
काठमाडौ : अभिनेत्री केकी अधिकारी सन् २०२० का लागि महिनावारी स्वच्छता दूत (एमएचएम गुडविल एम्बेस्डर) नियुक्त हुनु भएको छ । राष्ट्रिय महिनावारी सञ्जाल (एमएचएम पिए) ले अभिनेत्री अधिकारीलाई सन् २०२० का लागि महिनावारी स्वच्छता दूतका रुपमा मनोनयन गरिएको हो ।
महिनावारी स्वच्छता दूत भएर अभिनेत्री अधिकारीले महिनावारी स्वच्छताको बिषयमा वकालत गर्नुहुनेछ भने राष्ट्रिय महिनावारी सञ्जाल तथा सञ्जालका सदस्य संस्थाहरुले आयोजना गर्ने महिनावारी स्वच्छता सम्बन्धी बैठक, सभा समारोह लगायत अभियानमा सहभागी हुनु हुनेछ ।
‘उहाँले नेपाली समुदाय, नीति निर्माता, निर्णयकर्ता तथा महिनावारी स्वच्छतासँग सम्बन्धित सरोकारवाला समक्ष विभिन्न माध्यमबाट पैरवी गर्नुहुनेछ’ राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठले भन्नुभयो । यसबर्षको महिनावारी स्वच्छता दूतका लागि GIZ ले प्रायोजन गरेको छ ।
केकी अधिकारी व्यावसायिक मोडेल तथा अभिनेत्री हुनुहुन्छ । थुप्रै नेपाली साङ्गीतिक भिडियो, टेलिभिजन विज्ञापन तथा आधा दर्जन बढी नेपाली चलचित्रमा अभिनय गरिसक्नुभएकी केकीले नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नु पूर्व विभिन्न साङ्गीतिक भिडियोमा अभिनय गर्नुभएको थियो । उहाँले आफ्नो चलचित्र पदार्पण स्वर चलचित्रबाट गर्नुभएको हो । केकीले चलचित्रहरु आइ एम सरी, मसान, मायाको बारीमा, महसुस, बितेका पल र कोहलपुर एक्स्प्रेसमा बलियो अभिनयले सबैको ध्यान आकर्षित गर्नुभएको छ ।
यसअघि सन् २०१८ का लागि इभाना मानन्धर, सन् २०१९ का लागि प्रियंका कार्कीलाई महिनावारी स्वच्छता दूत नियुक्त गरिएको थियो ।


4284 पटक हेरिएको 

