काठमाडौं : विश्वभर फैलिएको कोरोनाबाट समुदायलाई सुरक्षित राख्दै सरसफाइ तथा स्वच्छता प्रबर्द्वन गर्ने अभियानमा यू.एन. ह्याबिट्याटले साझेदार संस्थाहरु मार्फत एकसाथ देशभरका दुई लाखभन्दा बढी घरधुरीमा हातको स्वच्छता अभियान सहजीकरण गरेको छ ।
कोरोनाबाट बच्नका लागि हातको स्वच्छता, भौतिक दूरी र मास्क मुख्य उपायको रुपमा रहेका छन् । “कोरोना फैलिसकेपछि दिनदिनै यसका बारेमा नयाँ तथ्य सार्वजनिक भए”, यू.एन. ह्याबिट्याटका अनुगमन तथा मूल्यांकन विश्लेषक राजेश मानन्धर भन्नुहुन्छ, “साबुन पानीले मिची मिची हात धोएमा हातको माध्यमबाट कोरोना सर्ने जोखिम धेरै हदसम्म न्यूनीकरण हुन्छ भन्ने तथ्य कहिल्यै पनि परिवर्तन भएन ।”
हातको स्वच्छता पूर्ण सरसफाइको एक सूचकको रुपमा रहेको थियो, तर कोरोना कहरले यसलाई प्रमुख आवश्यकतामा बदलिदियो । “पूर्ण सरसफाइ मार्गदर्शनले हातको स्वच्छतालाई सात सूचकमध्ये एक सूचकको रुपमा राखेको छ, र सोही अनुसार समुदायमा पनि अभियान सहजीकरण गरिरहेका थियौं”, समाज उत्थान युवा केन्द्र धनुषाका टिम लिडर सुजितकुमार मण्डल भन्नुहुन्छ, “कोरोना फैलिएपछि सरसफाइ सँगै जीवन रक्षा पहिलो सवाल बनेकोले हातको स्वच्छतामा बढी केन्द्रित हुनुपर्यो ।”
चर्पीको समुचित प्रयोग र स्तरोन्नति सँगै हातको स्वच्छता र यसको सुनिश्चितता गर्नका लागि घरधुरीमा साबुन पानीले हात धुने व्यवस्था सहित हात धुने निश्चित स्थान निर्माण गर्ने कार्यमा केन्द्रित हुनु परेको यू.एन. ह्याबिट्याटका धनुषा र महोत्तरी जिल्ला संयोजक गोविन्द सुवेदीले बताउनुभयो । “पूर्ण सरसफाइ प्रबर्द्वन र स्वच्छ एवम् सुरक्षित व्यवहार नै कोरोनाबाट बच्ने उत्तम उपाय भएकोले सरसफाइका अन्य सूचकका साथ साथै हातको स्वच्छतामा जोड दिइयो ।”
कोरोनाका कारण बन्दाबन्दी सुरु हुनु अघि समुदाय तहमा हात धुने अस्थायी स्थान बनाउँदै हात धुने अभ्यास गराएको भए पनि बन्दाबन्दी पछि बाहिर निस्कन सक्ने अवस्था रहेन । “बन्दाबन्दीको समयमा कार्य क्षेत्रका घरधुरीको फोन नम्बर संकलन गरी ती घरधुरीमा कोरोनाबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीको बारेमा जानकारी दिनुका साथै पूर्ण सरसफाइका लागि टेलिफोनबाटै सहजीकरण गर्यौं”, संस्थाका रौतहट र सर्लाही संयोजक दीपेन्द्र ठाकुर भन्नुहुन्छ, “यस क्रममा रौतहट र सर्लाहीमा मात्र पाँच हजारभन्दा बढी घरधुरीमा टेलिफोनबाटै सन्देश पुर्यायौं ।”
स्वयंसेवक र टेलिफोन मार्फत जानकारी र सन्देश
बन्दाबन्दीका कारण सहजकर्ताहरु समुदायमा जान समेत नपाउने अवस्था भएपछि स्वयंसेवक र टेलिफोन मार्फत घरधुरीमा सरसफाइ प्रबर्द्वनको बारेमा जानकारी दिने, घरधुरीमा भएको सरसफाइको अवस्थाको विवरण मोबाइल एप्लिकेसनको माध्यबाट संकलन गर्ने र परिवारका सदस्यहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिई आवश्यक सुझाव सल्लाह दिने काम गरिएको अनुगमन तथा मूल्यांकन विश्लेषक मानन्धरले बताउनुभयो । “लकडाउन सुरु हुनासाथ समुदायबाट स्वयंसेवक छनौट गरी उहाँहरुलाई अभिमुखीकरण गरियो ।

