वडाध्यक्षले गरे चुनावी वाचा पूरा, ठिनमा एक घर एक धारा


तनहुँ : लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका तनहुँको व्यास नगरपालिका – १४ स्थित ठिनको प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको छ । व्यास नगरपालिकाको ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत प्रत्येक घरमा धारा जडान गरिएको हो । घरघरै धारा जडान भएपछि ठिनका बासिन्दाको खानेपानी समस्या समाधान भएको छ । घरमै पानी उपलब्ध भएपछि घरदेखि टाढा मूलको पानी बोक्नुपर्ने समस्या टरेको छ ।

वडाध्यक्ष काजीमान श्रेष्ठले चुनावको बेला गरेको बाचा पूरा गर्दै गाउँको प्रत्येक घर घरमा धारा जडान गरेको बताउनुभयो । एक घर एक धारा अभियान मार्फत ठिनका ६० र नयाँगाउँकोटका ११ घरमा धारा जडान गरिएको हो । नगरपालिकाको १६ लाख ५० हजार र ४ लाख बराबरको जनश्रमदान गरी २० लाखको लगातमा लिफ्टिङ प्रणालीद्वारा घर घरमा धारा जडान गरिएको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । चुनावी वाचा पूरा गर्दै आफूले मास्दीका ४८ घरमा, रुम्सीका १ सय १३ घर, हर्कपुरका ३७, कुलुङका २१, मरैटेका ४६, कैजले ३८, बेलभञ्याङमा २२, राशीभञ्याङका २२ घरमा समेत धारा जडान गरिसकेको बताउनुभयो । १४ नं वडाका ८ सय २३ घरमा धारा जडान गर्ने लक्ष्य लिएकोमा ९० घर मात्र बाँकी रहेको उहाँले बताउनुभयो ।

‘गाउँमा धारा थिएन, टाढादेखि कुवाको पानी डोकोमा बोक्नुपर्ने बाध्यता थियो । कुवाको पानीबाट गुजारा गर्नुपर्ने अवस्था थियो, त्यसमा पनि वर्षातको समयमा धमिलो पानी पिउन बाध्य थियौं’ स्थानीय जुना थापाले भन्नुभयो । बिहानको समय पिउने पानी तथा वस्तुभाउका लागि पानीको जोहो गर्न समय छुट्याउने स्थानीयबासिन्दाले अब पानी ओसार्न लाग्ने समय उत्पादनमूलक कार्यमा खर्च गर्ने स्थानीय नेत्रबहादुर थापाले बताउनुभयो ।

‘खानेपानीकै समस्याले गाउँमा तीव्र बसाइँ सराइ भइरहेको थियो । मैले चुनावको बेला गरेको वाचा पूरा गरें, गाउँमा पानी ल्याईदिएँ, अब बसाईसराई रोकिन्छ भन्नेमा म ढुक्क छु’ वडाध्यक्ष श्रेष्ठले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार