कीर्तिपुर : सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापन गर्न अहिलेसम्म कुनै नीति निर्देशिका नभईरहेको बेला काठमाडौको कीर्तिपुर नगरपालिकाले सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन पारित गरेको छ । कीर्तिपुर नगर सभाद्वारा पारित भईसकेको मार्गदर्शनका बिषयमा शुक्रबार नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधिका साथै विभिन्न सरोकारवाला बीच छलफल गरिएको छ । सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन तयार पारी नगर सभाद्वारा पारित गर्ने कीर्तिपुर नगरपालिका पहिलो नगरपलिका हो ।
सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापन मार्गदर्शनलाई कसरी कार्यान्वयनमा लैजाने भन्ने छलफलमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले अझैपनि मानिसहरुको मनमस्तिष्कमा शौचालय भनेको फोहोर हो भन्ने मान्यता रहेको र त्यही नै ठुलो चुनौतीको रुपमा रहेको बताउनुभयो । उहाँले यस्तो सोचमा व्यापक परिवर्तन ल्याउन र जनचेतना जगाउन आवश्यक रहेको बताउनुभयो ।
उपमेयर सरस्वती खड्काले सार्वजनिक शौचालय सम्बन्धी सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन नगरसभाद्वारा पारित भई राजपत्रमा प्रकाशित हुने क्रममा रहेको जानकारी दिदै शौचालयको बिषयमा उपयुक्त समयमा छलफल भइरहेको बताउनुभयो । उहाँले पहिलो पटक नगरपालिकाको शौचालयमा बस्दा असह्य भएर पानी र डस्टविनको व्यवस्था गर्न पहल गरेको स्मरण गर्दै गत वर्ष इ.पि.एल.को समयमा सार्वजनिक शौचालयको समस्या समाधान गर्न आफ्नो संयोजकत्वमा कमिटी गठन भएको बताउनुभयो । ‘अहिले यो मार्गदर्शन पारित गरी सार्वजनिक शौचालयका समस्यालाइ सम्बोधन गर्न हामी धेरै उत्साहित छौ । अब आउने आथिक वर्षमा यसै मार्गदर्शन अन्तर्गत रहेर सार्वजनिक शौचालयको योजना बनाउँछौं’ उहाँले प्रतिबद्धता जनाउनुभयो ।
नगरको सरसफाइ र स्वच्छ वातावरणका निमित्त सार्वजनिक शौचालय एक महत्वपूर्ण अंग हो । तर हालका सार्वजनिक शौचालय फोहोर, उचित व्यवस्थापन नभएको र महिला तथा अपाङ्गता भएका व्यक्तिको आवश्यकता प्रति संवेदनशील भएको पाईदैन । शौचालयमा हुनुपर्ने सेवा सुविधाको बारेमा आधिकारिक मापदण्ड नरहेको तथा भएका शौचालयको अनुगमन र मूल्याङ्कन गर्ने कुनै निकाय नभएको कारण शौचालयको अवस्था सुधार गर्न कठिन भएको पाइन्छ । यसै समस्यालाई समाधान गर्न कीर्तिपुर नगरपालिकाले सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन पारित गरेको हो ।
सार्वजनिक शौचालयको समस्या समाधान गर्न कीर्तिपुर नगरपालिकामा उपमेयर सरस्वती खड्काको अध्यक्षतामा एक कमिटी गठन गरिएको थियो । साथै गुथि (गै.स.स.) को सहयोग र कीर्तिपुर नगरपालिका, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र मध्यपुर ठिमी नगरपालिकाको संयोजकत्वमा सार्वजनिक शौचालय सम्बन्धी सञ्चालन तथा व्यवस्थापन मार्गदर्शनको मस्यौदा तयार पारिएको थियो ।