बाहिरका व्यक्तिहरु समुदायमा जान नपाउने भए पनि समुदायभित्रै एक घरको व्यक्तिले अर्को घरको व्यक्तिलाई आवश्यक जानकारी र सूचनाहरु दिन सक्ने भएकोले स्वयंसेवक छनौट गरिएको हो”, मानन्धरले भन्नुभयो, “स्वयंसेवकले आफ्नो घर वरिपरीका घरधुरीलाई भौतिक रुपमा र त्यसभन्दा टाढाका घरधुरीलाई टेलिफोनबाट समेत सन्देश दिनुभयो र हात धुने स्थान बनाउनका लागि समेत सहजीकरण गर्नुभयो ।” स्वयंसेवकलाई समन्वय गर्ने जिम्मेवारी साझेदार संस्थाका सहजकर्ताहरुको थियो, जसलाई जिल्ला संयोजकहरुले आवश्यक प्राविधिक र प्रक्रियागत सहयोग गरे ।
बन्दाबन्दीको थालनीको दिनमा सबैका लागि हिडडुलमा प्रतिवन्ध लागे पनि वडा र स्थानीय तहसँगको समन्वयमा सरसफाइ सहजकर्ताहरु स्वास्थ्य सावधानी अपनाएर समुदायमा सहयोग गर्न पुगे । यू.एन. ह्याबिट्याटको सहयोगमा पूर्ण सरसफाइ अभियान सहजीकरण भैरहेका जिल्लाहरुमा १ हजार भन्दा बढी स्वयंसेवक एकसाथ परिचालन भए । टोल सुधार समितिका सदस्य, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक र युवा क्लबका सदस्यहरुले समेत स्वयंसेवकको रुपमा समुदायको सरसफाइ प्रबर्द्वनमा सहयोग गरे । स्वयंसेवकहरुले वडा कार्यालय र सुरक्षा निकायसँगको समन्वयमा हात धुने स्टेशन बनाउनका लागि आवश्यक ड्रम, टुटी भएका बाल्टिन र अन्य सामग्री बजारसम्म ल्याइ पुर्याउन सहयोग गरे । “हामीले एउटै वडाभित्र पाँच पटकसम्म सामग्री ल्याउन समेत सहयोग गर्यौं”, मोरङको बेलबारी नगरपालिका, वडा नं. ८ का सहजकर्ता देवीराम सरदार भन्नुहुन्छ, “बजारबाट हात धुने स्टेशन बनाउनका लागि सिमेन्ट समेत बोकेर सहयोग गर्यौं ।”
लकडाउनको आरम्भताका यू.एन. ह्याबिट्याटको सहयोगमा पूर्ण सरसफाइ अभियान सहजीकरण भैरहेका १ लाख ३४ हजार ३ सय ८२ घरधुरीमा गरिएको सर्वेक्षण अनुसार ७१ हजार ८५ अर्थात् ५२.९२ प्रतिशत घरधुरीमा मात्र साबुन पानीले हात धुने निश्चित स्थान रहेका थिए । बाँकी ६० हजारभन्दा बढी घरधुरीमा बन्दाबन्दीकै समयमा हात धुने स्टेशन बनाउन र सामग्रीको व्यवस्थापन गर्न सहजकर्ताहरुले सहजीकरण गरे ।

यू.एन. ह्याबिट्याटबाट प्राप्त तथ्यांक अनुसार पश्चिम उच्च पहाडी जिल्ला बाजुराका ६ हजार ६ सय ३५ घरधुरीमा गरिएको सर्वेक्षणमा २ हजार १ सय ४२ घरधुरीमा मात्र साबुन सहित हात धुने निश्चित स्थान थिए । “थालनीमा कोरोनाको जोखिम कम भएकोले बन्दाबन्दीको समयमा समेत नगरपालिका तथा वडाका जनप्रतिनिधि, स्वयंसेवक र सहजकर्ताहरु घरघरमा पुगेर हात धुने अभियान सञ्चालन गर्ने र हात धुने स्टेशन बनाउन लगाउनुभयो”, बाजुराका जिल्ला संयोजक ताराबाबु खाती भन्नुहुन्छ ।
संस्थागत सरसफाइ प्रबर्द्वनबाट जोखिम न्यूनीकरण
थालनीका दिनमा घरायसी तहमा केन्द्रित भएको हात धुने अभियान कोरोनाको संक्रमण बढ्न थालेपछि स्वास्थ्य संस्था र अन्य कार्यालयहरुमा समेत विस्तार गरेको बताउनुहुन्छ यू.एन. ह्याबिट्याटका जि.एस.एफ. कार्यक्रम व्यवस्थापक सुधा श्रेष्ठ । “हातको स्वच्छताको अभ्यासलाई संस्थागत गर्नका लागि संघसंस्था, कार्यालय र स्वास्थ्य संस्थाहरुमा यसको सुनिश्चितता आवश्यक हुन्छ”, श्रेष्ठले भन्नुभयो, “मानिस जमघट हुने र आवतजावत बढी हुने स्थानमा हातको स्वच्छता सुनिश्चत गरेमा संक्रमण जोखिम कम हुने र सरसफाइको सवाललाई स्थापित गर्न सहज हुने भएकोले संघसंस्थाहरुमा हातले छुनुनपर्ने हात धुने स्टेशन र सरसफाइ सामग्री सहयोग गर्यौं ।”

तीन चरणमा गरिएको सहयोग अन्तर्गत १६ जिल्लाका २ सय ८ स्थानमा यस किसिमका हात धुने स्टेशनका साथै सामग्री सहयोग गरिएको थियो । यस अन्तर्गत १ सय १६ स्वास्थ्य संस्था, ५३ वटा पालिका तथा वडा कार्यालय, १५ जिल्ला समन्वय समिति, १२ विद्यालय, ५ वटा क्वारेन्टाइन तथा आइसोलेसन सेन्टर, एउटा बसपार्क र ६ वटा अन्य सार्वजनिक स्थलमा यस किसिमका हात धुने स्टेशन स्थापना गरिएको समेत कार्यक्रम व्यवस्थापक श्रेष्ठले जानकारी दिनुभयो ।
हात धुने स्टेशन गााउँपालिकाले नै किन्न सक्ने भए पनि त्यतातर्फ ध्यान नपुगेको झापा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनुभयो । “त्यतातर्फ हाम्रो ध्यान नै पुग्न सकेको थिएन, गाउँपालिकामा एउटा हातले पानी खोल्ने धारा सहित हात धुने बेसिनको व्यवस्था गरिएको थियो” श्रेष्ठले भन्नुभयो, “हातले छुनै नपर्ने स्टेशन राखेपछि धाराको टुटीबाट संक्रमण हुने जोखिम पनि कम भयो ।”
स्वास्थ्य संस्थामा यस किसिमको हात धुने स्टेशन सहयोग गरेपछि त्यहाँ आउने विरामी र उनीहरुका आफन्तको व्यवहार परिवर्तनमा समेत सहयोग पुगेको जहदा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक राजकुमार दासले बताउनुभयो । “यहाँ बाल्टिन र मग राखेर हात धुने व्यवस्था गरिएको थियो, साबुन लगाएपछि पानी खन्याउन एक जना सहयोगी चाहिन्थ्यो”, दासले भन्नुभयो, “स्टेशन राखेपछि सबैलाई हात धुने सजिलोमात्र भएको छैन, आफ्नो घरमा पनि हात धुने स्टेशन बनाउनुपर्छ भन्ने सन्देश पुगेको छ ।”
व्यवहार परिवर्तनका लागि हात धुने महाअभियान
विश्व हात धुने दिवस एवम् राष्ट्र खुला दिसामुक्त घोषणाको एक वर्ष पुगेको अवसरमा नेपाल सरकारले हातको स्वच्छताका लागि साबुन पानीले हात धुने एक महिने अभियान घोषणा गरेपछि सबै जिल्लामा साबुन पानीले हात धुने अभियान सञ्चालन गरिएको यू.एन. ह्याबिट्याटका सरसफाइ तथा स्वच्छता विश्लेषक मदन कुमार मल्लले जानकारी दिनुभयो । “हाम्रा जिल्ला संयोजक, साझेदार संस्था, विभिन्न तहमा गठन भएका खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति र टोल सरसफाइ व्यवस्थापन समिति मार्फत पनि घरायसी तहमा हात धुने स्टेशनको निर्माण र हात धुने वानी व्यवहार प्रवद्र्धनको अभ्यास गरियो”, उहाँले भन्नुभयो, “यस क्रममा करिब चार लाख जना हात धुने अभ्यासमा प्रत्यक्ष रुपमा संलग्न हुनुभयो ।”

हातको स्वच्छता मार्फत कोरोना न्यूनीकरणमा सघाउनुका साथै हात धुने वानीको विकास र घरायसी तहमा हात धुने स्थान बनाउनका लागि उत्प्रेरित गर्न आफूहरु जिल्लामा कार्यक्रम सञ्चालन नभएका स्थानीय तहमा समेत पुगेर अभियान सहजीकरण गरेको नारी विकास संघ मोरङका टिम लिडर हिमांसु यादवले बताउनुभयो । “सिंगै समुदाय एकै पटक घरबाहिर आएर भौतिक दूरी कायम राख्दै साबुन पानीले हात धुने र यसको निरन्तरता दिने प्रतिवद्धताले हातको स्वच्छतामा उल्लेख्य सुधार आएको छ”, उहाँले भन्नुभयो, “सामुहिक रुपमा गरिएको प्रतिवद्धताले कार्यान्वयनका लागि नैतिक दवाव समेत सृजना गर्ने रहेछ ।”
सामुहिक रुपमा मात्र होइन, सरसफाइ अवस्था कमजोर भएका बस्तीहरुमा समेत पुगेर हात धुने अभ्यास गराएको बताउनुहुन्छ रतौली युवा क्लब महोत्तरीका पूर्ण सरसफाइ कार्यक्रम संयोजक महेशप्रसाद जोशी । बन्दाबन्दी खुला भैसकेपछि समुदायमा पूर्ण सरसफाइ प्रबर्द्वनका जुनसुकै कार्यक्रम भए पनि त्यहाँ साबुन पानीले हात धोएर मात्र कार्यक्रम थालनी गर्ने गरिएको समेत उहाँले बताउनुभयो ।
दिगोपनका लागि निरन्तर समन्वय
यू.एन. ह्याबिट्याटले आफ्नो तर्फबाट मात्र नभै अन्य साझेदार निकायहरुसँगको समन्वयमा समेत हातको स्वच्छता अभियानलाई टेवा दिएको बताउनुहुन्छ १ नं. प्रदेश खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्लस्टर सहसंयोजक समेत रहनु भएका यू.एन. ह्याबिट्याटका जिल्ला संयोजक विनोद शर्मा । “हामीले क्लस्टरका साझेदार संस्था मात्र नभै अन्य सहयोगी संघसंस्था सँगको समन्वयमा होल्डिङ सेन्टर, आइसोलेसन, स्वास्थ्य संस्था, क्वारेन्टाइन र सार्वजनिक स्थलमा साबुन पानीले हात धुने व्यवस्था गर्न सहयोग गरेका छौं”, उहाँले भन्नुभयो, “हात धुने मात्र नभै कोभिड प्रतिकार्य अन्तर्गत आइसोलेसन तथा क्वारेन्टाइनमा झुल, सरसफाइ तथा स्वच्छता सामग्री उपलब्ध गराउन समेत समन्वयात्मक सहयोग गरेका छौं ।”
कोरोना कहरको समयमा संघसंस्था, कार्यालय र सार्वजनिक स्थलमा स्थापना गरिएका हात धुने स्थानहरुको सदुपयोग भए नभएको समेत साझेदार संस्थाका सहजकर्ताहरुले निरन्तर रुपमा अनुगमन गरिरहेका छन् । अनुगमन गरिएका सबै ठाउँमा राम्ररी प्रयोग भैरहेको र आवश्यक मर्मत सम्भारका लागि समेत सहयोग गरिरहेको यू.एन. ह्याबिट्याटका सिराहा सप्तरी जिल्ला संयोजक हरि बुढाथोकीले जनाउनुभयो । हातले छुनै नपर्ने हात धुने स्टेशन सहयोग गरेपछि अन्य कार्यालयहरुले समेत यस्तै स्टेशन राख्ने गरेको समेत उहाँले बताउनुभयो ।

कार्यालय तथा सार्वजनिक स्थलमा राखिएका स्टेशनहरुमा पानी भर्ने देखि निश्चित समयका लागि पुग्ने गरी हात धुने सामग्री समेत उपलब्ध गराइएको छ । थप सामग्री सम्बन्धित कार्यालय तथा वडाले खरिद गरी थप गर्ने प्रवन्ध समेत गरिएको छ ।
रंगेली नगरपाालिका मोरङका सामाजिक विकास शाखा प्रमुख कृष्ण भट्टराईले अहिले यू.एन. ह्याबिट्याटबाट प्राप्त गरेका तीन मध्ये दुई वटा स्टेशनहरु स्वास्थ्य चौकीमा र एउटा नगरपालिका कार्यालयमा राखिएको बताउनुभयो । “बाँकी स्वास्थ्य संस्था र वडा कार्यालयमा समेत यस्तै किसिमका स्टेशन राख्ने प्रक्रिया अगाडि बढाएका छौं”, उहाँले भन्नुभयो, “आइसोलेसनमा रहेको स्टेशनलाई सोही विद्यालयमा नै व्यवस्थापन गरिएकोछ । अन्य कार्यालयहरुमा साबुन पानीले हात धुने स्टेशन अब अनिवार्य शर्त बनिसक्यो ।”
केही स्थानमा कोरोना संक्रमण थालनी भएपछि बजार क्षेत्र, चोक र सडक छेउमा विभिन्न संघसंस्था, टोल समिति र स्थानीय तहहरुले राखिएका हात धुने स्टेशनहरु अहिले बेवारिसे जस्तै बनेका छन् । त्यसो हुन नदिनका लागि सबै निकायहरु बीच उपयुक्त समन्वयको आवश्यकता औंल्याउनुहुन्छ जिल्ला समन्वय समिति मोरङका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नरेश प्रसाद पोखरेल । “यस्तो स्टेशनहरुमा सुविधा थप गर्दै लैजानुपर्नेमा प्रयोगविहिन हुने अवस्था आउन दिनु हुँदैन”, उहाँको भनाइ छ, “यसका लागि सम्बन्धित वडा समिति वा कार्यालयले प्रवन्ध गर्नुपर्छ ।” कोरोना कहर सकिए पनि साबुन पानीले हात धुने वानीलाई जीवन संस्कारको रुपमा विकास गर्नु आवश्यक भएकोले सार्वजनिक स्थलमा साबुन पानीले हात धुने व्यवस्थालाई निरन्तरता दिनुपर्ने अध्यक्ष पोखरेल बताउनुहुन्छ ।
पूर्ण सरसफाइ गुरुयोजनामा हातको स्वच्छतालाई विशेष जोड दिइने
सरकारले पूर्ण सरसफाइ अभियानमा हातको स्वच्छतालाई बिशेष जोड दिइने भएको छ । सुरुवाती अवस्थामा रहेको पूर्ण सरसफाइ गुरुयोजना निर्माणको काम कोरोनाका कारण प्रभावित भए पनि अब बन्ने गुरुयोजनामा हातको स्वच्छतालाई विशेष जोड दिइन खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक मीना श्रेष्ठले बताउनुभयो । ‘‘जोखिमपूर्ण अवस्थामा हात धुनुपर्छ भनेर पहिले देखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेका छन् । पूर्ण सरसफाइमा यो बिषयलाई अनिवार्य रुपमा राखिनेछ, कोरोनाले गर्दा पनि हातको स्वच्छता किन आवश्यक रहेछ भन्ने कुरा बोध गराइदिएको छ’’ महानिर्देशक श्रेष्ठले भन्नुभयो ।
उहाँले हातको स्वच्छता कायम राख्नकै लागि यसबर्षको विश्व हात धुने दिवसमा समेत एक महिने हात धुने अभियान चलाइएको बताउनुभयो । सरकारले ‘हातको सरसफाइ सबैका लागि, साबुन पानी हात, सधै साथ साथ’ भन्ने नाराका साथ आश्विन १३ देखि कात्तिक १४ गते सम्म सावुन पानीले हात धुने अभियान सञ्चालन गरिएको थियो ।


1330 पटक हेरिएको 

