैनिकी बनेको छ । ‘कुन घरले कतिसम्मको क्षेत्रमा सफाइ गर्ने भनेर तोकेका छौं । बिहान उठ्ने बित्तिकै यहाँका बासिन्दाहरूको पहिलो काम भनेकै सरसफाइ गर्नु हो,’ गाउँलाई पूर्ण सरसफाइयुक्त बनाउन अगुवाइ गरेकी महिला स्वास्थ्य स्वयंसेविका धनकला गिरीले भनिन् ।
परिङगाललाई सरसफाइमा नमूना बनाउन गोठेमल व्यवस्थापनले महत्वपूर्ण भूमिका खेलेको छ । बझाङका ग्रामिण भेगमा घरपालुवा पशुको मलमुत्र ९गोठेमल० घर अगाडि आँगनमै थुपार्ने चलन छ । यो चलन जिल्लालाई पूर्ण सरसफाइयुक्त बनाउन सबैभन्दा ठूलो चुनौतीको रुपमा लिइएको छ । तर, अहिले घरअगाडि गोठेमल थुपारिएको देखिँदैन । यसको अर्थ यहाँका बासिन्दाले पशुचौपाया नै पाल्दैनन् भन्ने होइन । उनीहरूले करेसा र खेतबारीमा गोठेमलको प्रयोग गरी यसको व्यवस्थापन गर्दै आएका छन् ।
यसअघि गोठेमललाई आँगन र घर नजिकै मलखाद बनाएर राख्ने गरेका गाउँलेले तरिका परिवर्तन गरेका छन् । जसले फोहोर व्यवस्थापनमा सघाउ पुगेको छ । ‘आँगनमै पोर्सो (गोठेमल) राख्दा धेरै फोहोर हुन थाल्यो । जति सरसफाइ गरे पनि नहुने भयो,’ स्थानीय सुन्तला गिरीले भनिन्, ‘सबैले सल्लाह गरेर गोठेमललाई घरभन्दा टाढाको बारीमा खाल्डो खनेर राख्न थालेका छौं ।’ यसले गोठेमल पूर्णरुपमा कुहिने र खेतमा हाल्दा माटोको उर्वराशक्ति समेत बढाएको उनले सुनाइन् ।
व्यावसायिक कृषिमा पनि अग्रसरता सरसफाइमा स्थानीयले देखाएको सक्रियतालाई आधार मानेर गाउँपालिकाले यस गाउँलाई व्यावसायिक कृषिमा पनि नमूना बनाउने भन्दै सहयोग गरिरहेको छ । सेती नदी किनारमा रहेको बेंसी क्षेत्रको मलिलो भाग भए पनि सिँचाइ अभावले व्यावसायिक तरकारी खेती गर्न नसकेको भन्दै स्थानीयले गाउँपालिकामा सिँचाइ आयोजनाको माग गरेका थिए । कृषकको मागबमोजिम गाउँपालिकाले ग्रामिण जलश्रोत परियोजनामार्फत बहुउपयोगी सिँचाइ योजना सञ्चालनमा ल्याएको छ ।
गाउँको सिरानमा रहेको मुलको पानी संकलन गर्न एक लाख लिटर पानी सञ्चय गर्न सकिने पोखरी बनाइएको छ । यसबाट गाउँभर आधुनिक सिँचाइ प्रणाली स्थापना गरिनुका साथै आधुनिक घट्टसमेत चलाइएको छ । घट्टको निकासबाट बगेको पानीलाई पनि गाउँका विभिन्न ठाउँमा बनाइएका पोखरीमा जम्मा गरिँदै आएको छ ।
एउटा पोखरीबाट निश्चित क्षेत्रफल जग्गालाई चाहिएको बेला सिँचाइ गर्न मिल्नेगरी सिँचाइ धाराहरू निर्माण गरिएको छ । ‘गाउँमा भएका खानेपानीका धाराबाट निस्किएर खेर जाने पानीलाई पनि सिँचाइका लागि पोखरीमा जम्मा हुने व्यवस्था मिलाएका छौं,’ परियोजनाका सल्लाहकार विष्णु पोखरेलले भने, ‘सुख्खायाममा पनि पोखरीमा पानीको कमी नहोस् भन्नका लागि यस्तो डिजाइन गरेका हौं ।’ उनले स्थानीयहरूलाई विभिन्न जातका मौसमी र बेमौसमी तरकारी खेतीको लागि तालिम र प्रविधिमा पनि सहयोग गरिरहेको बताए । यो खबर हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।
करिब ५० परिवारको बसोबास रहेको यस गाउँमा सिँचाइ सुविधा उपलब्ध भएपछि २३ परिवार व्यावसायिक तरकारी खेतीमा संलग्न रहेको र अन्य २० परिवारले यसै वर्षबाट व्यावसायिक तरकारी खेती गर्ने तयारी गरिरहेको बहुउपयोगी सिँचाइ तथा व्यावसायिक तरकारी खेती समूहका अध्यक्ष ब्रमानन्द गिरीले बताए । ‘एक वर्षअघिसम्म नुनसँग रोटी खानु पर्थ्यो,’ उनले भने, ‘अहिले सिँचाइ सुविधा पुगेर सबैका घरघरमा तरकारी फलेको छ । २३ परिवारले त तरकारी बेचेरै महिनाको २० देखि ४० हजारसम्म आम्दानी गरिरहेका छन् ।’ जयपृथ्वी राजमार्गकै छेउमा रहेको यस गाउँका स्थानीयले उत्पादन गरेको तरकारी बिक्रीका लागि समस्या नरहेको उनले दाबी गरे । ‘बजारको समस्या नभएकोले अन्य परिवार पनि व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन्,’ गिरीले भने ।
सबै वडालाई नमुना बनाइने
परिङगाल गाउँ मात्र नभएर गाउँपालिकाका सबै वडाहरूलाई सरसफाइमा नमूना बनाउने र व्यावसायिक कृषिका माध्यमबाट स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नेगरी गाउँपालिकाले काम थालेको छबीस पाथिभेरा गाउँपालिकाका अध्यक्ष धामीले बताए । ‘परिङगाल गाउँ मात्र हैन, गाउँपालिकाका सबै गाउँहरूलाई कुनै न कुनै हिसाबले नमूना बनाउने गरी काम गरिरहेका छौं,’ उनले भने, ‘हाम्रो कार्यकालको अन्तिमसम्म सरसफाइ, व्यावसायिक कृषि, पशुपालन, शिक्षालगायत क्षेत्रमा अरु स्थानीय तहले समेत अनुशरण गर्ने खालको काम तपाईंहरू देख्न पाउनु हुनेछ ।’ उनले भौगोलिक क्षेत्रअनुसार गाउँपालिकाका अरु वडालाई पनि विभिन्न उत्पादनको पकेट क्षेत्र बनाउने र स्थानीय उत्पादनलाई बढावा दिने खालका आधुनिक प्रविधियुक्त उद्योग स्थापना गर्ने काममा लागिरहेको बताए ।


1353 पटक हेरिएको 

