हानिकारक फोहोर व्यवस्थापनका लागि कार्ययोजना बनाइँदै

काठमाडौ : मानव स्वास्थ्यका लागि अति हानिकारक मानिएका फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले कार्ययोजना बनाउन थालेको छ । कार्ययोजना बनाउन वन तथा वातावरण मन्त्रालयको वातावरण विभागमा चारवटा संस्थाले प्रस्ताव पेस गरेका छन् । ती मध्ये चयन भएको एक कम्पनीले विशेषज्ञ परिचालन गरी मानव स्वास्थ्यका लागि अति हानिकारक मानिने फोहोर व्यवस्थापनका लागि कार्ययोजना बनाएर विभागमा पेस गर्नेछ ।

विभागले असार मसान्तभित्र कार्ययोजना स्वीकृतिका लागि मन्त्रालयमा पेस गर्नेछ । आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने तयारी सहित कार्ययोजना बनाउन लागिएको विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले जानकारी दिनुभयो । सूचना अधिकारी पौडेलका अनुसार छाला, कपडा, स्टिल, औषधि उत्पादक र रङ कारखाना, अस्पताल तथा गाडी मर्मत कारखानाबाट निस्कने फोहोरलाई अति हानिकारक फोहोरको सूचीमा राखिएको छ । ‘मानव स्वास्थ्यका लागि अति हानिकारक मानिने फोहोर समेत जथाभावी फ्याँकिएको पाईयो, यसलाई व्यवस्थित नगरी हुँदैन, त्यसैले हामीले यो कार्य अगाडि बढाएका हौं’ उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार