वीर अस्पतालको गेटमै ढलको पोखरी, सरोकारवाला निकाय जिम्मेवारीबाट भाग्दै

काठमाडौ : नेपालको सबैभन्दा पुरानो अस्पतालको मूल गेटमै ढलको पानी जमेर आहाल बनेको छ । वीर अस्पतालसहित आसपासको क्षेत्रबाट आउने ढल फुटेर सडकमा पोखरी बनेको हो । ढलको पोखरी बनेको हप्ता दिन भन्दा बढी बितिसक्दा पनि महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले समस्या समाधानको लागि केही चासो दिएको छैन । यहाँ दिनमा दर्जर्नौं पटक सहरी सुव्यवस्थाका लागि खटिएका नगर प्रहरी आवात–जावत गर्छन् । तर, यो ढलको व्यवस्थान गर्न न महानगरपालिकाले चासो दिएको छ न केयूकेएलले नै ।

सडकमा यस्तो समस्या आउँदा काठमाडौं महानगरपालिकाले समन्वय गरेर छिटो समाधानमा जोड दिनुपर्ने हो । तर, महानगरपालिका यो काम आफ्नो क्षेत्राधिकारभित्रको नभएको भन्दै पन्छिएर बसेको छ । सडकमा ढल जमेकाले सडक विभागले पनि यसमा चासो देखाउनुपर्ने हो । तर, सरोकारवाला निकायले पनि यो ढलको पोखरी देखेर पनि नदेखे झैं गरेका छन् ।

त्यसका कारण स्थानीय क्षेत्रमा कोरोना सहित अन्य रोग संक्रमण फैलिने जोखिम छ । अझ अस्पताल जस्तो सरसफाइ चुस्त राख्नुपर्ने क्षेत्रमा ढल खुल्लै सडकमा बगिरहँदा अस्पतालमा आएका बिरामी र कुरुवा आफन्त थप जोखिममा छन् । यो अस्पतालमा कोभिड–१९ संक्रमितको पनि उपचार हुन्छ । त्यहाँबाट निस्किएको ढल सिधै सडकमा आइपुगेको छ । त्यही ढलबाट स्थानीयबासी र पैदलयात्रु सास्तीपूर्ण तवरले बाटो काट्छन् ।


सवारी साधन ढलको पोखरीबाट पानी छ्याप्दै ओहोर–दोहोर गर्छन् । तर, यो ढलको व्यवस्थापन गर्न कसैले चासो दिएको छैन । काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली सडक खनेर ढल बनाउनुपर्ने हो भने काम आफूहरूले सहजै अनुमति दिने बताउँछन् । तर, सम्बद्ध निकायले छिटो काम गर्न चासो नदिएको उनको गुनासो छ । ‘बाटो पनि बिग्रन लागिसक्यो,’ उनी भन्छन्,‘सडकमा ढल बग्दा जनताको स्वास्थ्यमा पनि जोखिम बढेको छ ।’

केयूकेएलका ढल माहाशाखाका प्रमुख अर्जुनबाबु ढकाल भने वीर अस्पतालभित्रैको ढल प्रणालीका कारण सो ढल सडकमा निस्किएको बताउँछन् । ‘केही समय अघि जेटर लगाएर फ्लसिङ गरेका थियौं, तर, महाकांल हुँदै आउने ढलको बाटो पत्ता लगाउन सकेका छैनौं,’ उनी भन्छन्, ‘अब वीर अस्पतालकै कम्पाउन्डबाट नयाँ ढल राखेर हेर्छौं ।’

उनले बर्खायामदेखि नै सो स्थानको ढल प्रणालीमा समस्या देखिएको बताए । फ्लसिङपछि समस्या केही समय हटेपनि फेरि दोहोरिएको उनले बताए । ‘भोलि नै आवश्यक काम गर्न इन्जिनियर पठाउँछु,’ उनी भन्छन्, ‘हिजो मात्रै वीर अस्पतालबाट यसबारे जानकारी आएको थियो ।’ अनलाइन खबरबाट साभार गरिएको ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार