
काठमाडौ : काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकामा कार्यरत ५ सय जना सरसफाइकर्मीलाई पुग्ने व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरिएको छ । काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकासँगको साझेदारी, वाटर एड नेपालको सहयोग र फोहरमैला व्यवस्थापन संघ नेपालको सहकार्यमा गैर सरकारी संस्था गुथिद्वारा सरसफाइकर्मीका लागि ग्लोभ, मास्क, सुरक्षा पोशाक लगायत व्यक्तिगत सुरक्षात्मक उपकरण नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि लकडाउन गरिएको समयमा समेत आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर नगरको वातावरणलाई सफा र स्वच्छ राख्न सरसफाइमा खटिने सरसफाइकर्मीलाई फोहोरबाट हुनसक्ने संक्रमण रोक्न व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरिएको गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो ।
अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न सुरक्षा : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले व्यक्तिगत सुरक्षात्मक उपकरणले महामारीको समयमा अस्पतालजन्य फोहोर व्यवस्थापन गर्न सुरक्षा प्रदान गर्ने बताउनुभयो । सरसफाइकर्मीहरुका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण प्रदान गरेकोमा धन्यबाद दिदै उहाँले सरसफाइकर्मीहरुले सुरक्षात्मक उपकरण अनिवार्य प्रयोग गर्नुपर्ने र सामान्य अवस्थामा पनि ग्लोभ, मास्क आदिको प्रयोगलाई निरन्तरता दिनुुपर्ने बताउनुभयो ।
‘यो सरसफाइकर्मीहरुको स्वास्थ्य सुरक्षा सँग जोडिएको विषय हो । त्यसैले वातावरण विभागले यसलाई अनुगमन गर्नेछ ।’ मेयर शाक्यले भन्नुभयो ‘हाल सरकारले अत्यावश्यक सेवामा कार्यरत कामदारहरुका लागि २५ लाखको स्वास्थ्य बिमाको व्यवस्था गरेको छ । सरसफाइको अनौपचारिक क्षेत्रमा रहेर पनि हाल महामारीको समयमा कार्यरत मजदुर सरसफाइकर्मीहरुका लागि पनि यो व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकाले पहल गर्नेछ ।’
यस्तै काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले महामारीको समयमा सरसफाइकर्मीको सुरक्षा र नगरबासीको स्वास्थ्यको विषयमा महानगरपालिका गम्भीर रहेको बताउनुभयो ।
कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कोरोना (कोभिड–१९) को महामारीको समयमा सरसफाइकर्मीहरुले सुरक्षा पोसाक अनिवार्य लगाउनुपर्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । नगरपालिकाले यसको अनुगमन गर्ने र यस कार्यमा आवश्यक सहयोग प्रदान गर्ने उहाँको भनाइ थियो । ‘अहिलेको समयमा सरसफाइकर्मीहरुको स्वास्थ्य सुरक्षामा ध्यान नदिने हो भने यसले भविश्यमा समस्या निम्त्याउँछ । सरसफाइकर्मी नभए नगर सफा राख्न सकिदैन ।’ उहाँले भन्नुभयो ।

फोहरमैला व्यवस्थापन संघ नेपालको तथ्याङ्क अनुसार काठमाडौ उपत्यकामा नगरपालिका र ६५ सरसफाइ कम्पनी अन्तर्गत २ हजार ५ सय सरसफाइकर्मी कार्यरत छन् भने देशभर ६ हजार भन्दा बढी सरसफाइकर्मी नगर सरसफाइमा कार्यरत छन् । सरसफाइ एक अति आवश्यक सेवा हो जसको अभावमा नगरको वातावरण स्वच्छ रहदैन र यसले थप रोग र महामारी निम्त्याउँन सक्छ ।



1229 पटक हेरिएको 

