
धनकुटा : धनकुटा बजार क्षेत्रमा वितरण हुँदै आएको खानेपानीलाई थप सुरक्षित र गुणस्तरीय बनाउन दुईवटा ठूला क्षमताका खानेपानी प्रशोधन प्रणाली (ट्रिटमेन्ट प्लान्ट) निर्माण गरिएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले धनकुटा बजारको स्कुलडाँडा र सल्लेरीमा निर्माण गरिरहेका दुवै प्रशोधन प्रणालीको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
करिब एक करोड २० लाख रुपैयाँको लागतमा निर्माण भइरहेका यी दुई प्रशोधन प्रणाली सञ्चालनमा आएपछि प्रतिसेकेन्ड २० लिटर पानी प्रशोधन गर्न सकिनेछ । यसबाट धनकुटा नगरपालिकाका वडा नं. ३, ४ र ६ का करिब १ हजार १०० परिवारले प्रशोधित खानेपानी उपभोग गर्न पाउनेछन् ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख हेराकाजी महर्जनका अनुसार दुवै प्रशोधन प्रणालीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । उहाँले निर्माण सम्पन्न भएपछि प्रणाली सञ्चालनमा ल्याई तीनवटा वडाका उपभोक्तालाई प्रशोधित खानेपानी उपलब्ध गराइने बताउनुभयो ।
‘दुवै प्रशोधन प्रणालीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सञ्चालनमा आएपछि तीनवटा वडाका ११ सय परिवारलाई प्रशोधित खानेपानी उपलब्ध हुनेछ,’ उहाँले भन्नुभयो ।
यसअघि धनकुटा बजार क्षेत्रमा खानेपानी शुद्धीकरणका लागि निर्माण गरिएका साना क्षमताका प्रशोधन प्रणाली पुराना हुँदै गएपछि नयाँ पूर्वाधार निर्माण थालिएको कार्यालयले जनाएको छ । पुराना प्रणालीको क्षमता र अवस्थालाई ध्यानमा राख्दै नयाँ प्रशोधन प्रणाली निर्माण गरिएको हो ।
खानेपानीको पहुँच विस्तारसँगै उपभोक्तालाई सुरक्षित र गुणस्तरीय पानी उपलब्ध गराउनु पनि उत्तिकै आवश्यक रहेको भन्दै कार्यालयले पूर्वाधार सुधार तथा विस्तारलाई प्राथमिकता दिएको छ । दिगो विकास लक्ष्य (SDG) अन्तर्गत सन् २०३० सम्म सबै घरपरिवारमा स्वच्छ खानेपानीको पहुँच पुर्याउने लक्ष्यलाई समेत ध्यानमा राखेर यस्ता संरचना निर्माण तथा स्तरोन्नतिको काम भइरहेको प्रमुख महर्जनले बताउनुभयो ।
धनकुटा सदरमुकाममा धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी वितरण हुँदै आएको छ । समितिले बजार क्षेत्रका करिब ४ हजार उपभोक्तालाई खानेपानी सेवा उपलब्ध गराउँदै आएको छ ।
नयाँ प्रशोधन प्रणाली सञ्चालनमा आएपछि विशेषगरी वडा नं. ३, ४ र ६ का उपभोक्ताले प्रशोधित खानेपानी पाउने अपेक्षा गरिएको छ । यसले बजार क्षेत्रमा खानेपानीको गुणस्तर सुधार गर्नुका साथै सुरक्षित खानेपानी सेवाको दिगोपनामा समेत योगदान पुर्याउनेछ ।


85 पटक हेरिएको 

