नवलपरासी : पूर्वी नवलपरासीका स्थानीय बासिन्दाले चोक चोकमा निःशुल्क हात धुने व्यवस्था गरेका छन् । कावासोतीको गणेशमान चोक र थकालीचोकमा खानेपानी ट्यांकीमा पानी भरेर साबुन सहित सर्वसाधारणलाई हातधुने व्यवस्था मिलाइको हो । दलदले र १६ नम्बर चोकमा पनि साबुन पानीले हात धुने व्यवस्था मिलाईएको छ ।
सर्वसाधारणको बढी आउजाउ हुने स्थान, बस बिसौनीमा सफा पानी र साबुनको व्यवस्था गरिएको छ। पसलहरु बन्द रहेका कारण सर्वसाधारणलाई त्यसैमा पिउने पानीको पनि व्यवस्था मिलाइएको छ। पूर्वी नवलपरासीमा कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै उद्योग वाणिज्य संघले बजार, व्यवसाय बन्दको आहृान गरेका कारण बजार बन्द छ। स्थानीय व्यवासायीले त्यसलाई स्वतः स्फूर्तरुपमा सहयोग गरेका छन्।
गैंडाकोटमा पनि सर्वसाधारणलाई ४ फरक फरक स्थानमा हातधुने व्यवस्था मिलाइएको त्यहाँका मेयर छत्रराज पौडेलले जानकारी दिनुभयो । गैडाकोटको अमरापुरी र देवचुली नगरपालिकाको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले आ–आफ्नो क्षेत्रका ३र३ स्थानमा हातधुने व्यवस्था गरिएको प्रगतिनगर खानेपानी समितिका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो । बजार र होटल बन्द रहेका कारण सर्वसाधारणले ती स्थानमा साबुन पानीले हातधुने र पानी पिउने व्यवस्था मिलाइएको छ।