काठमाडौ : नागार्जुन नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुलाई दुई महिनाको खानेपानी महसुल मिनाहा गर्न निर्देशन दिने भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित सबै उपभोक्तालाई राहत स्वरूप २०७६ चैत र २०७७ वैशाख महिनाको खानेपानी महसुल मिनाहा गर्न निर्देशन दिने र यसको अनुगमन वडा कार्यालयले गर्ने निर्णय गरिएको हो ।
शनिवार नगर कार्यपालिकाका प्रमुख मोहन बहादुर बस्नेतको अध्यक्षतामा बसेको बैठकले खानेपानीको दुई महिनाको महसुल मिनाहा गर्न निर्देशन दिनुका साथै नगरस्तरीय कोरोना नियन्त्रण समन्वय समिति र वडा स्तरमा वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरीय कोरोना नियन्त्रण समन्वय समिति समेत गठन गरिएको छ ।