काठमाडौ : हिजो अस्ति भन्दा पनि हुन्छ, उहाँले स्यानिटरी प्याडको बारेमा सुन्न, बुझ्न थाल्नुभएको । त्यो पनि काठमाडौ छिरेको बर्षौ बर्षपछि । पहिलो पटक महिनावारी हुँदा च्यातिएको सारीको टुक्रा समेत नपाउनुभएकी धादिङ भोर्लेकी चनमती मग्राती अहिले आफै प्याड सिलाउने र लगाउने गर्नुहुन्छ ।
आफैले प्याड सिलाउन नजान्दासम्म महिनावारी भएको समयमा उहाँले कपडाको टुक्राले नै काम चलाउँदै आउनुभएको थियो । तर जब उहाँले स्यानिटरी प्याड सिलाउने मौका पाउनुभयो, यसले उहाँलाई प्याड प्रयोग गर्न बानी मात्र पारेन, उद्यमी, सहजकर्ता र सामाजिकीकरण हुन पनि सिकायो । उहाँको कुरा सुन्दा प्याडले गर्दा उहाँको जीवन नै बदलिएको छ ।
उहाँलाई स्यानिटरी प्याड सिलाउन निःशुल्क सहयोग गर्ने संस्था थियो ‘डेज फर गर्ल्स नेपाल अर्थात किशोरीहरुको दिन नेपाल । डेज फर गर्ल्स नेपालले उहाँलाई स्यानिटरी प्याड सिलाउने सीप सँगै प्याड सिलाउने काम पनि दियो । स्वास्थ्य सम्बन्धी तालिम प्रदान ग¥यो । जसका कारण पहिलेको तुलनामा उहाँको आम्दानीमा दशौं गुणा बृद्धि भएको छ । मनमा सन्तुष्टी छ । साथीभाइसँग घुलमिल भएपछि व्यक्तिगत क्षमताको पनि बृद्धि भएको छ ।
उहाँले काठमाडौमा गरेको संघर्षको कथाले भन्छ ‘एउटा प्याडले कति फरक पार्दछ महिलाको जिन्दगीमा’ उहाँको भनाइमा साथीभाइसँग बोल्न, मन खोलेर हाँस्न, सुखदुःख साटासाट गर्न पनि प्याडले नै सिकाएको हो ।
हेरौं प्याडका लागि चनमती मग्रातीले गर्नुभएको संघर्षको कथा :
तीन सन्तानकी आमा चनमतीका छोरा कक्षा ९ मा अध्ययन गर्छन् । जेठी छोरी ७ र कान्छी छोरी ५ कक्षामा पढ्छिन् । कापी कलमका अलावा कहिलेकाहीं अरु खर्च पनि चाहियो ममी भन्दा चनमतीले बाबालाई माग भन्नु परेको छैन । खल्तीमा दुई चार पैसा नटुटे पछि मनमा जाँगर आउने, मन खुसी हुने, तनाव झेल्नु नपर्ने उहाँको अनुभव छ ।


1788 पटक हेरिएको 

